बामदेव गौतम रिझाउन नेकपामा ‘उपाध्यक्ष पद’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाभित्र भूमिका नपाएको भन्दै अन्तुष्ट रहेका नेता बामदेव गौतमलाई रिझाउन उपाध्यक्ष पद सिर्जना गरिएको छ । सविचालयका बैठकले गौतमलाई उपाध्यक्ष बनाउने सहमति गर्दै यससम्बन्धी प्रस्ताव स्थायी समितिमा पठाउने निर्णय गरेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणको सुत्रधारको भूमिका खेलेका गौतम एकतापछि निकै असन्तुष्ट थिए।

प्रतिनिधिसभाको चुनावसमेत हारेपछि त उनको राजकीय भूमिका सक्रिय हुने योजनासमेत सफल भएन। त्यसैले उनले पार्टीभित्र वा कुनै राजनीतिक नियुक्तिमार्फत कुनै भूमिका दिन नेताहरुलाई आग्रह गरेका थिए।

त्यसअन्तर्गत उनले सुरुमा विकास निर्माण गर्ने प्राधिकरण बनाएर त्यसको काम गर्ने जिम्मा दिन पार्टीभित्र प्रस्ताव गरे। उनको यो प्रस्तावलाई शीर्ष नेताहरुले चासो दिएनन्।

त्यसपछि उनलाई संसद्‌मा ल्याउने योजनाअनुसार केही निर्वाचन क्षेत्र खाली गर्ने प्रयास भयो। हुम्लादेखि काठमाडौं ७ को निर्वाचन क्षेत्रसमेत खाली गर्ने प्रयास गरियो। तर बामदेवका लागि सिट खाली गर्न खोजेको भन्नेबित्तिकै त्यसले ठूलै हंगामा भयो। पार्टीभित्र र बाहिरसमेत विरोध भयो। त्यसपछि गौतम उपचुनावमार्फत संसद्‌मा आउने योजनाबाट पछि हटे।

पार्टीभित्र आफ्नो भूमिकाको ओलीले कदर नगरेको भन्ने उनको गुनासो थियो। त्यसैले उनले गत पुसको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीलाई आलोचना गर्दै १६ पृष्ठको छुट्टै प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदनमा अध्यक्ष ओली नेतृत्व सरकारको कामकारबाही ठीक नभएको मात्र होइन 'एक व्यक्ति एक पद'को नीतिमा जानुपर्ने प्रस्ताव गरेका थिए।

उनले पार्टीको अध्यक्ष पनि र प्रधानमन्त्री पनि एउटै व्यक्ति हुँदा काम हुन नसकेको भन्ने प्रतिवेदनमा उल्लेख गरेका थिए। ओलीको क्याम्पका नेता गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहालको पक्ष लिने गरी भूमिका खेलेपछि नेकपाभित्रको ओली समूहमा उनलाई आफ्नै क्याम्पमा फर्काउने प्रयास जारी थियो।

पछिल्लो समय विभागहरुको जिम्मेवारी दिने सन्दर्भमा गौतमले संगठन विभागको जिम्मेवारी खोजे। त्यो विभाग उनलाई दिने सहमति यसअघि नै भएको थियो। तर, विभागको विगतमा खेलेको भूमिकाको कदर गर्ने आफूलाई सम्मानित हुने पोजिसनमा राख्नुपर्ने गौतमको माग थियो। त्यसैले उनलाई सचिवालय सदस्यको पदबाट बढुवा गरेर उपाध्यक्ष बनाउने सहमति सचिवालयमा भएको हो।

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केपछि गत मंगलबार तीन घण्टा नेता गौतमसँग बालुवाटरमा एक्लै बैठक गरेका थिए। त्यसपछि बुधबार अध्यक्षद्वय ओली र दाहालबीच छलफल भएको थियो। अध्यक्षद्वयको छलफलबाट शुक्रबार गौतम उपाध्यक्षमा सिफारिस भएका हुन्।

सचिवालयले गरेको निर्णय अब स्थायी समितिमा छलफल हुने छ।

प्रकाशित : श्रावण ३१, २०७६ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्

रवी लामिछानेसहित ३ जनालाई अनुसन्धानको लागि ५ दिन हिरासतमा राख्न म्याद थप

रमेशकुमार पौडेल

चितवन — जिल्ला अदालत चितवनले पत्रकार रवी लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि भन्दै ५ दिन हिरासतमा राख्न म्याद दिएको छ । न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद दिएका हुन् । शुक्रबार बिहान भएको बहसको आधारमा रवीसहित ३ जनालाई अनुसन्धानको लागि म्याद दिइएको हो । तीनैजना प्रहरी हिरासतमा रहनेछन् ।

तस्बिर स्रोत : रवी लामिछानेको फेसबुकबाट

प्रहरीले बिहीबार बेलुकी टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेलाई कार्यालयबाटै पक्राउ गरेर चितवन लगेको थियो। चितवन र काठमाडौं प्रहरी परिसर टोलीले लामिछाने र पत्रकार युवराज कँडेललाई बिहीबार पक्राउ गरेको थियो।
लामिछाने र कँडेललाई अर्का पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। आत्महत्या दुरुत्साहन अभियोगमा अस्मिता कार्कीलाई बिहीबार दिउँसै प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित : श्रावण ३१, २०७६ १५:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्