३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

परिषदविरुद्ध माइक्रोबायोलोजीका विद्यार्थी आन्दोलित

कान्तिपुर संवाददाता

सुनसरी — धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा माइक्रोबायोलोजीमा अध्ययनरत विद्यार्थी बुधबार हातमा कालोपट्टी बाँधेर कक्षामा गए । नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपीसी) ले माइक्रोबायोलोजी अध्ययन गरेका विद्यार्थीलाई विभेद गरेको भन्दै सांकेतिक विरोधमा कालोपट्टी बाँधेका हुन् । 

परिषदविरुद्ध माइक्रोबायोलोजीका विद्यार्थी आन्दोलित

परिषदले ९ वर्षदेखि माइक्रोबायोलोजी अध्ययन गरेकालाई दर्ता प्रक्रियाबाट वञ्चित गरेको भन्दै विद्यार्थी आन्दोलित छन् । परिषदले स्वास्थ्य क्षेत्रका सीएमए, अहेब,अनमी, एचए, सीएमएलटी, बीएमएलटी र रेडियोलोजीलगायत विषय पढेकालाई दर्ता गरेर लोकसेवा आयोग, सरकारी सेवा र अन्य निजी तथा सरकारी अस्पतालमा सेवा गर्ने आधिकारिकता दिन्छ ।


रोग फैलाउने विभिन्न जिवाणु, विषाणु, परजिवी र ढुसीलगायतका बारेमा विस्तृत अध्ययन अध्यापन गरेर सरकारले तोकेको विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त गरेका माइक्रोबायोलोजिष्टहरुलाई दर्ता नगरेर परिषदले भविष्य अन्योलमा पारेको नेपाल सुक्ष्मजीव विज्ञान विद्यार्थी समाजका कोषाध्यक्ष दिवस अधिकारीले बताए । ‘समय, सम्पत्ति र अथक मेहेनत लगाएर त्रिविले तयार गरेको करिकुलमअनुसार चारवर्षे स्नातक माइक्रोबायोलोजी र दुई वर्षे स्नातकोत्तर अध्ययन गरी दक्षता हासिल गरेको प्रमाणपत्रलाई कागजको खोस्टा बनाउन परिषदलाई अधिकार छैन,’ उनले भने, ‘परिषदले माइक्रोबायोलोजी पढनेलाई पनि समेट्नुपर्छ ।’

त्रिविमा सेवा आयोग हुने भएकाले त्यहाँ काम गर्न परिषदको दर्ता प्रमाणपत्र चाहिदैन । तर, अन्य निकाय, विभिन्न अस्पताल, सरकारी तथा गैरसरकारी संघसंस्थामा काम गर्न परिषदले दिने प्रमाणपत्र मागिन्छ । परिषदको दर्ता नभएपछि मेधावी भएपनि माइक्रोबायोलोजी पढेकाहरू प्रतिस्पर्धा गर्नबाट वञ्चित छन् । त्यसैले विरोध गर्नु परेको विद्यार्थीहरुले बताए ।


भारतको कुनै शैक्षिक संस्थाबाट मेडिकल माइक्रोबायोलोजी पढेर आएकालाई परिषदले दर्ता प्रमाणपत्र दिने तर, नेपालमै पढेकालाई नदिनु अन्याय भएको क्याम्पसका माइक्रोबायोलोजी विभागका प्रमुख धिरेन लिम्बुले बताए ।


‘स्वदेशमै मेडिकल माइक्रोबायोलोजी पढेकालाई यसरी निरुत्साहित गरिनु हुँदैन,’ उनले भने, ‘यस्तो गर्नु भनेको मेडिकल माइक्रोबायोलोजी पढ्न विदेश जाउ भन्न खोजेको देखिन्छ ।’ नेपालमा माइक्रोबायोलोजीअन्तर्गत स्नातकोत्तर तहमा मेडिकल, पब्लिक हेल्थ, एग्रिकल्चर र फुड माइक्रोबायोलोजीको अध्ययन अध्यापन हुने गरेको छ । मेडिकल र पब्लिक हेल्थ माइक्रोबायोलोजीले स्वास्थ्य र रोग सार्ने सुक्ष्म जीवाणुको अध्ययन गर्ने गरेकाले परिषदमा दर्ता हुन माग गर्दै आएका छन् ।

प्रकाशित : श्रावण २९, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?