कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बीपी प्रतिष्ठानमा बेथिति : अख्तियारको निगरानीमा पदाधिकारी, कामकाज अस्तव्यस्त

प्रदीप मेन्याङ्बो

सुनसरी — उच्च पदाधिकारी अभावले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा उच्च पदाधिकारीहरूलाई कारबाहीको दायरामा ल्याएपछि प्रतिष्ठान अस्तव्यस्त बनेको हो । 

बीपी प्रतिष्ठानमा बेथिति : अख्तियारको निगरानीमा पदाधिकारी, कामकाज अस्तव्यस्त


निमित्त उपकुलपति डा. गुरु खनालले सामान्य दैनिक प्रशासन र अस्पताल निर्देशक डा. गौरीशंकर साहले नियमित ओपीडी मात्र सञ्चालन गरिरहेका छन् । प्रतिष्ठानले यसअघि सुरु गरेका ठूला परियोजना स्थगित हुने अवस्थामा छन् । बिरामी उपचारका लागि चाहिने मेडिकल उपकरणका सामानमध्ये कतिपय सकिन लागेका छन्, कतिपय सकिएका छन् । अख्तियारको डरले सामग्री खरिदका लागि निर्देशन दिने र टेन्डर खोल्ने प्रक्रिया बन्द भएको छ ।

प्रतिष्ठानका उच्चस्तरीय सल्लाहकार समितिका पूर्वसदस्यसमेत रहेका बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष डा. आनन्द आचार्यले सरकारले प्रतिष्ठान सञ्चालनका लागि योग्य व्यक्तिलाई उपकुलपतिका रूपमा नियुक्त नगर्दा भ्रष्टाचार मौलाएको बताए । ‘सरकारले राजनीतिक भागबन्डा गर्नुका साथै ब्रिफकेस बोक्ने अयोग्यलाई प्रतिष्ठान सञ्चालन गर्न दिँदा बदनामीसँगै बीपीमा दुर्गति देख्नुपरेको छ,’ उनले भने । ‘धरानको नागरिक समाजले मिहिन रूपमा चासो दिन नसक्दा प्रतिष्ठानलाई नेता, मन्त्री, पदाधिकारी, कर्मचारी, ठेकेदार सबैले दुहुनो गाई बनाए ।’ उनले प्रतिष्ठानको दुर्गतिमा ‘ब्रेक’ लगाउन अख्तियार र सरकारले चाँडो अनुसन्धान र छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

आर्थिक चलखेल गरेर राजनीतिक नियुक्ति पाएका पदाधिकारीले प्रतिष्ठानलाई ‘बिरामी’ बनाएको महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापमक राजेन्द्र शर्मा बताउँछन् । ‘प्रतिष्ठानमा बाहिरका योग्य, दक्ष र प्रशासनिक क्षेत्रका निष्ठावान् व्यक्तिलाई

नियुक्ति गर्नुपर्छ ।’

प्रतिष्ठानबाहिरका व्यक्ति उपकुलपति भएर आउँदा आर्थिक चलखेल र भ्रष्टाचार भएको चर्चा चलेको थिएन । प्रतिष्ठानमै कार्यरत डा. बलभद्रप्रसाद दास उपकुलपतिमा नियुक्त भएपछि आर्थिक चलखेलको सिलसिला सुरु भएको प्रतिष्ठानको बेथितिबारे जानकार एक जनाले बताए । दास राजनीतिक नियुक्ति लिएर आएपछि आर्थिक चलखेल भएको चर्चासँगै प्रतिष्ठानको साख गिर्न थालेको उनले बताए । ‘उपकुलपति राजकुमार रौनियारलाई आठ लाख रुपैयाँ घूससहित अख्तियारले समातेपछि प्रतिष्ठानमा कालो दाग लाग्यो,’ उनले भने ।

दास बाबुराम भट्टराई प्रधानमन्त्री र राजेन्द्र महतो स्वास्थ्यमन्त्री भएका बेला उपकुलपति बनेका थिए । दास रौनियार उपकुलपति बने । त्यतिबेला पुष्पकमल दाहाल प्रधानमन्त्री र गगन थापा स्वास्थ्यमन्त्री थिए ।

अन्तर्राष्ट्रियस्तरका डेढ दर्जन मेडिकल युनिभर्सिटीसँग भगिनी सम्बन्ध भएको प्रतिष्ठानमा उपकुपति राजनीतिक लबिङ र लेनदेनका आधारमा नियुक्ति हुन थालेपछि तहसनहस भएको शर्माले बताए । ‘प्रतिष्ठानमा अर्बौं बजेटका भौतिक संरचना निर्माण भइरहन्छन् । करोडौं रकमको मेडिकल उपकरण खरिद भइरहन्छ । कर्मचारी नियुक्ति र एमबीबीएस, बीडीएस, एमडी, डीएमएमसीएचमा भर्ना आदिमा कमिसन र आर्थिक चलखेल गर्न पाइने भएकाले उपकुलपति बन्न लोभीपापीहरू सल्बलाउँछन्,’ उनले भने ।

प्रतिष्ठानमा आमनागरिकको सरोकारसँग जोडिएका महत्त्वाकांक्षी परियोजना छन् । करिब २५ प्रतिशत निर्माण भएपछि रोकिएको मातृ तथा शिशु उपचार केन्द्र (एमसीएच) भवनसँगै क्यान्सर उपचार केन्द्र (अंकोलोजी), मुटुरोग उपचार केन्द्र (कार्डियोलोजी) जस्ता ठूला परियोजना दुई वर्षदेखि एकसाथ रोकिएका छन् । प्रतिष्ठानमा ४ सय शय्याको एमसीएच, २ सय शय्याको कार्डियोलोजी, दुई सय शय्याको अंकोलोजीका योजना छन् । आकस्मिक कक्ष विस्तार, डाइलासिस, आईसीयू, पीआईसीयूजस्ता सेवा विस्तार हुन

सकिरहेका छैनन् ।

धरान–१८ का वडाध्यक्ष प्रवीण राईले आफ्नै वडामा प्रतिष्ठान पर्ने भएकाले त्यहाँभित्र हुने अराजनीतिक गतिविधि, बन्द हडताल, तालाबन्दी, कमिसनजस्ता समस्यालाई रोक्न अनेक प्रयास गरे पनि नसकेको बताए । ‘त्यहाँभित्रको बेथिति निर्मूल गर्न बाहिरबाटै पदाधिकारी ल्याउन दबाब सिर्जना गर्नुपर्छ,’ उनले भने । उनले पनि प्रतिष्ठानमा एकले भनेको कुरा अर्काले नमान्ने, नटेर्ने चलन दास उपकुलपति भएपछि सुरु भएको बताए ।

प्रकाशित : श्रावण ३१, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?