दलित आयोग तीन वर्षदेखि पदाधिकारीविहीन

रासस

काठमाडौँ — राष्ट्रिय दलित आयोग साढे तीन वर्षदेखि पदाधिकारीविहीन छ । लामो समयदेखि आयोग पदाधीकारीविहीन हुँदा दलित समुदाय सेवाबाट वञ्चित भएका छन् ।

आयोगमा कर्मचारी भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना दर्ता गर्ने काम मात्र भएको छ । पदाधिकारी नहुँदा अहिले ती मुद्दाको बारेमा सरकारलाई निर्देशन दिनुको सट्टा व्यवस्थापन मात्र गरिएको छ ।

नेपालको संविधानमा १३ संवैधानिक आयोगको व्यवस्था गरिएको छ । जसमा १० आयोगमा पदाधिकारी नियुक्त भए पनि दलित आयोगमा भने अझै पदाधिकारी नियुक्त भएको छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जीतु गौतमले अन्य आयोग गठन भएपनि लामो समयदेखि दलित आयोग गठन नहुँदा सिंगो दलित समुदाय मर्काका परेको भन्दै जतिसक्दो चाँडो नियुक्त गर्नुपर्ने माग गरे ।
संविधानको धारा २५५ मा नेपालमा एक राष्ट्रिय दलित आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार सदस्य रहनेछन् भनी व्यवस्था गरेको छ । आयोगले दलित समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण गरी तत्सम्बन्धमा गर्नुपर्ने नीतिगत, कानूनी र संस्थागत सुधारका विषय पहिचान गरी नेपाल सरकारलाई सिफारिश गर्ने संवैधानिक व्यवस्था छ ।

दलित अधिकारकर्मी परशुराम रम्तेलले आयोग पदाधिकारीविहीन हुँदा दलित समुदायका मुद्दा ओझेलमा परेको भन्दै तत्काल गठन गर्न अपिल गरे ।

प्रकाशित : श्रावण ३०, २०७६ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्

सुन तोलाको ७१ हजार ५ सय पुग्यो, आखिर किन बढ्यो ?

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार ५ सय पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेको हो । बुधबार प्रतितोला सुनको मूल्य ७० हजार ३ सय रुपैयाँ थियो ।

काठमाडौको नयाँ सडकस्थित सुन पसल चियाउँदै महिला ।तस्बिर : इलिट जोशी/कान्तिपुर

बिहीबार तेजावी सुन ७१ हजार २ सयमा कारोबार भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १५१४ अमेरिकी डलर पुग्दा यहाँ भाउ ७१ हजार ५ सय रुपैयाँ पुगेको हो।

चाडपर्वसँगै सुन महँगिए पछि किनबेच भने ओरालो लागेको छ।

तीजको सिजन सुरु भइसक्दा र दसैं नजिकिँदा समेत राजधानीका सुन पसलमा ग्राहकको चहलपहल हुन नसकेको व्यापारी बताउँछन्। मूल्य बढ्दै गएपछि किनबेच झन्डै ८० प्रतिशतले घटेको व्यापारीको भनाई छ।

आखिर किन बढ्यो सुन ?
जानकारका अनुसार सुनलाई सुरक्षित लगानीका रूपमा हेरिन्छ । व्यापार युद्ध, आर्थिक संकट र राजनीतिक आन्दोलनसमेतले सुनको मूल्य वृद्धि गरिरहेका छन् । अस्थिरतामा व्यवसायीहरू सुरक्षित लगानीको खोजीमा छन् । लगानीकर्ताहरूले सुनमा लगानी गर्दा मूल्य अकासिएको हो । विज्ञहरूका अनुसार सुनको मूल्य बढ्नुमा मुख्यतः ६ कारण छन् ।

पहिलो कारण चीन र अमेरिकाको व्यापार युद्ध नै हो । ‘व्यापार युद्धकै कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३ सय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन् । यो निर्णय सेप्टेम्बरबाट कार्यान्वयन हुन्छ,’ महासंघका अर्का पूर्वअध्यक्ष एवं मूल्य निर्धारण समिति सदस्य मणिरत्न शाक्यले भने, ‘जसले गर्दा भाउ बढाउन मद्दत गर्‍यो ।’
उनका अनुसार २०१८ सम्म चीनलाई औद्योगिक क्रान्तिमा सफल मानिन्छ । चीनले आयात थोरै गर्छ । निर्यात बढी नै गर्ने हुँदा डलर सञ्चितिमा जोड दिएका थियो । अमेरिकी राष्ट्रपतिको नीतिका कारण द्वन्द्व सुरु भयो । त्यसपश्चात् चीनले डलर मौज्दातभन्दा सुन मौज्दात गर्न थाल्यो । ‘सुन मौज्दात गर्न थालेपछि मूल्य पनि बढ्न थालेको हो,’ उनले भने ।
दोस्रो कारण अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले घटाएको ब्याजदर हो । उसले पछिल्लो समय ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको थियो । ‘ब्याजदर जुलाईमाघट्यो । ब्याजदर घटे पनि आम्दानी कम हुन्छ । लगानीकर्ताहरूले निक्षेप झिकेर सुनमा लगानी गर्न थाले,’ पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘बैंकबाट लगानी झिकेर सुन खरिद गरेर सुरक्षित गर्न खोजे ।’
महासंघका अनुसार तेस्रो कारण सेयर बजार हो । व्यवसायीका अनुसार अहिले विश्व बजारमै सेयर बजार कमजोर भएको छ । ‘ब्याजदर घटे पनि त्यसको प्रभाव सेयर बजारमा पनि परेको देखिन्छ,’ शाक्यले भने, ‘जसले गर्दा सुनमा थप लगानी भएको छ ।’
चौथो कारण युरोपियन युनियनको शक्तिशाली देश जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता हो । त्यहाँक लागानीकर्ता पनि सुनमै लगानी गर्न इच्छुक छन् । अमेरिका, इरान, उत्तर कोरियाको कटु सम्बन्ध पनि पाँचौं कारण हो । ‘मध्यपूर्वका मुलुकबीच तनाव बढिरहेको छ । हङकङ पनि त्यही समस्या देखियो । तनावकै कारण व्यवसायीहरू लगानी सुरक्षित गर्न चाहन्छन् । धन सुरक्षित गर्न चाहन्छन् । कहीँकतै तनाव हुनेबित्तिकै सुनमै लगानी हुन्छ,’ पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘अर्थतन्त्रको सिद्धान्तअनुसार माग बढेपछि मूल्य पनि अकासिएको हो ।’
छैठौं कारण जम्मु–कश्मीरको विवाद हो । विवादकै कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ (आईसी) कमजोर भएको छ । डलर महँगो भएपछि सुनको भाउ बढ्न सघाएको छ । ‘नेपाल र भारतको सटही दर फिक्स हुँदा डलर महँगो पर्‍यो,’ तेजरत्न शाक्यले भने, ‘त्यसैले नेपालमा सुनको भाउ बढदो क्रममा छ ।’
सुन सबैभन्दा बढी भारत र चीनमै खपत हुन्छ । भारतमा वार्षिक १ हजार २ सय टन खपत हुन्छ । चीनले २००८ मा ७५ टन सुन उत्पादन गरेको पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘अहिले उत्पादन र खपत पनि बर्सेनि बढेको छ,’ उनले भने, ‘सुनको मौज्दात पनि बढाउँदै लगेको छ ।’
सुन मुख्यतः साउथ अफ्रिका, अस्ट्रेलिया, क्यानडामा उत्पादन हुन्छ । यीबाहेक अन्य मुलुकमा पनि छिटफुट रूपमा उत्पादन हुँदै आएको महासंघले जनाएको छ । नेपालमा सुन मुख्यतः दुबई, हङकङ, स्विटजरल्यान्डबाट आयात हुन्छ । उक्त सुन वाणिज्य बैंकहरूले मात्र आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । केही वर्षयता सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ ।
कार्यविधिअनुसार बैंकबाट व्यवसायीले दिनको २० किलो मात्रै किन्न पाउँछन् । चाडबाडको अवसरमा भने प्रतिदिन २५ किलोसम्म कोटा निर्धारण गर्दै आएको छ । अहिले भाउ अकासिएपछि बैंकहरूले पनि आयात गर्न छाडेका छन् । बैंकर्स संघका अनुसार अहिले बैंकमा करिब ७७० किलो सुन थुप्रिएको छ ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : श्रावण ३०, २०७६ १४:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्