२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उपकुलपतिमा दोहोरिन खनियाँको दौडधुप

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले आफ्नो कार्यकाल दोहोर्‍याउन दौडधुप तीव्र बनाएका छन् । स्रोतका अनुसार उनीहरू राजनीतिक दलका नेताहरू भेटेर लबिइङ गरिरहेका छन् । 

उपकुलपतिमा दोहोरिन खनियाँको दौडधुप

खनियाँले शनिबार नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई शनिबार उनकै ललितपुरको खुमलटारस्थित निवासमा भेटेका थिए । शनिबारै उनले केही सञ्चारकर्मी बोलाएर विश्वविद्यालयमा राम्रोसँग काम गर्न पर्याप्त समय चाहिने तर्क गर्दै दोहोर्‍याएर काम गर्न दिइए राम्रो हुने दाबी गरे । ‘कुनै पनि संस्थालाई सहज रूपमा अगाडि बढाउन समय लाग्छ । मेरो कार्यकालमा केही काम भएका छन् । उपकुलपतिलाई चार वर्षमात्र कार्यावधि छोटो हो,’ उनले भने ।


खनियाँको कार्यकाल केही दिन मात्र बाँकी छ । खनियाँले आफूले राजनीतिक रूपमा नियुक्ति पाए पनि कांग्रेसको कुनै पनि कार्यक्रममा सहभागी नभएको दाबी गरे । तत्कालीन प्रधानमन्त्री एवं कुलपति सुशील कोइरालाबाट नियुक्त खनियाले दाबी गरे, ‘चार वर्षको सबै समय विश्वविद्यालयमा लगाएँ । झमेला आए पनि सम्पूर्ण शक्ति लगाएर काम गरें ।’ विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रियाका निम्ति शिक्षामन्त्रीको अध्यक्षतामा सर्च कमिटी गठन भएको छ । राजनीतिक भागबन्डाकै आधारमा उपकुलपति छनोट हुनु स्वाभाविक भएको उनले बताए ।


'दाहाललाई खुसी पार्न’ जग्गामा मञ्जुरी

त्रिविले चितवनको रामपुरस्थित आफ्नो स्वामित्वको जग्गा भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्न मञ्जुरी दिएको छ । नेकपा अध्यक्ष दाहाललाई खुसी पार्न खनियाँले मञ्जुरी दिएको टिप्पणी गरिएको छ । भरतपुरमा दाहालकी छोरी रेणु मेयर छिन् ।


खनियाँले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई दिने भनिएको जग्गा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन दिन मञ्जुरी दिएका हुन् । क्रिकेट रंगशाला रहेको ठाउँ दाहालको निर्वाचन क्षेत्रसमेत हो । खनियाँले दाहालसँग शनिबार भेटदा मेयर रेणु दाहाल पनि उपस्थित थिइन् । खनियाँले भने रामपुरस्थित चितवन इन्जिनियरिङ क्याम्पसको विषयमा मात्र कुराकानी भएको दाबी गरे ।


सरकारले उक्त जग्गामा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना गर्ने कानुनमा उल्लेख गरेको छ । कानुनमा त्रिविअन्तर्गतका दुई क्याम्पस रामपुरको कृषि तथा पशुविज्ञान अध्ययन संस्थान केन्द्रीय क्याम्पस र हेटौंडाको वन क्याम्पसलाई गाभेर कृषि तथा वनविज्ञान विश्वविद्यालय बनाउने उल्लेख छ ।


त्रिविले यसअघि आफ्नो स्वामित्वमा रहेको सम्पत्ति कुनै हालतमा नदिने भएपछि कृषि विश्वविद्यालयले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । २०७५ भदौ २९ मा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको कृषि विश्वविद्यालयको सिनेटले सो जग्गा क्रिकेट रंगशालालाई दिने विषय अस्वीकृत गरेको थियो ।


खनियाँमाथि आरोपै आरोप

उपकुलपति खनियाँ त्रिविबाट अवकाश प्राप्त प्राध्यापक हुन् । उपकुलपति भएपछि नियमअनुसार तलब, भत्ता, सेवा, सुविधा लिँदै आएका छन् । उनले हालै मात्र त्रिवि कार्यकारी परिषद्बाट आफू पदासीन रहँदाको पेन्सनसमेत लिन पाउने निर्णय गराएका छन् । ‘यो मैले भरखरै निर्णय गरेको हुँ,’ उनले भने, ‘सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशसमेतले नियमअनुसार यस्तो सुविधा लिँदै आएका छन् ।’


त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० (२०७३।९।२० सम्मको संशोधनसहित) को दफा ५४ निवृत्तिभरण (५क) मा भनिएको छ, ‘विश्वविद्यालय सेवा वा सरकारी सेवा वा नेपाल सरकारको आर्थिक लगानी भएको वा नेपाल सरकारको स्वामित्व भएको सार्वजनिक संस्थाबाट निवृत्त भई निवृत्तिभरण लिइरहेको व्यक्ति मासिक पारिश्रमिक वा अन्य सुविधा पाउने गरी विश्वविद्यालयको पदाधिकारी वा अन्य पदमा नियुक्त भएमा त्यस्तो व्यक्तिले विश्वविद्यालय वा अन्य निकायबाट निवृत्तिभरण पाउने छैन ।’


त्यसमा थप उल्लेख छ, ‘विश्वविद्यालय सेवाबाट निवृत्त भई निवृत्तिभरण लिइरहेको व्यक्ति सरकारी सेवा वा नेपाल सरकारको आर्थिक लगानी भएको वा नेपाल सरकारको स्वामित्व भएको सार्वजनिक संस्थाको मासिक पारिश्रमिक पाउने गरी कुनै पदमा नियुक्त भए त्यस्तो व्यक्तिले विश्वविद्यालयबाट निवृत्तिभरण पाउने छैन ।’


डा. गोविन्द केसी चिकित्साशास्त्र अध्ययन संस्थानबाट काठमाडौं उपत्यकामा कुनै पनि कलेज सम्बन्धन दिन नहुने भन्दै अनशन बसेका थिए । त्यतिखेरै त्रिवि उपकुलपति खनियाँले घट्टेकुलोको नेसनल कलेजलाई सम्बन्धन दिने निर्णय गरेका थिए । त्यसपछि गौरीबहादुर कार्कीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन भयो । समितिले त्रिविका उपकुलपतिलाई बर्खास्त र रेक्टर, रजिस्ट्रारलगायत ४३ लाई कारबाही गर्न सिफारिस गरेको थियो । उक्त रिपोर्ट सार्वजनिक भएको छैन । यस्तै, शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थीमाथि ठगी गर्ने मेडिकल कलेजलाई खनियाँले नै संरक्षण गरेको आरोप पनि छ ।


खनियाँ उपकुलपति भएपछि डिन, नयाँ कार्यकारी निर्देशक पद सिर्जना गरेर राजनीतिक भागबन्डा गरेका थिए । केन्द्रीय विभाग, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, परीक्षा १ र सहनियन्त्रक ११ जना नियुक्त गरे । त्रिवि सेवा आयोग परीक्षामा आफन्त नियुक्त गरेको र मानविकी संकायअन्तर्गत बीसीए विषयमा आर्थिक चलखेल गर्दै ११६ क्याम्पसलाई सम्बन्धन बाँडिएको आरोप छ ।


खनियाँले आफ्नो विद्यावारिधि शोध अनुसन्धानमा स्रोत नखुलाई विदेशी लेखकको लेख जस्ताको तस्तै नक्कल गरेको आरोप छ । त्यसको पुष्टिसमेत भएको छ ।

प्रकाशित : भाद्र १, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?