नेकपा सचिवालय बैठक फेरि स्थगित 

रासस

काठमाडौँ — विवादित विषयमा सहमति जुट्न नसक्दा बुधबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक फेरि स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले सचिवालय बैठक बस्ने तय भएको थियो । 


यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपचार गरेर आएपछि मंगलबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो। सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठक बिहीबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने भएको छ।

नेकपामा स्कूल विभागमा टुंगो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको छ। उक्त विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सचिवालय सदस्य खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतको दाबी भएको कुरा बाहिर आएको थियो। यसअघि नेकपाको सचिवालय बैठक साउन १३ गते बसेको थियो।

नेकपाको अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम पूरा हुन सकेको छैन।

प्रकाशित : श्रावण २९, २०७६ १५:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्री अर्यालद्वारा ‘कार्यसम्पादन सम्झौता’ पालनाको निर्देशन

रासस

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याल र मन्त्रालयका सचिव गोपीनाथ मैनालीबीच बुधबार ‘कार्यसम्पादन सम्झौता’ गरिएको छ । सबै मन्त्रालय तथा मातहत कार्यालयका कार्यसम्पादनको प्रतिवेदन सरकारलाई बुझाउने नीतिअनुसार गरिएको उक्त सम्झौतामा भूमि प्रशासनलाई व्यवस्थित गर्ने उद्देश्य राखिएको छ ।

मन्त्री प्रथम पक्ष तथा सचिव दोस्रो पक्ष रहने गरी भएको सम्झौतामा सचिवले प्रत्येक महिना कार्य विवरण मन्त्रीलाई बुझाउनु पर्नेछ ।

मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री अर्यालले सार्वजनिक, गुठी, सरकारी जमीनको संरक्षण गर्ने कार्य सरकारको प्राथमिकता रहेको बताउँदै भूमिको समुचित उपयोग गरी त्यसको उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “भूमि पूँजी र साधन दुवै हो, यस क्षेत्रमा देखिएका विकृतिको अन्त्य गरी सुशासन कायम गर्छौं ।”

मन्त्रालयअन्तर्गतका सबै कार्यालयमा सेवाग्राहीलाई छिटो छरितो गुणस्तरीय सेवा प्रदान गरी कर्मचारीलाई वैज्ञानिकरुपमा व्यवस्थापन गर्न सम्झौताले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । प्रधानमन्त्री केपी ओलीले मुलुकमा सुशासन कायम गर्न सबै मन्त्रालयमा प्रभावकारी ढङ्गमा कार्यसम्पादन गराउन निर्देशन दिएका कारण उक्त सम्झौता गरिएको सचिव मैनालीले जानकारी दिए । उनले निर्धारित समयभित्र पूँजीगत खर्च हुन नसकेको अवस्थामा गरिएको सम्झौता महत्वपूर्ण भएको बताउँदै मासिक प्रतिवेदन बुझाउने अभ्यासले सरकारको वार्षिक नीति तथा बजेटसँग सम्बन्धित विषयवस्तु पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा सचिव मैनालीले मन्त्रालय मातहतका सबै विभागीय प्रमुखसँग पनि सोही सम्झौता गरेका थिए ।

प्रकाशित : श्रावण २९, २०७६ १५:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×