१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

किन सार्वजनिक गरिएन प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट ?

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली १० दिन सिंगापुरमा उपचार गरेर फर्केको दुई दिन बितिसक्दा पनि सरकारले उनको स्वास्थ्य रिपोर्ट सार्वजनिक गरेको छैन । मुलुकको कार्यकारी प्रमुखको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी नगराइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । 

किन सार्वजनिक गरिएन प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट ?

सिंगापुरबाट गत सोमबार फर्केपछि प्रधानमन्त्री ओलीले टवीटरबाट स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेका थिए । कार्यकारी प्रमुख के समस्याका कारण स्वदेशमै उपचार नभएर विदेश जानुपर्‍यो र उपचारपछिको अवस्था कस्तो छ भन्नेमा पारदर्शी हुनुपर्ने आवाज सामाजिक सञ्जालमा उठिरहेको छ ।

‘प्रधानमन्त्रीको स्वास्थ्यमा खराबी थियो भने के थियो ? के सुधार भयो ? सार्वजनिक व्यक्ति भएकाले उहाँले सार्वजनिक गर्दा राम्रो हुनेथियो,’ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भने, ‘चासो प्रकट हुन थालेपछि प्रधानमन्त्री कार्यालय वा सचिवालयले जानकारी दिनुपर्थ्यो  ।’

सरकारले सार्वजनिक पदमा रहेका लगायत कुनै पनि व्यक्तिको विदेशमा हुने उपचार खर्च नव्यहोर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने जानकारी उनी सिंगापुर प्रस्थान गरेकै दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले औपचारिक रूपमै गराएका थिए । ‘प्रधानमन्त्रीको टोलीमा रहेका सबैको हवाई भाडा, कर्मचारीको दैनिक भ्रमणभत्ता र होटल खर्चमात्र सरकारले व्यहोर्छ, प्रधानमन्त्रीको उपचार खर्च र भ्रमण दलका सदस्यको खर्चसमेत प्रधानमन्त्री स्वयंले व्यहोर्नु हुन्छ,’ बाँस्कोटाले भनेका थिए ।

सबैको हवाई भाडा र ओलीको भ्रमण दलमा सामेल सरकारी कर्मचारीका लागि सरकारले व्यहोरेको खर्च सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीका साथमा श्रीमती राधिका शाक्य, निजी चिकित्सक, प्रधानमन्त्रीका स्वकीय सचिव, प्रमुख राजनीतिक सल्लाहकार र सुरक्षाकर्मी गएका थिए । ‘खर्च कति भएको हो, सरकारले स्पष्ट गर्नुपर्छ,’ रेग्मीले भने, ‘सामान्य उपचार नभएकाले उहाँ त्यहाँ जानुभयो । त्यसैले त्यहाँ जाँदा र उपचार गराउँदाको सम्पूर्ण अवस्था बाहिर ल्याउनुपर्छ ।’

प्रधानमन्त्रीले आफैं उपचार खर्च व्यहोर्ने भनिए पनि अरू कसैले व्यहोरिदिएको आशंकासमेत उब्जिएको छ । सिंगापुर सरकारले व्यहोरिदिएको हो कि अन्य कुनै व्यक्तिले हो भन्ने आशंका जन्माउने केही आधार सतहमा देखिएका छन् । प्रधानमन्त्रीको उपचारका बेला मेडिकल व्यापारी बसरुद्दिन अन्सारी र जनसम्पर्क सल्लाहकार अच्युत मैनाली सिंगापुरमै थिए । उनीहरूले प्रधानमन्त्रीको खर्च व्यहोरिदिएको आशंका गर्नेहरू पनि छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘प्रधानमन्त्रीको अब्बल स्वास्थ्य परीक्षणका लागि ‘एनएचयू’ लाई धन्यवाद, हार्दिक आतिथ्यताका लागि सिंगापुर सरकार र जनताप्रति आभार’ भनेर टवीट गरेका छन् । यसबाट सिंगापुर सरकारले प्रधानमन्त्रीलाई औपचारिक रूपमा आतिथ्यता गरेको कि व्यक्तिगत भन्ने प्रश्न पनि उठेको छ ।

सार्वजनिक पदमा बसेका व्यक्तिहरूका हरेक गतिविधि जान्न पाउने नागरिकको हक हुन्छ । यस्ता संवेदनशील विषयका सूचना सार्वजनिक निकाय र व्यक्तिले बाहिर ल्याउनु उपयुक्त हुने राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख विनयकुमार कसजूले बताए । ‘प्रधानमन्त्री सार्वजनिक व्यक्ति हो । त्यसैले उहाँसंँग सम्बन्धित सूचना जान्न पाउने अधिकार हुन्छ,’ उनले भने । उनले रोगका विषयमा भने सार्वजनिक गर्नुपर्ने बाध्यता नरहने बताए । ‘आफ्नो रोग गोप्य राख्न पाउने अधिकार प्रधानमन्त्रीलाई पनि हुन्छ,’ उनले भने, ‘तर उपचार प्रक्रिया र त्यसको खर्चलगायत विषयलाई सार्वजनिक गर्दा राम्रो हुन्छ ।’

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । उनले पछिल्लो समय सैनिक अस्पताल छाउनीमा परीक्षण गराउँदा केही समस्या बढेपछि चिकित्सकहरूले विदेशमा जान सल्लाह दिएका थिए । त्यही आधारमा ओली सिंगापुर गएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने विरोधका लागि विरोध गर्ने शैलीबाट मात्र प्रधानमन्त्रीको उपचारको विषय उठाइएको बताए । ‘प्रधानमन्त्रीले पहिले पनि त्यहाँ उपचार गराउनुभएको थियो । त्यसैले अहिले एकपटक त्यहीं जाने भन्ने चिकित्सकहरूको सल्लाहअनुसार जानुभएको हो, उहाँले म ठीक छु, स्वस्थ छु भनेपछि योभन्दा थप स्पष्ट पार्नुपर्ने के छ र ?’ अर्यालले भने, ‘उपचारको खर्च व्यक्तिगत रूपमा गरिएको हो ।’ उनले यो विषय कुनै अपारदर्शी नभएको दाबी गरे ।

प्रकाशित : श्रावण ३०, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?