कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ

दिपेन्द्र विष्ट, जनकराज सापकोटा

काठमाडौँ — प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कार्यालयबाटै पक्राउ गरेको छ । चितवन र काठमाडौं प्रहरी परिसर टोलीले लामिछाने र पत्रकार युवराज कँडेललाई बिहीबार साँझ पक्राउ गरेको हो ।

लामिछाने र कँडेललाई अर्का पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ‘अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरेका हौं’ ती उच्च अधिकारीले भने, ‘ अनुसन्धानपछि मात्र सबै कुरा बाहिर आउँछ ।’ यही साउन २० पत्रकार पुडानसैनी आत्महत्या गरेको अवस्थामा चितवनको एक होटलमा फेला परेका थिए ।


पत्रकार पुडासैनीले लामिछाने र कँडेलको मानसिक यातनाले गर्दा आफूले आत्महत्या गरेको मर्नअघि रेकर्ड गरेको भिडियोमा छ । प्रहरीले लामिछाने, कँडेल र अर्की युवती अस्मिता कार्की अनुसन्धान घेरामा राखेका थिए । कार्कीलाई बिहीबार दिउँसै प्रहरीले नियन्त्रणमा लिएको थियो ।


पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका लामिछाने, कँडेल र कार्कीले आफूलाई आत्महत्याका लागि विवश बनाएको उल्लेख छ । यसरी भिडियो सामाजिक सञ्जालमा सनीसनीपूर्णरुपमा छाएपछि प्रहरी तीनै जना पक्राउ गर्न बाध्य भएको हो । पुडासैनीले साउन २० मा चितवनस्थित कंगारू होटलमा आत्महत्या गरेका थिए । त्यसपछि चितवन प्रहरी हत्याको अनुसन्धान अघि बढाएको थियो । पुडासैनी कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।


आत्महत्या गर्नुअघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएको देखिन्छ । करिब १० मिनेटभन्दा बढी भिडियोमा मर्नु पर्नाको कारण उनले स्पष्ट पारेका छन् । उनले भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेको देखिन्छ । उक्त भिडियो प्रहरीले बरामद गरेर परीक्षणका लागि फरेन्सिक ल्यावमा पठाएको थियो । मोवाइल र भिडियो प्रमाणित भएपछि प्रहरीले पक्राउ गरेको प्रहरीको दाबी छ ।


लामिछानेद्वारा सञ्चालित कार्यक्रममा केही महिनाअघि आबद्ध मृतक पुडासैनीलाई डिपेन्डेन्टमा अस्ट्रेलिया पठाइदिन ती युवतीसँग सञ्चारकर्मी कँडेलले भेट गराएको भिडियोमा छ । लामिछाने, कँडेल र पुडासैनीबीच खटपट सुरु भएपछि पत्रकार पुडानसैनीले काम छाडेको उल्लेख छ । त्यसपछि पुडासैनीविरुद्ध युवती कार्की रविको कार्यक्रममा पुगेको, लामिछाने र कँडेल आफूविरुद्ध कार्यक्रमको तयारी गरेसँगै आत्महत्या गर्न विवश भएको पुडासैनीको भिडियोमा छ ।



यो पनि पढ्नुहोस्ः

पत्रकार पुडासैनी मृत फेला

प्रकाशित : श्रावण ३०, २०७६ १९:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रहरी–जनप्रतिनिधि मिलेर चुरे दोहन, इन्चार्जलाई मासिक ८० हजार घूस

पर्वत पोर्तेल

(काँकडभिट्टा) — सरकारले प्रतिबन्ध लगाएको चुरे क्षेत्रमा प्रहरी र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा उत्खनन भइरहेको खुलासा भएको छ । प्रतिबन्धको समयमा समेत मेचीनगर १ मा पर्ने नेपाल–भारत सीमाको मेची नदीबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन तीव्र भइरहेको पाइएको हो ।

सरकारले असार, साउन र भदौ तीन महिना नदीजन्य सामग्रीको उत्खननमा रोक लगाएको थियो । तर सरकारी प्रतिबन्धको बेवास्ता गर्दै नदीजन्य वस्तुको चरम उत्खनन भइरहेको छ ।

ढुंगा कारोबारमा संलग्नले स्थानीय प्रहरी चौकीका इन्चार्जलाई मासिक ८० हजार घूस बुझाउने गरेको एक स्थानीयले नाम नछाप्ने सर्तमा जानकारी दिए । तर प्रहरी इन्चार्ज भरतकुमार थापाले आफूले कुनै रकम नलिएको दाबी गरेका छन् । ‘यो अनावश्यक आरोप हो, प्रहरीले पैसा लिएको छैन ।’

मेचीनगर नगरपालिकाले यो क्षेत्रमा लामो समयदेखि नदी उत्खननमा रोक लगाएको थियो । चुरे क्षेत्रमा उत्खनन गर्न नमिल्ने भएकाले रोक लगाइएको नगर कार्यपालिका सदस्य तथा वन तथा वातावरण समितिका संयोजक टीकराम मंग्रातीले जनाए । उनले नगरपालिकाको प्रतिबन्धको प्रवाह नगरी उत्खनन भइरहेको पाइएकाले कडाइ सुरु गरिएको जनाए । भने, ‘गलत भएको हो, अब निगरानी बढाएका छौं ।’

अवैध ढंगबाट उत्खनन भए पनि वडाध्यक्ष पासाङ तामाङले आँखा चिम्लिएर बसेको आरोप स्थानीयको छ । तर तामाङले भने पटक पटक ट्याक्टर नियन्त्रण लिएर उत्खनन रोक्ने प्रयत्न गर्दा पनि तस्करीमा संलग्नले अटेर गरेको जनाए ।

मेचीनगर १ को यो चुरे क्षेत्र हो । चुरेमा भइरहेको चरम दोहनबारे स्थानीयवासीले पटकपटक सरोकारवाला निकायको ध्यानाकर्षण गरेपनि बेवास्ता गरिँदै आएको थियो । चुरे दोहनले भविष्यमा गाउँ नै खतरामा पर्न सक्ने स्थानीय प्रेम थापाले जनाए ।

तिरिङका स्थानीयवासीका अनुसार इलामको रोङ गाउँपालिका ६ मा पर्ने दुधेचौरी क्षेत्रबाट दैनिक सय बढी ट्याक्टरमा ढुंगा लोड हुँदै आएको छ । लोड गरेको ढुंगा तिरिङखोला बगरमा लगेर संकलन गरिएको छ । एक स्थानीयका अनुसार ढुंगा संकलनमा अधिकांश ट्याक्टरको प्रयोग हुने गर्छ ।

ती ट्याक्टर सबै कृषि प्रयोजनका लागि छुटमा आयातित छन् । ‘धान रोपाइँ सकिएकाले अधिकांश ट्याक्टर अहिले ढुंगा ओसार्न प्रयोग भएका छन्,’ एक स्थानीयले भने । खासमा कृषि कर्मका लागि आयातित ट्याक्टरको प्रयोग अन्य काममा गर्न मिल्दैन ।

कतिपय स्थानमा एस्काभेटरको समेत प्रयोग भएको पाइएको छ । जब कि सम्बद्ध निकायको इजाजतबिना एस्काभेटर प्रयोग गर्न मिल्दैन ।

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले चार दिनअघि बसेको जिल्ला अनुगमन समिति र सुरक्षा निकायको बैठकले उत्खनन् गरिएका ढुंगाहरूबारे बुझ्न सबै स्थानीय सरकारलाई निर्देशन दिइएको बताए । उनले भने, ‘गलत ढंगले उत्खनन भएको पाइए ढुंगा र सवारी सोझै जफत गर्न निर्देशन दिएका छौं ।’

प्रकाशित : श्रावण ३०, २०७६ १९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×