१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्थानीय तहमा कर्मचारी अभाव

कर्मचारी समायोजनमा लामो समय लागेको र संघका कर्मचारी प्रदेश मातहतमा आउन नमान्दा प्रदेश तथा स्थानीय तहमा कर्मचारी अपुग 
कान्तिपुर संवाददाता

पाँचथर — कर्मचारीको अभावमा स्थानीय तहका काम प्रभावित बनेको छ । सदरमुकाम फिदिम नगरपालिकाका १४ वडाहरूका कार्यालयमा कर्मचारी छैनन् । यहाँका अधिकांश वडा कार्यालयहरू कार्यालय सहयोगीका भरमा छन् । 

स्थानीय तहमा कर्मचारी अभाव

दरबन्दीअनुसार सहायकस्तरका कर्मचारी नहुँदा यस्तो अवस्था आएको हो । ‘कर्मचारीको अभाव चरम छ,’ फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार दाहालले भने, ‘नगर तथा वडामा कर्मचारी नहुँदा दैनिक काम प्रभावित हुने गरेको छ ।’ नगरपालिकामा एक उपसचिवसहित ५५ कर्मचारीको दरबन्दी छ । तर अहिले नगरपालिकामा ११ जनामात्र स्थायी कर्मचारी छन् ।


१५ जना करारमा नियुक्त गरिएका छन् । २९ कर्मचारी अहिले पनि दरबन्दीभन्दा कम छन् । नगरको प्रमुख कार्यकारी अधिकृतसमेत तीन महिनादेखि खाली छ । जिल्ला समन्वय समितिका समन्वय अधिकारी दाहाललाई नै नगरपालिका हेर्ने जिम्मा दिइएको छ । आवश्यक कर्मचारी अभावमा कार्यालयका दैनिक कामकारबाहीसमेत प्रभावित हुने गरेको छ ।


नगरपालिकामा लेखा अधिकृतसमेत छैनन् । पाँच जना सहायकस्तरका कर्मचारीको दरबन्दी रहेकोमा हाल १ जना मात्र कार्यरत छन् । सातौं र आठौं तहका अधिकृतको दरबन्दी भए पनि खाली छ । प्राविधिक कर्मचारी एक जनाबाहेक अन्य सबै करारमा नियुक्त गरिएको छ । फिदिम नगरका १४ वटा वडा रहेका छन् । वडा कार्यालयवाट सामाजिक सुरक्षा, पञ्जीकरण, योजनासम्बन्धी काम र दैनिक प्रशासकीय सेवा प्रवाह हुन्छ ।


कर्मचारी नहुँदा कार्यालय सहयोगीले नै यी सबै काम गर्दै आएका छन् । ‘स्थानीय तहलाई कर्मचारी भर्ना गर्न दिइँदैन,’ वडा १३ का अध्यक्ष टीकाप्रकाश नेम्वाङले भने, ‘सबै अधिकार दिने तर कार्यान्वयन गर्न कर्मचारी नै नदिने भएपछि जनताले कसरी सहज सेवा पाउन सक्छन् ?’


फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्री भएका कर्मचारीबाट जसोतसो काम गर्नुपर्ने अवस्था रहेको बताउँछन् । कर्मचारी समायोजनमा लामो समय लागेको र संघका कर्मचारी प्रदेश मातहतमा आउन नमान्दा प्रदेश तथा स्थानीय तहमा कर्मचारीको अभाव छ । लामो समयसम्म दरबन्दीअनुसारका कर्मचारी नहुँदा सबै खाले काम प्रभावित हुने गरेका छन् ।

प्रकाशित : श्रावण २९, २०७६ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?