कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छानबिनकै गाडी चढिरहेछन् समिति सभापतिहरू

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद् सचिवालयले संसदीय समितिका सभापतिहरूलाई किनेका ११ वटा नयाँ स्कर्पियो गाडी १ महिनामै बिग्रिएको बारे छानबिन गर्न गठित समितिले काम सुरु नगर्दै ती गाडी प्रयोग भएका छन् । छानबिन सहज बनाउन छानबिनमा परेका कुनै पनि वस्तु प्रयोग नगरी यथावस्थामै राख्नुपर्ने हुन्छ । 

छानबिनकै गाडी चढिरहेछन् समिति सभापतिहरू

गाडीको सत्यतथ्य पत्ता लगाउन प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ । समिति संयोजक बिडारीले नै छानबिनमा परेको गाडी प्रयोग गरिरहेका छन् । ‘गाडी जिल्लाबाहिर पनि गएका छन्, कसरी रोक्नु ?’ सभापति बिडारीले भने, ‘मेकानिकको सहायतामा गाडीका सामान सक्कली हुन् कि नक्कली, छानबिन गरेपछि गाडी फिर्ता गर्ने कि के गर्ने निर्णय हामी गर्छौं ।’


छानबिनमा परेका गाडीको विकल्प अर्को कुनै व्यवस्था नभएकाले तिनै प्रयोग गरेको सभापतिहरूको तर्क छ । ‘हामीलाई जुन गाडी दिइयो, त्यही प्रयोग गरेका छौं,’ राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी (पार्वती) रावलले भनिन्, ‘छानबिनका लागि फिर्ता गर्नुपर्ने भए गर्छौं ।’


छानबिन समितिका सदस्यमा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेल, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट छन् ।


छानबिन समिति सभापति बिडारीले समितिलाई पत्र प्राप्त भएपछि कर्मचारी पनि तोकेको उल्लेख गर्दै बैठक बसेपछि काम सुरु गर्ने बताए । पत्रमा समितिलाई ११ वटा गाडीको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन दिनु भनिएको छ । समितिले बुधबार चिठी पाएको हो । ‘समितिका तीन सदस्य बाहिर भएकाले बैठक बसेका छैनौं,’ उनले भने ।


सभापतिहरूले गत शुक्रबार एक बैठकमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई नयाँ गाडी बिग्रिएको जानकारी गराएपछि छानबिन समिति गठन गरिएको हो । सभापतिहरूले नयाँ गाडी बिग्रिनुमा खरिद प्रक्रियामा अनियमिता आशंका गरेपछि छानबिन गर्न समिति गठन भएको थियो ।


संसदीय १६ वटा समितिमध्ये पछिल्लो लटमा ११ सभापतिलाई संसद् सचिवालयले गाडी किनेको हो । पहिलो लटमा ५ सभापतिलाई उपलब्ध गराइएको थियो । सचिवालयले दुवै पटक स्कर्पियो गाडी महिन्द्राको नेपालस्थित अधिकृत विक्रेता अग्नि इन्कर्पोरेट प्रालिसँग खरिद गरेको हो ।


कुनै गाडीमा गियर, कुनैमा स्टार्ट, अधिकांश गाडीमा झ्यालढोकाका सिसा खोल्न–लगाउन गाह्रो र कुनैमा वाइफरको समस्या थियो । सबै गाडीमा स्पिकर खराब भेटिएको थियो, जुन विक्रेता कम्पनीले संसद् सचिवालयमै आएर फेरिदिइसकेको छ । गाडी पुछन दिएको कपडाले गाडी पुछदा हातमै रातो लाग्ने समेत भेटिएको थियो । बिग्रेको एउटा गाडीलाई विक्रेता कम्पनीले सचिवालय परिसरबाट आफ्नो वर्कसपमा लगेर मर्मत गरी तीन दिनपछि फर्काएको थियो ।


पछिल्लो लटमा राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठ, प्रत्यायोजित व्यवस्थापन समिति सभापति बिडारी, महिला तथा सामाजिक समिति सभापति निरुदेवी पाल र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापति निरादेवी जैरु, राष्ट्रिय सरोकार समिति सभापति पार्वती रावल, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, न्याय कानुन तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेल, संसदीय सुनुवाइ समिति सभापति लक्ष्मणलाल कर्ण, विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति पूर्णकुमारी सुवेदीलाई गाडी खरिद गरिएको हो । पोखरेलबाहेक सबैले प्रयोग गरेका छन् । समिति सभापतिहरूले गुनासो गरेपछि गत साता कम्पनीले ११ मध्ये १० वटामा स्पिकर सचिवालयमै आएर फेरेको थियो ।


सचिवालयको आन्तरिक शाखामा प्रमुख अधिराज राईले प्रक्रियाअनुसारै गाडी खरिद गरेर कम्पनी र सचिवालयको प्राविधिक टोलीले जाँच गरी सभापतिहरूलाई उपलब्ध गराएको दाबी गरेका थिए । सचिवालयको प्राविधिक शाखाले भने यसमा आफूहरूलाई संलग्न नगराएको बताएको छ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?