सुन तस्करीमा चिनियाँ संलग्नता बढ्दो

जेलमा रहेका चिनियाँमध्ये धेरैजसो संगठित सुन तस्करी र विदेशी मुद्राको अवैध ओसारपसारमा संलग्न छन् ।
जनकराज सापकोटा

काठमाडौँ — हङकङबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका २३ वर्षीय चिनियाँ नागरिक ली निङ ज साउन २० मा चार केजी सुनसहित पक्राउ परे । त्यसको करिब चार महिनाअघि मलद्वारमा साढे तीन किलो सुन लुकाएका तीन चिनियाँ नागरिक विमानस्थलबाटै समातिएका थिए । 

संगठित सुन तस्करीमा चिनियाँको शृंखलाबद्ध संलग्नता नेपालका लागि चासोको विषय बन्न थालेको छ। ०७२ को भूकम्पयता सुन र विदेशी मुद्रा तस्करीमा चिनियाँ संलग्नता बढेको छ। कारागार व्यवस्थापन विभागका अनुसार देशभरका जेलमा रहेका २३ हजार कैदीमा विदेशीको संख्या ११ सय ७२ छ। यिनमा चिनियाँ ९ जना छन्। तीमध्ये धेरैजसो संगठित सुन तस्करी र विदेशी मुद्राको अवैध ओसारपसारमा पक्राउ परेका हुन्।

०७४ भदौ १९ मा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्षेत्रपाटीको एक होटलबाहिर रोकिराखेको गाडीमा फल्स बटमभित्र लुकाइएको ८८ केजी सुन बरामद गरेको थियो। केरुङ नाका हुँदै भित्रिएको उक्त सुन ठमेलमै होटल सञ्चालन गरेर बसेका चिनियाँ नागरिक वान विई मिङको रहेको सूचना थियो। तर मिङ काठमाडौंबाट भाग्न सफल भए।

प्रहरीका अनुसार पछिल्लो दशकमा काठमाडौंलाई ट्रान्जिट बनाएर चीनबाट भारतीय बजारमा सुन तस्करी गर्नेमध्ये मिङ एक हुन्। उक्त घटना अनुसन्धान गरिरहेका एक उच्च प्रहरी अधिकारीले मिङकै सिको गर्दै अन्य केही चिनियाँले पनि गाडीमा फल्स बटम बनाएर केरुङबाट काठमाडौंमा सुन तस्करी गर्ने, यहाँबाट भारतीय बजारमा पुर्‍याउने कामलाई निरन्तरता दिएका थिए।

प्रहरी उच्च अधिकारीहरूका अनुसार चिनियाँको अपराध मुख्य गरी अवैध सुन, विदेशी मुद्रा ओसारपसार र हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटीमा केन्द्रित छ। चिनियाँ समाजमा प्रचलित परम्परागत औषधिमा प्रयोग हुने वन्यजन्तुको अंग, सल बनाउन प्रयोग हुने चिरु रौं तस्करीमा पनि उनीहरू संलग्न देखिन्छन्। चीनसँग निकटता र चिनियाँ पर्यटक बढेसँगै अपराधमा उनीहरूको उपस्थिति देखिन थालेको हो।

अनुसन्धान अधिकारीका अनुसार यी सबैखाले तस्करी र ओसारपसारको जालो जोडिएको छ। तस्करीको सुन बेचेर प्राप्त रकम चिनियाँले विदेशी मुद्रामा रूपान्तरण गर्ने र त्यसलाई अवैध रूपमा ओसारपसार गर्छन्।

०७३ माघ १ मा महानगरीय प्रहरी अपराध महाशाखाले केरुङ हुँदै तिब्बत जाने तयारीमा रहेका तीन चिनियाँलाई थानकोटबाट पक्राउ गर्‍यो। प्रहरीले उनीहरूको गाडीबाट ४ करोड ४० लाख रुपैयाँबराबरको विदेशी मुद्रा फेला पारेको थियो। महाशाखाले यो घटनालाई केरुङ नाका हुँदै भइरहेको अवैध सुन तस्करीको शृंखलासँग जोडेर हेरेको थियो।

गत मंसिरमा ड्रागन एअरबाट हङकङ उडन लागेकी ५० वर्षीया चिनियाँ नागरिक मिङ जाङ झन्डै ३५ हजार अमेरिकी डलर, ३ लाख २७ हजार कोरियन बन र १ हजार ८५ पाउन्ड स्टर्लिङसहित पक्राउ परेकी थिइन्।

प्रकाशित : श्रावण २९, २०७६ १९:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मुख्यमन्त्री शाही सहभागी कार्यक्रम नजिक दुई बम विस्फोट 

कान्तिपुर संवाददाता

सुर्खेत — गृहजिल्ला कालिकोटको एउटा कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पुगेका बेला नजिक जंगलमा बम बिस्फोट भएको छ ।

शाही पचालझरना गाउँपालिकाको गाउँसभालाई बुधबार खार्दुमा शाहीले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलदेखि करिब एक किलोमिटर पर दुईपटक बम विष्फोट भएको हो । घटनामा कुनै पनि क्षति छैन ।

विस्फोट नेत्रविक्रम चन्दका कार्यकर्ताले गराएको हुनसक्ने शंका प्रहरीको छ । मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहका अनुसार यसअघि गत जेठमा पनि शाही कालिकोटको पलाता गाउँपालिकामा पुगेका बेला चन्द समूहले बम विष्फोट गरेको थियो । घटनामा कुनै क्षति भने भएन ।

प्रकाशित : श्रावण २९, २०७६ १९:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×