कालीगण्डकी करिडोर ६ महिनादेखि ठप्प

सरकारले २० करोड रूपैयाँ छुट्याएर बागलुङ र गुल्मी खण्ड चौडा पार्न सेनालाई जिम्मा दिएको थियो । जेठ १५ गते हस्तान्तरण गर्ने गरी सेनाले जिम्मा लिएकामा अहिलेसम्म सडक खुलेको छैन ।
प्रकाश बराल

बागलुङ — कालीगण्डकी करिडोर चौडा पार्ने काम नसकिँदा ६ महिनादेखि यातायात ठप्प भएको छ । माघमा करिडोर १० मिटर चौडा पार्न नेपाली सेनालाई जिम्मा दिइएपछि बागलुङको तल्लो गलुवादेखि बलेवाको धापाखोलासम्मको सडक अवरुद्ध छ ।

कालीगण्डकी करिडोरको बागुलङ खण्डमा चलेको जिप । तस्बिर : प्रकाश/कान्तिपुर

तोकिएको समय सकिए पनि सेनाले सडक बन्द गरिरहेको छ । यसले दैनिक दर्जनौं सवारी घुमाउरो बाटो हिँड्न बाध्य छन् ।

अर्थमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले माघमा चौडा पार्ने कामको शिलान्यास गरेका थिए । सरकारले २० करोड रुपैयाँ छुट्याएर बागलुङ र गुल्मी खण्ड चौडा पार्न सेनालाई जिम्मा दिएको थियो । जेठ १५ गते हस्तान्तरण गर्ने गरी सेनाले जिम्मा लिएकोमा अहिलेसम्म सडक खुलेको छैन । अझै केही स्थानमा बम पडकाउने काम भरहेकाले खतरा भएपछि सवारी चल्न नदिइएको निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले जानकारी दिए ।

तोकेको समयमा काम नसकी बाटो अवरुद्ध गरिरहँदा सयौं यात्रीले सास्ती बेहोरेका छन् । करिडोर हुँदै गुडने सवारी अहिले गलुवा, पाउजा, पानीट्यांकी हुँदै घुम्न बाध्य छन् । यसबाट १ घण्टा बढी समय लाग्ने गरेको छ । ‘एक घण्टा ढिला र अप्ठ्यारो बाटो हिँड्न बाध्य छौं,’ सदरमुकामदेखि छिस्ती जिप चलाइरहेका चालक सन्तबहादुर नेपालीले भने, ‘छिटो खुलिदिए यात्रीलाई पनि सहज हुन्थ्यो ।’ बाटो साँघुरो, हिलो र अप्ठ्यारो भएकाले जोखिम मोलेर हिँड्नुपरेको उनले गुनासो गरे ।

करिडोरबाट बस पनि सञ्चालन भएको थियो । वैकल्पिक सडकमा भने त्यो चल्न सक्दैन । ट्र्याक्टर र जिप मात्र चल्ने भएकाले यात्री सिट नपाएर हैरान छन् । बलेवातर्फ जाने यात्रीले पर्वतको कुस्मा गएर घुम्नुपर्ने बाध्यता छ । ‘जिपमा सिट नपाएपछि कुस्मा झरेर पैदल यात्रा गर्न बाध्य छौं,’ अमलाचौरका मुक्तिराम शर्माले भने, ‘बजार आउन दैनिक एक घण्टा पैदल हिँडेर मात्र पर्वतको बस चढ्नुपरेको छ ।’

जेठमै हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए पनि सेनाले अहिलेसम्म जानकारी नदिएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताए । ‘अहिलेसम्म काम सम्पन्न भएर प्रतिवेदन बुझाएको थाहा छैन,’ उनले भने, ‘सडक बन्द गरिरहनु राम्रो होइन ।’ काम पर्दा रोकेर अन्य समय खुलाउनुपर्ने उनको भनाइ छ ।

सेनाले भने बम पडकाएर पहरा फोर्ने काम भइरहेकाले सडक रोक्नुपरेको प्रस्ट्याएको छ । यो खण्डमा नियमित बम पड्काउँदा पोखरा–बागलुङ खण्डको पर्वतस्थित नयाँपुल र सहस्रधारामा गुड्ने सवारीसमेत बेलाबेला रोकिने गरेका छन् । २०७२ असार १५ मा पहिलो पटक शिलान्यास भएपछि नेपाली सेनाले २ वर्षमा यो खण्डको ट्र्याक खोलेको थियो । ८ मिटर चौडा रहेको यो सडकलाई १० मिटर बनाउन भन्दै बजेट रकमान्तरण गरेपछि माघदेखि सेनाले काम थालेको थियो ।

बम पड्काएर पहरा फोड्दै सडक बनाउनुपर्ने भएकाले सडक डिभिजनले ठेक्का नलगाई सेनालाई दिएको थियो । सुनौलीदेखि कोरला नाकासम्म ४ सय १७ किमि खण्डमा यो सडकले भारत र चीन दुई देश जोड्छ । करिडोरमा नियमित सवारी चल्दा १० लाख ३० हजार जनसंख्यामा बसाइँ सराइ कम हुने विश्वास गरिएको छ ।

करिडोरले बलेवा, बिनामारे, जैदी, छिस्तीका फाँट, गुल्मी, पाल्पा र पर्वतका समेत बस्तीले आफ्नो कृषि उपजलाई नारायणगढ, गैंडाकोटसम्म सहज बिक्रीका लागि पठाउन सक्छन् । चीनका पर्यटक लुम्बिनी र भारतीय पर्यटकलाई मुक्तिनाथ लैजान यो मार्ग बढी उपयोगी हुने भएकाले छिटो काम सक्न सेनालाई दिइएको प्रतिनिधिसभाका सांसद सूर्य पाठकले बताए । निर्माण कार्यदलले राष्ट्रिय गौरवको आयोजना भएकाले समयमै सक्ने दाबी गरेको थियो ।

५ घरमा क्षति
नियमित बम पड्काउँदा बागलुङ खण्डका ५ घरमा क्षति पुगेको छ । उनीहरूले आफ्ना घर जोखिममा परेको भन्दै मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।

बागलुङ नगरपालिका १० र १३ को सिमानामा स्थानीय कुलराज लामिछाने, दयाराम लामिछाने, खगराज लामिछाने, महेश्वर लामिछाने र कृष्णप्रसाद लामिछानेले आफूहरूको घर जोखिममा परेको भन्दै उजुरी पनि दिएका हुन् । घरमा नियमित ढुंगामाटो खस्ने खतरा भएकाले उजुरी दिइएको उनीहरूले बताए ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

दलितलाई सामूहिक रक्षाबन्धन

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका–१६, प्रयास टोलका ६९ वर्षीय कुलबहादुर विकले धेरै वर्षपछि बिहीबार हातमा रक्षाबन्धन बाँधे । पण्डितहरूको एक टोलीले गाउँमै आएर सामूहिक रूपमा दलित र जनजाति समुदायलाई रक्षाबन्धन बाँधेको थियो । 

दाङको घोराही उपमहानगरपालिका–१६, प्रयास टोलको दलित बस्तीमा सामूहिक रक्षाबन्धन गरेर जनैपूर्णिमा मनाउँदै । तस्बिर : दुर्गालाल/कान्तिपुर

‘हामीकहाँ पण्डितहरू घरमै आएर डोरो बाँधिदिने चलन छैन । दलित समुदायको घरमा आउन अप्ठ्यारो मान्छन्,’ विकले भने, ‘पहिले पहिले पण्डितहरूलाई आफैंले अनुरोध गरेर बाँध्न लगाउँथ्यौं । पछिपछि त्यो पनि छुट्यो ।’

अहिले गाउँमै सबैलाई बोलाएर डोरो बाँधिदिंदा खुसी लागेको उनले सुनाए । हिन्दु स्वयंसेवक संघ र प्राज्ञिक विद्यार्थी परिषद्मा आवद्ध पण्डितहरू जातीय छुवाछूत अन्त्यको सन्देश दिन प्रयास टोलको दलित, जनजाति बस्तीमा पुगेका थिए ।

स्थानीय ३९ वर्षीय पञ्चराम चौधरीले बाल्यकालमा अरूको घरमा कमैया बसेका बेला रक्षाबन्धन बाँधेका थिए । त्यसपछि करिब दुई दशकसम्म उनले जनै पूर्णिमा मनाउन पाएका थिएनन् । यसपटक उनले पण्डितको हातबाट डोरो बाँधे । ‘थारू समुदायको घरमा पण्डितहरू आउँदैनन् । हामी पनि खासै महत्त्व दिंदैनौं,’ उनले भने, ‘जमिन्दारको घरमा हुँदाब्राह्मण आउँथे, बाँधिदिन्थे । कमैया छोडेपछि बाँध्नछुट्यो । अहिले धेरैपछि बाँध्न पाउँदा रमाइलो लाग्यो ।’

शिला चौधरीले पनि सबै बराबर भएर डोरी बाँध्न पाएकामा खुसी व्यक्त गरिन् । ‘दलित, जनजाति, ब्राह्मण, क्षत्री सबै एकै ठाउँमा बसेर रक्षाबन्धन मनाउन पाइयो । सबै समान भएको महसुस भयो,’ उनले भनिन्, ‘यसले समाजमा रहेको विभेद अन्त्य गर्न सहयोग मिलेको छ ।’

सुनीता सुनार पनि ब्राह्मणको हातबाट डोरो बाँधेपछि खुसीले रमाइन् । पीपल चौतारीमुनि बसेर सामूहिक रक्षाबन्धनपछि पण्डितहरू दलितहरूका घरमा बसेर सँगै खाना खाए । ‘कानुनी रूपमा जातीय छुवाछूतको अन्त्य भए पनि व्यावहारिक रूपमा धेरै समस्या छन् । चाडपर्वमा असमानता देखिन्छ,’ प्राज्ञिक विद्यार्थीपरिषद्का प्रदेश अध्यक्ष शरदकुमार शर्माले भने, ‘सबै जातजाति समान हौं भन्ने सन्देश दिन दलित, जनजाति समुदायलाई नै लक्षित गरेर रक्षाबन्धन कार्यक्रम गरेका हौं । यसले सकारात्मक सन्देश दिएको छ ।’

चाडपर्व सबैले समान रूपमा मनाउन पाउनुपर्ने सन्देशका साथ सामूहिक रक्षाबन्धन गरिएको नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक किशोरचन्द्र गौतमले बताए । ‘कतिपयले यो संस्कार बिर्संदै गएका छन् । हाम्रा मौलिक चाडपर्वको संरक्षण हुन जरुरी छ,’ उनले भने।

प्रकाशित : श्रावण ३१, २०७६ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्