कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

श्रीलाई अन्तर्राष्ट्रिय उडान अनुमति

सुरज कुँवर

काठमाडौँ — क्यानेडियन बम्बार्डियर कम्पनीका सीआरजे जेट विमानबाट ६ वटा आन्तरिक रुटमा उडान भर्दै आएको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएको छ ।

श्रीलाई अन्तर्राष्ट्रिय उडान अनुमति

श्रीका प्रबन्धक अनिल मानन्धरका अनुसार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्रीलाई नियमित उडानका लागि भारतको दिल्ली, कोलकाता, बैंङ्लोर र अहमदावाद तथा बंगलादेशको ढाकामा नियमित उडान अनुमति प्रदान गरेका हुन् । ६ महिनाअघि श्रीलाई यसै मन्त्रालयले चार्टर उडानको अनुमति दिएको थियो ।


‘बुधबार मन्त्रालयको अनुमति प्राप्त गर्‍यौं, अब चाँडै नियमित उडानका लागि अन्य सबै प्रक्रिया सकेर नियमित उडानको तालिका सार्वजनिक गर्ने छौं,’ प्रबन्धक मानन्धरले कान्तिपुरसँग भने । दुई वर्षदेखि काठमाडौंबाट भद्रपुर, विराटनगर, राजविराज, भैरहवा, नेपालगन्ज र धनगढीमा व्यावसायिक उडान गर्दै आएको निजी क्षेत्रको सबैभन्दा कान्छो श्री एयरलाइन्सले सोमबारमा काठमाडौंदेखि भारतको बनारसमा परीक्षण उडान सकेको थियो । श्रीसँग क्यानेडियन बम्बार्डियर कम्पनीका ५० सिट क्षमताका दुइटा सीआरजे–२०० र ७० सिट क्षमताका दुइटा सीआरजे–७०० जेट विमान छन् ।


यसले आन्तरिक उडानका लागि दुइटा टर्बोप्रोप बम्बार्डियर ड्यास ८–क्यू ४०० विमान पनि खरिद गरिसकेको छ । तर, ती विमान नेपाल ल्याउने अन्तरदेशीय रुट अनुमतिका कारण क्यानडामै छन् । श्री हाल बुद्ध र यतिपछि सर्वाधिक यात्रु सेवा दिने तेस्रो कम्पनी हो । २० वर्षअघि हेलिकप्टरबाट सेवा थालेको श्रीसँग ६ वटा एमआई १७ र दुईटा एयरबसका बीथ्री गरी ८ वटा हेलिकप्टर छन् । हेलिकप्टरमा अन्तर्राष्ट्रिय चार्टर उडान अनुमति प्राप्त गर्ने यो पहिलो कम्पनी हो । हाल यस्को एउटा हेलिकप्टर अफ्रिकामा संयुक्त राष्ट्र संघले उडाइरहेको छ ।



प्रकाशित : श्रावण २९, २०७६ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?