तीन दिनसम्म भारी वर्षाको सम्भावना

रासस

काठमाडौँ — मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले सोको प्रभावले नेपालमा मनसुनी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार साँझ मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उक्त मौसमी प्रणालीका कारण देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासका बस्तीलाई सतर्क रहन तथा सडक यातायातमा पहिरो÷भू–क्षयका कारण अवरोध आउन सक्ने भएकाले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

महाशाखाको पछिल्लो मौसमी विवरणअनुसार हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पूर्व र मध्यका तराई तथा चुरेका केही स्थानहरूमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार आज राति देशभरी सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनका साथै देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । शनिबार देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । रातको समयमा पनि देशको पश्चिमी तथा मध्य भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै आगामी भदौ १ गते आइतबार पनि देशका अधिकांश भेगमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशको पहाडी भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार काठमाडौँको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । काठमाडौँमा २७ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा २०, धरानमा २८, सिमरामा ३८, भैरहवामा १६ र डडेलधुरामा १६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७६ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्

हेटौँडास्थित शिवम् फ्युल सेन्टर शिलबन्दी

रासस

काठमाडौँ — पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प) लाई शुक्रबार शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । 


हेटौँडास्थित सो पेट्रोलपम्पले पम्पको मेसिनभित्र एसेम्बलीको शिल काटेर कानूनविपरीत पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएकाले कारवाही गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले बताए।

'नापतौल ऐन २०२५ विपरीत काम गरेको र आफ्नो इच्छाअनुसार शिल काटेर पेट्रोल, डिजल बिक्री वितरण गर्ने देखिएकाले सो पम्पमा कारवाहीका लागि शिलबन्दी गरिएको छ,' उनले भनेभयो, 'पम्पको डिजल र पेट्रोल दुवै मेसिनमा जाँच गर्दा एसेम्ब्लीको शिल काटिएको पाइएको थियो।'

पम्पमाथि कारवाही फुकुवा नभएसम्म सो पम्पलाई नेपाल आयल निगमको डिपो कार्यालय अमलेषगञ्जलाई पेट्रोलियम पदार्थ उपलब्ध नगराउनसमेत जानकरी गराइएको छ। सम्बन्धित व्यवसायीलाई तीन दिनभित्र नापतौल कार्यालय वीरगञ्जमा हाजिर हुन पत्र काटिएको प्रमुख यादवले राससलाई जानकारी दिए।

बारा, पर्सा, रौतहट र मकवानपुरका सञ्चालित पम्पहरुको विगत केही महीनादेखि अनुगमन तीव्र पारिएको र कैफियत देखिएका करीब एक दर्जन पम्प व्यवसायीलाई कारवाही गरिएको पनि प्रमुख यादवले बताए। बारा, पर्सा, रौतहट र मकवानपुरका ६० प्रतिशत उद्योगी व्यवसायीले नापतौल यन्त्रको जाँच नगराएको उनको भनाइ छ।

प्रकाशित : श्रावण ३१, २०७६ १४:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्