जगदीशपुर तालमा मनोमानी
कपिलवस्तु — सौन्दर्यीकरण गर्ने भन्दै अघि बढाइएको योजनाले जगदीशपुर तालको प्राकृतिक स्वरूप संकटमा पारेको छ । रामसार अभिसन्धिमा सूचीकृत उक्त तालमा पर्यटकीय पूर्वाधार बनाउने योजना भन्दै पर्यटन विभागले ठेक्का लगाएको छ ।
तालको आकर्षण बढाउने भन्दै भित्री भागमा चारैतिर ढुंगा छापेर पैदल मार्ग बनाउने योजनाले तालको वातावरण बिथोलिएको छ ।
ताल संरक्षणको जिम्मा वाणगंगा सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयलाई छ । पर्यटक विभाग र ठेकेदारले समन्वय नै नगरी काम थालेपछि डिभिजनले गत असार तेस्रो साता रोकिदिएको थियो । ‘ठेकेदारले बिनासूचना तालको भित्री भागमा संरचना निर्माणको काम अघि बढाएको देखियो,’ सिँचाइ डिभिजन प्रमुख रामकृष्ण घोरासैनीले भने, ‘यो नियमले मिल्दैन ।’ सिँचाइ र पर्यटन विभागबाट डिभिजनलाई कुनै जानकारी नआएको उनले बताए ।
‘तालमा त्यसै पनि वातावरणीय प्रभाव मूल्यांकनबिना कुनै काम गर्न पाइँदैन,’ उनले भने, ‘ईआईए नगरेकाले अझैसम्म हामीले नै ताल सफाइको काम अघि बढाउन सकेका छैनौं, यस्तोमा जथाभावी निर्माणको काम गरिनु हुँदैन तर यहाँ जबर्जस्ती गरिएको अवस्था छ ।’
ठेकेदारले जबर्जस्ती काम थाल्दा स्थानीयको पनि दबाब रहेको डिभिजनले जनाएको छ । यस बीचमा दुई साताजति काम रोकियो । साउन दोस्रो साताबाट फेरि काम थालिएको छ । अहिले ताल वरिपरि हिँड्न बनाइएको सर्भिस रोडदेखि साढे दुई मिटर तल पैदल मार्ग बनाइँदै छ । यो मार्ग निर्माण भएपछि ताल प्रभावित हुनेछ ।
अहिलेसम्म पैदल मार्गका लागि पाँच सय मिटर ढुंगाको पर्खाल उठाइएको छ । दैनिक १० जनाले काम गरिरहेका छन् । पूर्वतिर रहेको पर्खालभित्र माटो कटान गरेर माथि हिँड्ने बाटो बनाइनेछ । यो मार्ग डेढ मिटर चौडा हुनेछ ।
ठाउँठाउँमा पर्यटक प्रतीक्षालय बनाइने छ । यस्तै फूलको बगैंचा बनाएर सौन्दर्यीकरण पनि गरिने योजनामा छ । ३ करोड १० लाख रुपैयाँ लागत रहने पैदल मार्ग २०७७ कात्तिक २ भित्रै सम्पन्न गर्ने लक्ष्य छ । ‘यत्ति नै बनाउने भन्ने छैन,’ निर्माण कम्पनी सञ्चालक पोषनाथ ढुंगानाले भने, ‘ढाई–तीन किमि जति पुग्छ, त्यति बनाउँछौं ।’
रामासार क्षेत्रमा पर्ने ताललाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागले हेर्छ । त्यसको प्रतिनिधि जिल्लामा डिभिजन वन कार्यालय हो । तर, यहाँको वन कार्यालयले थाहा नपाएजस्तो गरेको छ । ‘विश्व सिमसार क्षेत्रमा सूचीकृत ठाउँमा आईईई नगरी कुनै काम गर्न पाइँदैन,’ विभागका सूचना अधिकारी उपसचिव विष्णुप्रसाद श्रेष्ठले भने, ‘त्यो गैरकानुनी हो ।’ वातावरण ऐन र नियमावली विपरीतको काम रोक्न सकिने उनले बताए ।
‘मलाई योबारे विस्तृत थाहा छैन, जिल्लामा बुझ्छु,’ उनले भने । तालमा पर्यटकीय आकर्षणका संरचना निर्माण हुनुपर्ने र हुनुहुँदैन भन्ने दुई पक्ष छन् । पर्यावरणीय क्षेत्रमा काम गरिरहेकाहरू नयाँ निर्माणले जीवजन्तुको वासस्थान नष्ट हुने भन्दै चिन्ता व्यक्त गर्छन् भने जिम्मेवार निकायका प्रतिनिधि निर्माण हुनैपर्ने बताउँछन् ।
तालमा थालिएको कंक्रिटका संरचना र बाटो निर्माणले चराका वासस्थान संकटमा पर्ने पन्छी संरक्षण संघकी प्रमुख कार्यकारी अधिकृत इसाना थापाले बताइन् । ‘जगदीशपुर ताल चरा अवलोकनका लागि प्रसिद्ध हो,’ उनले भनिन्, ‘अहिलेको योजनाले चराको आगमन घट्छ ।’ चरा पर्यटनबाट लिन सकिने फाइदालाई ध्यानमा राखेर योजना तय गरिनुपर्ने उनले बताइन् । ‘माल पाएर चाल नपाएजस्तो भयो,’ चराविद् दिनेश गिरीले भने, ‘यसले जगदीशपुरको अस्तित्व संकटमा पर्छ ।’
कृत्रिम रूपमा बनाएको मुलुककै सबैभन्दा ठूलो तालको विजोगको दिन सुरु हुन थालेकामा चिन्तित बनाएको उनले बताए । ‘रामसार क्षेत्रले तालको बुद्धिमत्तापूर्ण उपयोग भनेको छ,’ जुलोजिकल सोसाइटी अफ लन्डनका नेपाल च्याप्टर प्रमुख हेमसागर बरालले भने, ‘तर, यस्तो संरचना बनाउने होइन । योजना बनाएर चरा र जैविक विविधतालाई असर नगर्ने गरी काम गर्नुपर्छ ।’
पैदल मार्ग निर्माणको काम कल्पवृक्ष–जलुकेनी जेभी काठमाडौंले गरिरहेका छन् । कपिलवस्तु नगरपालिका ९ का वडाध्यक्ष शिवबहादुर वाग्ले तालमा संरचना निर्माणको पक्षमा छन् । राम्रो कामका लागि कहिलेकाहीँ आँखा चिम्लिनुपर्ने उनले बताए ।
जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च अध्यक्ष ललित गुरुङले तालले विकासको ठूलो अवसर पाएकाले यसलाई गुमाउन नहुने बताए । ‘यसले चरालाई असर पुर्याउँदैन,’ उनले भने । ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको थियो । चराहरूको स्वर्ग मानिने ताल मुलुकको प्रमुख पर्यटकीय आकर्षणमा पर्नेमध्येको हो । सरकारले उक्त ताललाई प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्य घोषणा गरेको छ ।
यहाँ जाडोका बेला बसाइँ आउने पानी चरा (विन्टर वर्ड) हेर्न पर्यटक लोभिन्छन् । हिउँदमा एकै बथानमा हजारौं चरा देखिन्छन् । तालमा १ सय ६७ बढी प्रजातिका चरा, आठ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने आईयूसीएनले गरेको अध्ययनले देखाएको छ ।
विश्वमै दुर्लभ मानिएका आठ प्रजातिका चरा यहाँ देख्न पाइन्छ । जाडोमा तालमा ४४ प्रजातिका पानीचरा सजिलै देख्न सकिन्छ । नेपालमा पाइने रैथाने चराका २७ प्रजातिका लागि पनि ताल महत्त्वपूर्ण क्षेत्रको रूपमा छ ।
सदरमुकाम तौलिहवादेखि ११ किमि उत्तर कपिलवस्तु नगरपालिका–९ र १० मा पर्नर् ेजगदीशपुर ताल कृत्रिम रूपमा बनाइएको मुलुकै ठूलो जलाशय हो ।
प्रकाशित : श्रावण ३०, २०७६ ०९:५८