कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पूर्वराजदूत केशवराज झाको हत्या अभियोगमा भान्से पक्राउ

काठमाडौँ — २०७५ भदौ ४ मा थापाथलीस्थित घरमै मृत फेला परेका फ्रान्सका लागि पूर्वराजदूत केशवराज झाको हत्या अभियोगमा उनकै घरका भान्से सानुकान्छा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

पूर्वराजदूत केशवराज झाको हत्या अभियोगमा भान्से पक्राउ

झा पत्नी ज्ञानुदेवीले सानुकान्छाविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए ।


बिहान अबेरसम्म कोठाबाहिर ननिस्केपछि ढोका खोलेर हेर्दा झा आफ्नै ओछ्यानमा मृत भेटिएका थिए । उनको टाउकोमा चक्कु प्रहार गरिएको थियो । उनी रगताम्य देखिन्थे । घटनालगत्तै महानगरीय प्रहरी अपराध महाशाखाले घटनाबारे महिनौंसम्म अनुसन्धान गरेको थियो । प्रहरीले सानुकान्छा र घरमै कार्यरत अर्का दुई मालीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उनीहरुमाथि पोलीग्राफ टेस्ट पनि गरेको थियो । पोलीग्राफ टेस्टबाट पनि शंका प्रमाणित हुन नसकेपछि उनीहरु छुटेका थिए ।


प्रहरीले मृतक झाको मोबाइलको कल डिटेल निकालेर उनलाई कसैले धम्की दिएको थियो कि भनेर पनि अनुसन्धान गरेको थियो । घरभित्र छिरेर झाको हत्या गरे पनि हत्याराले कुनै बहुमूल्य सामग्री भने लगेको थिएन । त्यसैले पनि प्रहरीले घरभित्रकै मान्छे हत्यामा संग्लन हुनसक्ने आशंका गरेको थियो ।


प्रहरी परिसरले सानुकान्छालाई हिरासतमा राखेर थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।

प्रकाशित : भाद्र १, २०७६ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?