१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ

काठमाडौँ — प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कार्यालयबाटै पक्राउ गरेको छ । चितवन र काठमाडौं प्रहरी परिसर टोलीले लामिछाने र पत्रकार युवराज कँडेललाई बिहीबार साँझ पक्राउ गरेको हो ।

कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ

लामिछाने र कँडेललाई अर्का पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ‘अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरेका हौं’ ती उच्च अधिकारीले भने, ‘ अनुसन्धानपछि मात्र सबै कुरा बाहिर आउँछ ।’ यही साउन २० पत्रकार पुडानसैनी आत्महत्या गरेको अवस्थामा चितवनको एक होटलमा फेला परेका थिए ।


पत्रकार पुडासैनीले लामिछाने र कँडेलको मानसिक यातनाले गर्दा आफूले आत्महत्या गरेको मर्नअघि रेकर्ड गरेको भिडियोमा छ । प्रहरीले लामिछाने, कँडेल र अर्की युवती अस्मिता कार्की अनुसन्धान घेरामा राखेका थिए । कार्कीलाई बिहीबार दिउँसै प्रहरीले नियन्त्रणमा लिएको थियो ।


पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका लामिछाने, कँडेल र कार्कीले आफूलाई आत्महत्याका लागि विवश बनाएको उल्लेख छ । यसरी भिडियो सामाजिक सञ्जालमा सनीसनीपूर्णरुपमा छाएपछि प्रहरी तीनै जना पक्राउ गर्न बाध्य भएको हो । पुडासैनीले साउन २० मा चितवनस्थित कंगारू होटलमा आत्महत्या गरेका थिए । त्यसपछि चितवन प्रहरी हत्याको अनुसन्धान अघि बढाएको थियो । पुडासैनी कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।


आत्महत्या गर्नुअघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएको देखिन्छ । करिब १० मिनेटभन्दा बढी भिडियोमा मर्नु पर्नाको कारण उनले स्पष्ट पारेका छन् । उनले भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेको देखिन्छ । उक्त भिडियो प्रहरीले बरामद गरेर परीक्षणका लागि फरेन्सिक ल्यावमा पठाएको थियो । मोवाइल र भिडियो प्रमाणित भएपछि प्रहरीले पक्राउ गरेको प्रहरीको दाबी छ ।


लामिछानेद्वारा सञ्चालित कार्यक्रममा केही महिनाअघि आबद्ध मृतक पुडासैनीलाई डिपेन्डेन्टमा अस्ट्रेलिया पठाइदिन ती युवतीसँग सञ्चारकर्मी कँडेलले भेट गराएको भिडियोमा छ । लामिछाने, कँडेल र पुडासैनीबीच खटपट सुरु भएपछि पत्रकार पुडानसैनीले काम छाडेको उल्लेख छ । त्यसपछि पुडासैनीविरुद्ध युवती कार्की रविको कार्यक्रममा पुगेको, लामिछाने र कँडेल आफूविरुद्ध कार्यक्रमको तयारी गरेसँगै आत्महत्या गर्न विवश भएको पुडासैनीको भिडियोमा छ ।


यो पनि पढ्नुहोस्ः

पत्रकार पुडासैनी मृत फेला

प्रकाशित : श्रावण ३०, २०७६ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?