अवैध बालुवा उत्खनन् : खाडलमा पर्दै छन् श्रमिक

कृष्ण थापा, हरिहरसिंह राठौर

नुवाकोट र धादिङ — नुवाकोट र धादिङका त्रिशूली, कोल्पुखोला, गल्छी, बैरेनी, चिरौंदी, बेल्खु, जहरेखेत, बन्सेटार, पोखरे, गलौंदीलगायत नदी/खोलामा बालुवा झिक्ने क्रम तीव्र भएको छ । बालुवा झिक्न बनाइएका ठूल्ठूला खाल्डामा डुबेर बर्सेनि थुप्रैको ज्यान गइरहेको छ । खोला किनारमा राखिएका क्रसर उद्योगहरु नवीकरण नभए पनि खुलेआम सञ्चालन भइरहेका छन् ।

  • नुवाकोटको ककनी गाउँपालिका १, ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैध रूपमा बालुवा झिकिएको खाल्डामा पौडी खेल्दा सोमबार साँझ स्थानीय १३ वर्षीया विनिता बलामीको मृत्यु भयो । उनी डुबेको देखेर बचाउन जाँदा सिन्धुली फिक्कल गाउँपालिका ३ की ३५ वर्षीया लक्ष्मी तामाङ पनि डुबिन् । उनी बालुवा झिकेर जीवन निर्वाह गर्दै आएकी थिइन् । मृतकका आफन्तले क्षतिपूर्तिको माग्दै शव उठाउन दिएनन् । मंगलबार अपराह्न दुई जनाका परिवारलाई २५/२५ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । ककनी गाउँपालिका उपाध्यक्ष सीता खतिवडा लामा, वडा १ र २ का अध्यक्ष र प्रहरीको रोहवरमा भएको सहमतिअनुसार हाललाई एक लाख दिने र बाँकी ३५ दिनभित्र दिने सहमति भएको छ । डोजर साहु धादिङका रामकृष्ण रेग्मीले ३३ लाख रुपैयाँ, बालुवाका ठेकेदार मोहनकृष्ण श्रेष्ठ बलामीले ११ लाख, बालुवा डम्पिङ गर्ने जग्गा धनी राजेन्द्र बलामीले ६ लाख रुपैयाँ बेहोर्ने सहमति भएपछि शव आफन्तले बुझेका छन् ।

  • धादिङमा बालुवा निकाल्ने क्रममा खाल्डामा पसेका बेला मंगलबार खोटाङको बडापोखरी–१ का १९ वर्षीय चन्द्रमणि राईलाई त्रिशूली नदीले बगाएको छ । गल्छी गाउँपालिकास्थित चिरौंदी बगरमा बालुवा निकाल्दै गर्दा राईलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । स्थानीय र प्रहरीले उनको खोजी गरिरहेका छन् । बहाव अत्यधिक भएकाले खोजी गर्न असहज भएको प्रहरीले जनाएको छ ।


  • ०७६ साउन २५ गते बालुवा झिक्न रातभर डोजरले खनेको खाल्डोमा डुबेर गजुरीमा दुई युवकको मृत्यु भयो । गजुरी–६ स्थित दरियाल खोलामा खनिएको गहिरो खाल्डामा डुबेर गजुरी–७, भस्मेडाँडाका २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको ज्यान गएको हो । थुन्सेमा बालुवा बोकेर गुजारा गर्ने उनीहरू खोला छेकेर डोजरले खनेको खाल्डामा डुबेका थिए ।


  • ०७६ असार ४ मा बेनिघाट रोराङ गाउँपालिका– २ स्थित मलेखु खोलामा बालुवा झिकेको खाल्डामा परेर बेनीघाट २ का १२ वर्षीय छन्द गिरीको मृत्यु भयो । स्थानीयको आन्दोलनपछि गाउँपालिकाले मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिएर घटना सामसुम बनायो ।


  • ०७५ भदौ १४ गते गजुरी–६, बेल्खुस्थित त्रिशूली नदीमा स्काभेटरले बालुवा झिकेको खाल्डामा डुबेर सिद्धलेक गाउँपालिका–७ का २८ वर्षीय प्रकाश थापामगरको मृत्यु भयो ।


  • ०७५ असोज २ मा नुवाकोट र धादिङ सिमानास्थित कोल्पुखोलामा बालुवा झिकेको खाल्डोमा डुबेका धुनिबेसी–३ का ११ वर्षीय मनीष तामाङको शव फेला पर्‍यो । मावली हजुरआमाको आश्रयमा बस्दै आएका उनी साथीसँग माछा मार्न जाँदा भदौ २९ गते बालुवा व्यापारीले खोतलेको खाल्डोमा डुबेका थिए । बालकका हजुरबुबालाई आर्थिक लेनदेनमा चुप लगाइएको चर्चा चले पनि रकमबारे गुपचुप राखियो ।


  • ०७५ चैत १३ मा चिरौंदीकै खाल्डोमा डुबेका २० वर्षीय रवीन राईको शव भोलिपल्ट फेला परेको थियो । गल्छी–१, कल्लेरीटारका राई त्रिशूलीमा पौडी खेल्न जाँदा डुबेका थिए । खाल्डामा जमेको लेदोका कारण निस्कन सकेनन् ।


खाल्डामा डुबेर नुवाकोटको ककनीमा अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ । त्रिशूलीमा बालुवा झिक्दा बगेर दुई जनाको ज्यान गएको छ भने ढिस्कोले पुरिएर ३ जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ । धादिङका त्रिशूली नदी र स्थानीय खोलाका खाल्डामा परेर ५ वर्षमा धादिङमा मात्रै ४९ जनाको मृृत्यु भएको प्रहरीको तथ्यांक छ । धादिङको थाक्रे गाउँपालिका र धुनेबेसी नगरपालिका तथा नुवाकोटको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाको बीचबाट कोल्पुखोला बग्छ ।

उक्त खोलामा अवैध रूपमा बालुवा झिकेर रातारात काठमाडौं लगी बेच्ने गरिएको छ । कोल्पुखोलाभरि दुई दर्जनभन्दा बढी खाल्डा छन् । खाल्डोमा परेर कसैको ज्यान नजाओस् भनेर नियमन गर्न लागिएको ककनी गाउँपालिका १ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले बताए । ‘गाउँपालिका, प्रहरी र प्रशासनले नियन्त्रण गर्नुपर्‍यो नि,’ उनले भने, ‘स्थानीयले घर बनाउने भनेर लुकाइलुकाइ बेच्छन् के गर्नु ? मलाई समेत बालुवामा लगानी छ भनेर आरोप लगाउने गरेका छन् । म नियमन गर्न लागिपरेको छु ।’

खोलामा ३० वटाभन्दा डोजरले जथाभावी बालुवा झिक्छन् । माथिबाट बगेर आएको बालुवा जम्मा गर्न ठाउँ–ठाउँमा खाल्डा बनाइएको छ । गाउँपालिका अध्यक्ष मानबहादुर लामा यस्ता अवैध कार्य रोक्न लागिपरेको बताउँछन् । ‘अवैध कार्य गर्न हुँदैन भनेको छु,’ उनले भने, ‘त्यति धेरै रकम मृतक परिवारलाई तिर्न परेपछि त चेत्लान् कि ?’ उनले अवैध खाल्डो पुर्न लगाउने बताए । बेलकोटगढी नगरपालिकाले असार–भदौसम्म बालुवा नझिक्न भनेको छ तर डोजरले खाल्डो पारेर बालुवा झिक्न छाडेका छैनन् ।

‘रातिराति झिक्छन्,’ मेयर राजेन्द्ररमण खनालले भने, ‘धादिङपट्टिबाट बढी जोड गरेर झिक्छन् । जाने बाटो राम्रो छैन । नियन्त्रण गर्न खोजेका छौं ।’ नगरपालिकाले साढे १० करोड रुपैयाँमा ढुंगा, गिट्टी र बालुवा निकासी गर्न ठेक्का दिएको छ । ‘ठेकेदारले निकासी कर लिने हो,’ उनले भने, ‘यही महिना कर उठाऊ भनेर दिएको होइन ।’ उनले अवैध ढुंगा, गिट्टी र बालुवा झिक्नेलाई स्थानीय प्रशासनले कडाइ गर्नुपर्नेमा जोड दिए ।

प्रजिअ द्रोण पोखरेलले अवैध उत्खनन नियन्त्रण गरेको बताए । ‘हामीले नियन्त्रण गरेका छौं,’ प्रजिअ पोखरेलले भने, ‘अवैध कार्य गर्नेलाई छोडदैनौं ।’ जिल्ला समन्वय समितिले भने नियन्त्रण गर्न खोजेको जनाएको छ । ‘नियमन गर्ने अधिकार अहिले स्थानीय तहलाई छ,’ जिसस प्रमुख सन्तमान तामाङले भने, ‘उहाँहरूलाई राखेर कडाइसाथ नियन्त्रण गर्न भन्ने निर्णय गरेका छौं ।’

नदीजन्य पदार्थ उत्खनन कार्यविधिअनुसार स्थानीय तहका अध्यक्ष स्थानीय संयोजक छन् तर उत्खनन रोकिएको छैन । अवैध क्रसर उद्योग खोलेर एक्साभेटर प्रयोग गरी एकै रातमा ६/७ लाख रुपैयाँसम्मको बालुवा झिक्ने गरेको स्थानीयको आरोप छ । स्थानीय प्रशासन र प्रहरीलाई पटक–पटक उत्खनन नियन्त्रणका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको उनीहरू बताउँछन् ।

दुई दर्जन अवैध क्रसर
नुवाकोटमा मात्रै करिब २ दर्जन क्रसर छन् । ती सबै अवैध रूपमा सञ्चालन भइरहेका छन् । ०७४ फागुनमा सर्वोच्च अदालतमा क्रसर र फिरफिरेको विषयमा परेको मुद्दा विचाराधीन छ । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा दर्ता भई नवीकरण नभएका ९ वटा क्रसर छन् । त्यसमध्ये जालपादेवी रोडाढुंगा उद्योग बन्द छ भने नाट्यश्वरी रोडाढुंगा उद्योगले भूकम्पपीडितका लागि भनेर उच्च अदालतबाट स्वीकृति ल्याएको छ । त्यो पनि मापदण्डअनुसार छैन । उक्त क्रसर खोला किनार र पक्की पुल छेउमा छ । ‘मुद्दा परेका ८ वटा क्रसरको मुद्दा सर्वोच्चमा छ,’ समितिका निर्देशक विजय भट्टराईले भने, ‘तिनको नवीकरण भएको छैन ।’

विनपा ५ को बर्डस्टोन र लिखु गाउँपालिका १ को सूर्यकुण्ड रोडाढुंगा उद्योग सञ्चालनमै छन् । विशाल रोडाढुंगा उद्योग, हिमाल एग्रिगेट, त्रिशूली एग्रिगेट, बेलकोटको निञ्जना र श्रीएग्रिगेट रातोमाटे बन्द छन् । जिल्लामा ६० वटा फिरफिरे छन् । समितिमा दर्ता भएका ४९ वटा छन् । एउटा फिरफिरेले सञ्चालनको मागसहित सर्वोच्चमा मुद्दा दायर गरेको छ ।

तादीमा ९ वटा, लिखुमा १, फलाखुमा २, त्रिशूलीमा ६/७ र कोल्पुखोलामा क्रसर र फिरफिरे गरी ११ वटा क्रसर छन् । अधिकांश क्रसर उद्योग सडक निर्माण गर्ने र भूकम्पपीडितलाई ढुंगा, गिट्टी र बालुवा दिने भनेर सिधै खोलाछेउमा अवैध रूपमा सञ्चालन भइरहेका छन् । ०७३ असार मसान्तयता कुनै पनि उद्योग नवीकरण नभएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

अवैध बालुवा झिक्ने कार्य बेलकोटगढी नगरपालिका कोल्पुखोला, रातोमाटे, महादेवफाँट, काशीटार, विनपा ५ को तादी भन्ने पीपलटार मुनि, देवीघाट नयाँपुल, विनपा ६ को चण्डीपोखरी, विनपा ४ सिमचौर, विनपा ८ सामरी खोला राइसिङ, किस्पाङ ५ मनकामना, लिखु गापाको ४ को रानीबार, गणखार, ढुडे, छहरे लगायतका स्थानमा झिक्ने गरिएको छ ।

क्रसर उद्योग सञ्चालन गर्न दिन माग गर्दै त्रिशूली बालुवा प्रशोधन उद्योगले जिल्ला प्रशासनलाई विपक्षी बनाउँदै सर्वोच्चमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा न्यायाधीशहरू मीरा खडका र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले ०७५ असार ३१ मा खोलामा सञ्चालित क्रसर तत्काल बन्द गर्न आदेश दिएको थियो । आदेशमा भनिएको थियो, ‘त्रिशूली र तादी नदीबाट गैरकानुनी रूपमा उत्खनन र सञ्चालन गरिएको रोडा, ढुंगा, बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न नदिनू, तत्काल बन्द गराई वातावरण संरक्षण गर्नू ।’

जनप्रतिनिधि उम्कँदै
वर्षाको उर्लंदो त्रिशूलीमा बालुवा झिक्न युवाको होडबाजी हुन्छ । बालुवा झिकेर दैनिक ३ देखि ४ हजारसम्म कमाइ गर्ने स्थानीय मात्रै हैन, अन्य जिल्लाका युवा पनि जेठ–असारमै आएर समूहमा डेरा जमाएर बसेका हुन्छन् ।

त्रिशूली नदीमा कोल्पुखोला, गल्छी, बैरेनी, चिरौंदी, बेल्खु, जहरेखेत, बन्सेटार, पोखरे, गलौंदीलगायतका नदी मिसिने घुम्तीहरू बालुवाका खानी मानिन्छन् । नदी किनारका यी स्थानमा लगातार आएर थुप्रने बालुवा झिकेर मजदुरले दैनिक करिब ५ सय टिपर बालुवा बिचौलियालाई बेच्छन् । नदीबाट झिकिएको बालुवा धुन नपर्ने भएकाले अब्बल मानिन्छ ।

उर्लंदो नदीबाट बालुवा झिक्दा सुरक्षा सतर्कता नअपाउने र असावधानीले हरेक वर्ष कम्तीमा ४ जनासम्म मजदुरको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ । नदीजन्य पदार्थ उत्खनन गर्ने मजुदर मात्रै नभएर स्थानीयवासी, पौडी खेल्न आएका बालबालिका, पानी पिउन झरेका गाईबस्तुसमेत नदी किनारमा बनाइएका खाल्डामा डुब्ने गरेका छन् ।

‘बालुवा झिक्न नदी किनार पस्दा कम्तीमा लाइफ जाकेट लगाए जोखिम कम हुन्थ्यो,’ गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले भने, ‘हामीले मजदुर तथा बालुवा खरिद गर्नेलाई उर्लंदो नदीमा पस्दा न्यूनतम सुरक्षा सतर्कता अपनाउन सचेत गराएका छौं ।’

विगतमा जिल्ला विकास समितिको निर्णयबमोजिम नदीको सतह र धार परिवर्तन हुने गरी नदीबाट उपकरण प्रयोग गरी गिटी बालुवा झिक्न रोक लगाएको थियो । स्थानीय प्रशाासनको बेवास्ताले उक्त मापदण्ड लागू हुन सकेको छैन । त्रिशूली नदीबाट रातिको समयमा एस्काभेटरलगायत उपकरण प्रयोग गरेर बालुवा निकाल्ने क्रम नरोकिए पनि स्थानीय प्रशासन र प्रहरी मौन बसेको स्थानीयवासीको आरोप छ ।

धादिङको गल्छी र गजुरी गाउॅपालिकामा पर्ने त्रिशूली नदी खण्डका विभिन्न स्थानमा रातिको समयमा ठूला मेसिन प्रयोग गरेर बालुवा झिक्ने गिरोह नै सक्रिय रहेको र त्यस्ता गिरोहलाई समात्न प्रशासन मौन बसेको उनीहरूले बताउँछन् ।

नदीजन्य पदार्थको जिल्ला अनुगमन समिति संयोजकसमेत रहेका जिल्ला समन्वय समिति संयोजक जगन्नाथ नेपालले प्रदेश सरकारले यससम्बन्धी कानुन पारित गर्न ढिलाइ गरेकाले बेथिति बढेको बताए । ‘कानुन बन्न ढिला भएकाले बालुवा उत्खनन्मा बेथिति बढेको छ’ उनले भने ।

प्रकाशित : श्रावण ३०, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

बालिका बेचबिखन आरोपमा बालमन्दिरकै निर्देशक पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — बालिका बेचबिखनमा सहयोगी भूमिका खेलेको आरोपमा प्रहरी परिसर काठमाडौंले बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई पक्राउ गरेको छ ।

केही दिनअघि अर्काको सन्तानलाईआफ्नो छोरी बनाएर लैजाने प्रयास गरेकी बेलायती नागरिक डिना स्मिथलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले रोकेको थियो ।

स्मिथले ललितपुरको महालक्ष्मी नगरपालिकाले बनाइदिएको शिशु जन्मदर्ता कागजका आधारमा काठमाडौंस्थित बेलायती दूतावासबाट राहदानी निकालेर बच्चा लैजान खोजेकी थिइन् । प्रहरीसँग बयानमा स्मिथले बाल संगठनका निर्देशक बालकृष्ण डंगोलको सहयोगमा बच्चा हात पारेको र त्यसपछि आवश्यक कागजपत्र बनाएको बताएपछि प्रहरीले बालकृष्णलाई पक्राउ गरेको हो ।

बच्चा लिनकै निम्ति स्मिथ २६ जुलाईमा काठमाडौं आएकी थिइन् । प्रहरीका अनुसार स्मिथले लैजान खोजेकी बालिका २८ जुलाईमा गर्भपतन केन्द्रमा जन्मिएको देखिन्छ । उनको गतिविधि शंकास्पद देखिएको कागजात भेटिएपछि विमानस्थल अध्यागमनले बेलायत जान रोकेको थियो । त्यतिखेर स्मिथले बच्चा आफूले नै नेपालमा जन्माएको झूटो दाबी गरेकी थिइन् ।

अध्यागमन अधिकारीले थापाथलीको परोपकार प्रसूति गृहमा उनको स्वास्थ्य परीक्षण गरेपछि स्मिथ गर्भवती नरहेको र सन्तान नजन्माएको प्रमाणित भएको थियो । त्यसपछि बयान फेर्दै उनले काठमाडौंकै एक गर्भपतन केन्द्रमा जन्मिएको बच्चा आफूले लैजान लागेको बताएकी थिइन् । स्रोतका अनुसार राजधानीकै एक गर्भपतन केन्द्रले बाल मन्दिरमा राख्ने गरी उक्त बच्चा डंगोललाई जिम्मा लगाएको थियो ।

तर डंगोल ललितपुरको महालक्ष्मी नगरपालिका मूल घर भई बेलायत बस्ने राम श्रेष्ठमार्फत स्मिथसँग सम्पर्कमा पुगेका थिए । स्रोतका अनुसार राम र स्मिथ बेलायतमा लामो समयदेखि बस्दै आएका छन् । स्मिथले धर्मपुत्रीको चाहना गरेपछि रामले उनलाई डंगोलसँग सम्पर्क गराइदिएका थिए ।

प्रहरीका अनुसार डंगोलले काठमाडौं उपत्यकामा रहेका गर्भपतन केन्द्रहरूमा सम्पर्क राखेर अनिच्छापूर्वक वा करकापजन्य परिस्थितिमा जन्मिएका बच्चाको विवरण तयार पार्दै आएको अनुसन्धानले देखाएको छ । डंगोलले गर्भपतन केन्द्रमा बच्चा जन्मिने समय अगावै धर्मपुत्र वा धर्मपुत्री चाहिरहेका विदेशी खोज्थे । त्यस्ता विदेशीलाई नेपाल बोलाएर फर्जी कागजातका आधारमा विदेश पठाउने भूमिका खेल्थे । स्मिथलाई बच्चा लैजान डंगोलले नै ललितपुरको महालक्ष्मी नगरपालिकाका केही कर्मचारीलाई पनि उपयोग गरेका थिए । स्रोतले भन्यो, ‘स्मिथसँग मात्रै डंगोलले चार लाख रुपैयाँ लिएको खुलेको छ ।’

उनले स्मिथका देवरबाट ४ लाख रुपैयाँ नगद बुझेको सीसीटीभी फुटेज पनि प्रहरीले प्राप्त गरेको छ । सोझै बैंक खातामा रकम हाल्दा वा चेक बुझदा प्रमाण रहने डरले डंगोलले स्मिथका देवरसँग नगद रकम बुझेका थिए । काठमाडौंको एक बैंकबाट रकम बुझेर देवरले डंगोलको हातैमा रकम थमाइदिएका थिए । प्रहरी स्रोतले भन्यो, ‘डंगोलको अस्वाभाविक सम्पत्तिबारे पनि छानबिन आकर्षित हुन सक्ने देखिन्छ ।’ प्रहरीका अनुसार डंगोलले बच्चा लैजानका निम्ति सबै कागजात सजिलै मिलाइदिने भन्दै स्मिथलाई आश्वस्त तुल्याएको देखिन्छ ।

प्रहरी परिसर काठमाडौंका अनुसार स्मिथविरुद्ध मानव बेचबिखनको मुद्दा चलाउने प्रक्रिया अघि बढेको छ । डंगोलका हकमा बुधबारै जिल्ला अदालत काठमाडौंबाट ५ दिन थुनामा राखी अनुसन्धान गर्ने अनुमति लिएको छ । परिसरका डीएसपी होबिन्द्र बोगटीले डंगोलविरुद्ध मानव बेचबिखन कसुरमा मुद्दा चलाइने बताए । अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले विदेशी नागरिकले फर्जी कागजातका आधारमा धर्मपुत्री भन्दै बच्चा लिएर जाने घटना गम्भीर भएको बताए ।

उनले यस्ता घटनामाथि गम्भीर निगरानी गरिरहेको बताए । केही महिनाअघि मात्रै काठमाडौंस्थित दक्षिण कोरियाली दूतावासबाट फर्जी पत्रका आधारमा आवश्यक कागजात बनाएर एक कोरियाली महिलाले नेपाली बच्चा लैजान खोजेकी थिइन् । त्यतिबेला पनि अध्यागमनका अधिकारीले ती कोरियालीलाई विमानस्थलबाटै फर्काइदिएका थिए ।

प्रहरीले स्मिथले कसरी वडा कार्यालयबाट जन्मदर्ताको कागजात बनाइन्, त्यसका निम्ति क–कसले कसरी सहयोगी भूमिका खेल्यो भन्नेबारे पनि अनुसन्धान अगाडि बढाएको छ । प्रहरी परिसर काठमाडौंका एक अधिकारीले काठमाडौंस्थित बेलायती दूतावासले कसरी बच्चाको राहदानी बनाइदियो भन्नेबारे पनि बुझ्ने काम थालिएको बताए ।

काठमाडौंस्थित बेलायती दूतावासले अन्ना बेला लक्ष्मी स्मिथ श्रेष्ठको नाममा बालिकाको राहदानी बनाएको जनाएको छ । अध्यागमन विभाग स्रोतका अनुसार काठमाडौंस्थित बेलायती दूतावासले स्मिथको प्रकरणमा शंकास्पद चासो देखाएको बतायो । स्रोत भन्छ, ‘स्मिथलाई बच्चा लिएर नेपालबाट जाने काममा सहजीकरण गरिदिनका लागि दूतावासले अध्यागमनलाई पत्र नै लेखेको छ ।’ बालिकालाई अहिले कान्ति बाल अस्पतालमा राखिएको छ ।

प्रकाशित : श्रावण ३०, २०७६ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्