सुनसान छ 'कान्छी नेपाल’

‘कपडा पसल मात्र ५०/६० वटा थिए, मानिसको भीडले बजार भरिभराउ हुन्थ्यो । अहिले त्यो कहाँ पाउनु ?’
मोहन शाही

सिलगढी, डोटी — शैलेश्वरी मन्दिरको उत्तर दक्षिणमा लहरै फैलिएको सिलगढी बजार सुनसान छ । चिटिक्क परेका नेवारी घरका मूल ढोकामा ताल्चा झुन्डिएका छन् । कोठाका र्‍याक रित्ता छन् ।

सुनसान छ 'कान्छी नेपाल’

८७ वर्षीया जगतलक्ष्मी श्रेष्ठलाई ‘कान्छी नेपाल’ का रूपमा चर्चित सिलगढी बजार देखेर नियास्रो लाग्छ । बजारको चहलपहलमा बितेको बाल्यकाल उनको आँखैअघि घुमिरहन्छ ।


अछामी, बझाङी, बिमकोटे र दर्नाली राजाले किनमेलका लागि सिलगढी आउँदा बाल्यकालमा ओखरको कुटेरो खान दिएको उनले भुलेकी छैनन् । जुम्ला, हुम्ला, अछाम, बाजुरादेखि सुर्खेतका मानिसको चहलपहल हुन्थ्यो । उनका सासूससुरा र दुई देवरका परिवार घरमा ताल्चा लगाएर काठमाडौं गएको वर्षौं भयो ।

७१ वर्षीय गोविन्दप्रसाद श्रेष्ठ पनि सिलगढी सहर अहिले खण्डहर बन्दै गएकामा चिन्ता व्यक्त गर्छन् । बजारको अवस्था देखेर उनी विरक्तिएका छन् । ‘हजारौं भेडाबाख्रा र च्यांग्रा टाढाटाढाबाट आउँथे, भोटको नुन यहीं पुग्थ्यो,’ उनले विगत सम्झिए, ‘५०/६० वटा त कपडा पसल मात्र थिए, एउटा पनि घर खाली थिएनन् । मानिसको आवतजावतले बजार भरिभराउ हुन्थ्यो । अहिले त्यो कहाँ पाउनु ?’ सिलगढीमा शक्तिशाली नेता नभएकाले यस्तो अवस्था आइपरेको उनको भनाइ छ ।

राणाकालमा नेपालका ४ प्रशासकीय गौंडामध्ये डोटीको सिलगढी पनि एक थियो । शिक्षा, स्वास्थ्य, अड्डाअदालत, प्रशासन र बजारका लागि मानिसको चहलपहल काठमाडौंपछि डोटीमा थियो । बडाहाकिम, राजारजौटाहरूको आगमनले काठमाडौंझैं चहलपहल हुने भएकाले सिलगढीलाई नेपालको ‘कान्छी सहर’ भनिएको श्रेष्ठको भनाइ छ ।

सिलगढीमा दुइटा बजार छन् । शैलेश्वरी मन्दिरभन्दा माथिल्लो बजारमा सामान्य चहलपहल हुन्छ । केही पसल बाँकी छन् । माथिल्लो बजार भने सुनसान छ । धेरैजसो घर खाली छन् । केही घर भत्किइसकेका छन् । केही घरपरिवार ग्रामीण क्षेत्रबाट सिलगढीमा पढ्न तथा कुनै कामले बसोबास गर्न आएका व्यक्तिलाई हेरचाहको जिम्मेवारी दिएर अन्यत्र बसाइँ सरेका छन् ।

सिलगढीमा कलिलै उमेरबाट व्यापार व्यवसाय गरिरहेका ओमप्रकाश सिंहले घरमा भाडा बस्ने मान्छेसमेत नपाइने गरेको बताए । ३२ वर्षीय देवराज साउद पनि १० वर्षमै सिलगढीमा धेरै परिवर्तन आएको सुनाउँछन् । सानो छँदा पसलमा सामान किन्न ग्राहक लाइन बस्ने गरेको देखेका उनले अहिले दिनमा ५ सय रुपैयाँको सामग्री बेच्न धौधौ हुने गरेको बताए ।

पछिल्लो समय जिल्लाका विभिन्न ग्रामीण क्षेत्रबाट आएकाहरूले घर बनाए पनि सिलगढीको मूल बजारमा भने नेवार जातिको बाहुल्य छन् । सिलगढीको सिरानमा रहेको नाचन्थलीदेखि पुछारमा रहेको इन्द्रचोकबीचमा झन्डै दुई सय घर छन् ।

मूल थलोबारे अन्योल

विभिन्न समयमा सिलगढी आएका नेवारहरू आफ्नो मूल थलोबारे प्रस्ट छैनन् । धेरैले नेवार जाति चिनाउने श्रेष्ठ थर लेख्थे । समयक्रमसँगै व्यापार छाडेर लेखपढ गर्न थालेपछि पुर्खाको खोजी गर्न थाले । २०४० सालतिर मात्रै धेरैले आफ्नो मूल थलोबारे थाहा पाए । अधिकांशले आफ्नो थर पनि पत्ता लगाए । कोही बिजुक्छे हाडा निस्किए, कोही राजभण्डारी, कोही नेवार मल्ल त कोही जोशी ।

मूल थर पत्ता लागेपछि पछिल्ला पुस्ताले बिजुक्छे थर लेख्न थालेको रेडक्रस सोसाइटीका पूर्वसभापति नरेशमान श्रेष्ठले बताए । ‘हामी हिजोआज छोराछोरीको थर बिजुक्छे लेख्छौं,’ उनले भने, ‘पुर्खा पत्ता लगाउन भक्तपुर जाँदा धेरैले अंश माग्छ भनेर सूचना दिएनन्, पछि अंश माग्दैनौं भनेर लिखित कागजात गरेपछि मात्रै जानकारी दिए ।’

प्रकाशित : श्रावण ३१, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?