२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘म बिरामी होइन, २०/२५ वर्ष बाँच्छ भन्छन्’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि शुक्रबार बिहानैदेखि भेटघाट र महत्त्वपूर्ण काममा सक्रिय भएका छन् । उनले बिहान बालुवाटारमा झापा क्षेत्र नम्बर ५ का कार्यकर्तासँग भेटघाट गर्दै आफ्नो स्वास्थ्यबारे जानकारी गराए ।

‘म बिरामी होइन, २०/२५ वर्ष बाँच्छ भन्छन्’ 

कार्यकर्तालाई ओलीले सोधेका थिए, ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ?’ ओलीले आफू स्वस्थ रहेको तर बाहिर बिरामी भन्ने प्रचार भएको बताएको प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्रीले भने, ‘हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।’


उनले सिंगापुरमा भएको उपचारको प्रसंग झिक्दै सबै ठीक रहेको बताए । ‘गएको हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बूढीऔंलादेखि कान्छीऔंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठीक छ भनेका छन्,’ उनले भने, ‘अब २०/२५ वर्ष केही हुँदैन भन्छन् । त्यसकारण म बिरामी होइन ।’ बिहान कार्यकर्ताहरूसँग भेटेपछि ओली पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए ।


ओली गत सोमबार सिंगापुरबाट फर्केका हुन् । त्यसयता नियमित भेटघाटमा रहेका उनलाई बिहीबार अकस्मात् ज्वरो आएपछि पार्टीको सचिवालय बैठक सारिएको थियो । पार्टीको बैठकमै सहभागी हुन नसक्ने भएपछि प्रधानमन्त्रीको स्वास्थ्य निकै गडबड भएको हो कि भन्ने आशंका बढेको थियो ।


१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा समस्या रहेको भन्दै चिकित्सकहरूले विदेश नै जान सुझाव दिएपछि १० दिन सिंगापुर बसेर फर्केका थिए । ओलीले आफ्नो स्वास्थ्यबारे आफैं बोले पनि उनका निजी चिकित्सकहरूले अवस्थाबारे केही बोलेका छैनन् । उनको हेल्थ रिपोर्ट औपचारिक रूपमा सार्वजनिक भएको छैन ।

प्रकाशित : श्रावण ३२, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?