कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कांग्रेसले १२ सयलाई कारबाही गर्दै 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेका १ हजार २ सय स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । 

कांग्रेसले १२ सयलाई कारबाही गर्दै 

केन्द्रीय सदस्य भीष्म आङदेम्बेको नेतृत्वमा गठित अनुशासन समितिले आरोपित सबैलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको छ ।


केन्द्रीय कार्यसमिति बैठकमा बुधबार प्रस्तुत अनुशासन समितिको कार्य प्रगतिसम्बन्धी प्रतिवेदन पारित गरेपछि कारत्राही प्रक्रिया अघि बढ्नेछ । समितिले पत्र काटेको ३५ दिनभित्र अनुशासन समितिमा स्पष्टीकरण दिनुपर्नेछ ।


पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार, प्रस्तावक, समर्थक र अन्य पार्टीमा गएर उम्मेदवार बनेका र तिनका प्रस्तावक र समर्थक नेता तथा कार्यकर्तालाई भने यसअघि नै पार्टीबाट ५ वर्षका लागि निष्कासन गरिएको छ । विधानमा यस्ता व्यक्तिहरू स्वतः पार्टीबाट निष्कासन हुने व्यवस्था छ । ३२ जिल्लाका २ सय ९८ जना यसरी निष्कासन भएका हुन् ।


समितिले स्वतः निष्कासन हुनेबाहेकका उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन लागेको हो । समितिले यसअघिका उजुरी तथा गुनासोलाई समेत छानबिनको दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाउने छ । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा अन्तर्घात गरेकाहरूविरुद्ध तत्कालीन समितिले कारबाहीको प्रक्रिया अघि बढाउँदाबढाउँदै छाडेको थियो । तत्कालीन समितिले कारबाही गर्नुपर्ने भनी किटान गरेका १ सय ५४ मध्ये २४ जनाले मात्रै स्पष्टीकरण दिएका थिए ।


७७ जिल्लामध्ये २८ जिल्लाबाहेक सबैबाट कारबाहीको उजुरी अनुशासन समितिमा परेको छ । ती उजुरीलाई समितिका सदस्यहरूले डेढ महिना लगाएर अध्ययन गरेका थिए । प्रमाण र तथ्यका आधारमा कारबाही गर्नुपर्ने व्यक्तिहरूमाथि स्पष्टीकरण प्रक्रिया अघि बढाउन लागिएको समितिका एक सदस्यले कान्तिपुरलाई बताए ।


उपनिर्वाचनमा प्रतिनिधि खटाउने

कांग्रेसले मंसिर १४ गते ३६ जिल्लाका रिक्त विभिन्न पदमा हुने उपनिर्वाचनका लागि पार्टीबाट केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ । प्रतिनिधिसभाको १, प्रदेश निर्वाचन क्षेत्रको ३ सहित स्थानीय तहमा रिक्त पदको निर्वाचन हुँदै छ । त्यसका लागि केन्द्रीय प्रतिनिधि खटाएर माहोल पक्षमा ल्याउन कांग्रेस केन्द्रीय सदस्यहरूले बैठकमा नेतृत्वलाई सुझाव दिएका थिए ।


तनहुँको समानान्तर समिति अवैधानिक

तनहुँमा पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको संरक्षकत्वमा गठित समानान्तर समितिलाई बैठकले अवैधानिक ठहर गर्दै त्यस्तो गतिविधिमा लाग्नेउपर कारबाही गर्ने निर्णय लिएको छ । ‘तनहुँ जिल्लामा देखिएको यस किसिमको अवैधानिक र पार्टी अनुशासनको गम्भीर उल्लंघनको गतिविधिमा संलग्न पार्टीका सदस्यउपर विधान र नियमावलीअनुसार आवश्यक निर्णय गर्नका लागि केन्द्रमा प्राप्त उजुरी सहितको फायल र सबै कागजात केन्द्रीय अनुशासन समितिमा पठाउने,’ निर्णयमा भनिएको छ ।


वैकुण्ठ न्यौपाने सभापति र जितप्रकाश आले कार्यवाहक सभापति रहेको जिल्ला कार्यसमिति र मातहतका निकायहरू मात्रै कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमिति रहेको कांग्रेसले प्रस्ट पारेको छ । जोशीको निर्देशन र सहयोगमा तनहुँमा डिल्लीराम अधिकारीको अध्यक्षतामा कांग्रेसकै चारतारे झन्डा र रूख चिह्न प्रयोग गरी समानान्तर समिति गठन गरिएको छ ।


समान्तर शैलीमा कार्यक्रमसमेत सञ्चालन गर्दै आएपछि कारबाहीको माग राख्दै केन्द्रमा उजुरी परेको थियो । ‘अनधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको र कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लंघन र दण्डनीय कार्य भएकाले कांग्रेस पार्टीका कुनै पनि सदस्यहरू यस किसिमको भ्रममा नपर्न र पार्टीको आधिकारिक र वैधानिक निकायमा मात्र आबद्धता हुन अनुरोध गर्दछ,’ कांग्रेस बैठकको निर्णयमा उल्लेख छ ।


कांग्रेसले जिल्लास्थित प्रशासन कार्यालय तथा अन्य सरकारी, अर्धसरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्थाले पनि कांग्रेसको आधिकारिक जिल्ला कार्यसमिति र मातहतका निकायसँग मात्रै दलगत सम्बन्ध कायम राख्न र गतिविधि गर्न जानकारी गराएको छ ।

प्रकाशित : श्रावण ३०, २०७६ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?