२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कर्णालीका भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उनलाई पदमुक्त गरेका हुन् ।

कर्णालीका भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त


निर्माण व्यवसायीसमेत रहेका मन्त्री खत्री पछिल्लो समय नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिएका थिए । उनलाई मंगलबार पाटन उच्च अदालतले तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

मुख्यमन्त्री कार्यालयले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम पदमुक्त गरेको जनाएको छ । उक्त धारामा मन्त्री पदमुक्त हुने व्यवस्था छ । बैंकिङ कसुरजस्तो गंभीर अभियोगमा मुछिएको र अदालतलाई सहज होस् भनेर मुख्यमन्त्रीले खत्रीलाई पदमुक्त गरेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । मुख्यमन्त्रीले बिहीबारै पदमुक्तको निर्णय प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी गराइ हाललाई उक्त मन्त्रालयको जिम्मेवारी आफैले राखेका छन् ।

अदालतले तीन दिनभित्र उपस्थित हुन भने पनि मन्त्री खत्री अदालत गएका थिएनन् । उनी सशस्त्र प्रहरी बलको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर)सँगै काठमाडौंमा छन् । बुधबार साँझ कान्तिपुरसँगको कुराकानीमा उनले अदालतबाट अन्तिम निर्णय आएपछि राजिनामाबारे सोच्ने बताएका थिए ।

मन्त्री खत्रीसहितको टोलीले १ करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको सम्बन्धी मुद्दा अदालतमा चलिरहेको छ । अहिले पनि उनी संलग्न केएसके कन्स्ट्रक्सन कम्पनीले उनको नेतृत्वमा रहेको मन्त्रालय मातहतका निकायका ठेक्कामा काम गरिरहेको छ । खत्री प्रदेशसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ (ख)बाट निर्वाचित भएका थिए ।

याे पनि पढ्नुहाेस् ........

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा कर्णालीका मन्त्री खत्रीमाथि बैंकिङ कसुरको मुद्दा, ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

प्रकाशित : श्रावण ३१, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?