१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नेकपाको गाँठो फुक्यो

दुर्गा खनाल

काठमाडौँ — पार्टीका मुख्य विभागको नेतृत्व कसले लिने भन्ने लामो समयदेखिको रस्साकसी टुंग्याउँदै सत्तारूढ नेकपाले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टी एकताको १४ महिनापछि नेकपाले ३२ केन्द्रीय विभागको नेतृत्व टुंग्याएको हो ।

नेकपाको गाँठो फुक्यो

पूर्वएमाले र पूर्वमाओवादी पक्षको तानातानमा परेको स्कुल विभागमा भएको सहमतिसँगै सबै विभागले नेतृत्व पाएका छन् ।


शुक्रबार बसेको सचिवालय बैठकले तत्कालीन एमाले पक्षका ईश्वर पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिने निर्णय गरेको छ । यही विभागका लागि तत्कालीन माओवादी पक्षबाट दाबी गरिरहेका नारायणकाजी श्रेष्ठ प्रचार विभाग लिन तयार भएका छन् । पोखरेल र श्रेष्ठको जिम्मेवारीका विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पनि लामो समय छलफल भएको थियो ।


यही विषयका कारण एकताका बाँकी काम लम्ब्याउन नहुने धारणा बनेपछि उनीहरूबीच विभागको नेतृत्वमा सहमति जुटेको हो । पार्टीको सैद्धान्तिक व्याख्या गर्दै प्रशिक्षण चलाउने जिम्मेवारी स्कुल विभागको हो । त्यसैले पार्टीको स्कुलमा पूर्वएमाले पक्षको धारणा प्रभावी बनाउने कि पूर्वमाओवादी पक्षको भन्नेमा विवाद थियो । यो विभागमा दुवै पक्षले दाबी गरेका थिए ।


तत्कालीन एमाले पक्षका पोखरेलले पार्टी एकताका क्रममा भएको ‘जनताको जनवाद’ भन्ने सैद्धान्तिक लाइनभन्दा पूवएमालेले लिएको ‘जनताको बहुदलीय जनवाद’को वकालत गरेका थिए । पार्टीमा सहमति भएको दस्तावेजभन्दा फरक ढंगले अघि बढ्न खोजेपछि पोखरेललाई तत्कालीन माओवादी पक्षले रुचाएको थिएन ।


त्यसैले पोखरेलको ठाउँमा माओवादी पक्षले श्रेष्ठलाई ल्याउन चाहेको थियो । श्रेष्ठ पनि नेकपाको एकतापछिको राजनीतिक दस्तावेज बनाउनेमध्येका नेता हुन् । सैद्धान्तिक विषयमा राम्रो ज्ञान राख्ने भएकाले श्रेष्ठले आफ्ना लागि उक्त विभाग उपयुक्त हुने भन्दै प्रचार विभागमा नबस्ने अडान लिएका थिए ।


प्रमुख र उपप्रमुखहरू

अर्थ तथा योजना विभाग : सुरेन्द्र पाण्डे, डोरप्रसाद उपाध्याय

उद्योग तथा वाणिज्य विभाग : राधा ज्ञवाली, वामदेव क्षेत्री

उपभोक्ता हित तथा आपूर्ति : मातृका यादव, बलराम बाँस्कोटा

कृषि तथा भूमिसुधार विभाग : चक्रपाणि खनाल, हरि पराजुली

कोष तथा आर्थिक व्यवस्थापन विभाग : हरिबोल गजुरेल, कृष्णगोपाल श्रेष्ठ

खानेपानी तथा सरसफाइ विभाग : बिना मगर, ममता गिरी

जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग : वर्षमान पुन, परशु मेघी गुरुङ

निर्वाचन विभाग : प्रदीप ज्ञवाली, खिमलाल देवकोटा

न्याय कानुन : रघुजी पन्त, मुक्तिनारायण प्रधान

पर्यटन प्रवर्द्धन : योगेश भट्टराई, पासाङ शेर्पा

प्रचार : नारायणकाजी श्रेष्ठ, सूर्यबहादुर थापा

प्रादेशिक मामिला : घनश्याम भुसाल, परशुराम तामाङ

स्कुल विभाग : ईश्वर पोखरेल, देवेन्द्र पौडेल

पुस्तकालय तथा अभिलेख : नारायणप्रसाद शर्मा, ज्ञानबहादुर भुजेल

भौतिक पूर्वाधार : रघुवीर महासेठ, हरि अधिकारी

युवा तथा खेलकुद : टोपबहादुर रायमाझी, ठाकुर गैरे

राजकीय मामिला : रामबहादुर थापा, गुरु बराल

वन तथा वातावरण : शक्ति बस्नेत, चूडामणि जंगली

विज्ञान तथा प्रविधि : गणेश साह, अरुण नेपाल

विदेश मामिला : माधवकुमार नेपाल, राम कार्की

शिक्षा तथा मानव स्रोत : गिरिराजमणि पोखरेल, विजय पौडेल

श्रम तथा रोजगार : गोकर्ण विष्ट, रामेश्वरराय यादव

संगठन : वामदेव गौतम, जनार्दन शर्मा

संसदीय विभाग : सुवास नेम्बाङ, देवप्रसाद गुरुङ

समाज कल्याण : केशवलाल श्रेष्ठ, गोपाल ठाकुर

सहकारी तथा गरिबी निवारण : विष्णु रिमाल, धर्मदत्त देवकोटा

सहरी विकास : लेखराज भट्ट, जगन्नाथ खतिवडा

सामान्य प्रशासन : लालबाबु पण्डित, रेखा शर्मा

साहित्य कला : मणि थापा

स्थानीय तह : युवराज ज्ञवाली, उर्मिला अर्याल

स्वास्थ्य तथा जनसंख्या : राजेन्द्र पाण्डे, अञ्जना विशंखे

नीति अनुसन्धान प्रतिष्ठान : झलनाथ खनाल, रामचन्द्र झा


तर दुवै पक्षबीच सहमतिमा जाने भन्ने भएपछि श्रेष्ठ प्रचार विभाग लिन तयार भए । पार्टीभित्र शक्तिशाली मानिने संगठन विभाग प्रमुखमा वामदेव गौतमलाई लगिएको छ । त्यसको उपप्रमुखमा माओवादी पक्षका जनार्दन शर्मा तोकिएका छन् । विदेश विभाग प्रमुखको जिम्मा वरिष्ठ नेता माधव नेपाललाई दिइएको छ ।


त्यसमा उपप्रमुखको जिम्मा माओवादी पक्षका राम कार्कीले पाएका छन् । अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति अनुसन्धन प्रतिष्ठानको संयोजक र रामचन्द्र झालाई उपसंयोजक तोकिएको छ । अध्यक्षद्वय र महासचिवबाहेक अन्य ६ जना शीर्ष नेताले विभागको जिम्मेवारी लिएका छन् ।


अर्थ तथा योजना विभागको प्रमुख सुरेन्द्र पाण्डे र उपप्रमुखमा डोरप्रसाद उपाध्याय तोकिएका छन् । स्कुल विभागको जिम्मेवारी दाबी गर्दै आएका नेता घनश्याम भुसाललाई भने प्रादेशिक मामिला विभागको जिम्मेवारी दिइएको छ । स्कुल विभागको उपप्रमुखमा माओवादी पक्षका देवेन्द्र पौडेल चुनिएका छन् । स्कुल विभागको सहमतिसँगै सचिवालयले ३२ वटै विभागका प्रमुख र उपप्रमुखको घोषणा गरेको छ । १८ वटा पूर्वएमाले र १४ वटा विभाग पूर्वमाओवादी पक्षले लिएका छन् ।


नेकपाका मन्त्रीहरूलाई विभाग प्रमुख बनाइएको छ । उद्योगमन्त्री मातृका यादवलाई उपभोक्ता हित तथा आपूर्ति, कृषिमन्त्री चक्रपाणि खनाललाई कृषि तथा भूमिसुधार, खानेपानीमन्त्री बिना मगरलाई खानेपानी तथा सरसफाइ विभाग, गृहमन्त्री रामबहादुर थापालाई राजकीय मामिला र सुशासन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई निर्वाचन, पर्यटनमन्त्री योगेश भट्टराईलाई पर्यटन प्रवर्द्धन र भौतिक योजनामन्त्री रघुवीर महासेठलाई भौतिक पूर्वाधार विभागको जिम्मेवारी दिइएको छ ।


ऊर्जामन्त्री वर्षमान पुनलाई जलस्रोत, शिक्षामन्त्री गिरिराजमणि पोरखेललाई शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई सामान्य प्रशासन र श्रममन्त्री गोकर्ण विष्टलाई श्रम तथा रोजगार विभागकै नेतृत्व दिइएको छ ।


पूर्वसभामुखसमेत रहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई संसदीय, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई सहकारी तथा गरिबी निवारण, युवराज ज्ञवालीलाई स्थानीय तह, राजेन्द्र पाण्डेलाई स्वास्थ्य विभाग र मणि थापालाई साहित्य कला विभाग प्रमुख तोकिएको छ ।


विभाग प्रमुख टुंगो लगाउने सहमतिसँगै नेता गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावसमेत सचिवालयमा छिरेपछि वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पनि वरीयता माथि लैजानुपर्ने माग दोहोर्‍याएका छन् । एकताक्रममा अध्यक्षद्वयपछि तेस्रो स्थानमा माधव नेपाललाई राखिएपछि खनाल असन्तुष्ट थिए । एकता हुँदा खनाल चीन भ्रमणमा थिए ।


नेपालभन्दा आफूले पहिले पार्टीको नेतृत्व गरिसकेको र पुरानो सदस्यता भएको व्यक्ति भन्दै खनाल असन्तुष्ट छन् । तत्कालीन एमालेमा नेपालभन्दा अगाडि नै उनको वरीयता थियो । एकताका क्रममा नेपाललाई खनालभन्दा अगाडिको पोजिसनमा राखिएको थियो । पार्टीको सचिवालय बैठकमा खनालले आफ्नो वरीयता घटाएको असहमति नै दर्ज गरेका थिए । त्यो विषय अहिले पुन: सचिवालयमा प्रवेश भएको छ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?