घुस रकम सहित चल्ला व्यापारी पक्राउ

भूषण यादव

वीरगन्ज — ‘लाइन’ खुलाउन भन्दै प्रहरीलाई घुस दिन आएका कुखुरा चल्ला व्यापारीलाई इलाका प्रहरी कार्यालय जीतपुरले नियन्त्रणमा लिएको छ । मंगलबार राति करिब ८ बजेको समयमा प्रहरी कार्यालय पुगेका वीरगन्ज महानगरपालिका-२२ मनियारी निवासी उपेन्द्र यादवले प्रहरीलाई चल्लाको कारोबारमा अवरोध नपुर्‍याइदिन भन्दै १० हजार रुपैयाँ दिएका थिए ।

कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सागर सम्शेर राणाले यादवलाई नगद रुपैयाँ सहित नियन्त्रणमा लिएको जनाए । यादवलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको छ ।

अवैध कारोबार निर्वाध रुपले गर्नका लागि कारोबारीले प्रहरीलाई निश्चित रकम बुझाएपछि प्रहरीको मौनतालाई 'लाइन' खुलेको मानिन्छ । बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले प्रहरीलाई पैसाले प्रभाव पार्न खोज्ने चल्ला कारोबारी उपेन्द्र यादवलाई नियन्त्रणमा लिएको बताए ।

‘तपाईहरुले पैसा नलिएपनि अरुले लिइ हाल्छन्, हामी अर्कै तरिकाले पनि कारोबार गर्न सक्छौ,’ यादवको भनाइ उद्धृत गर्दै एसपी भट्टराईले भने, ‘पैसा नलिएपछि यादवले अभद्र व्यवहार समेत प्रदर्शन गरेका छन् ।’

नेपालमा कुखुराको चल्लाको मूल्य बढी पर्ने भएकाले कारोबारीले भारतीय चल्ला भित्र्याउने गरेका छन् । भारतीय कुखुरा र चल्ला नेपाल आयातमा प्रतिबन्ध लागेको भएपनि कारोबारीले सीमामा खटिएका प्रहरीको मिलेमतोमा सजिलै भित्र्याउने गरेका छन् । भारतीय बजारबाट साइकल र मोटरसाइकलमा भित्र्याइएका चल्ला वीरगन्ज र आसपासका क्षेत्रबाट पिकअप गाडीमा लोड गरी विभिन्न सहरमा पुर्‍याउने गरिएको छ । एक कारोबारीका अनुसार भारतीय ब्रोइलर कुखुराको मूल्य भारतमा २४ रुपैयाँ देखि ४० रुपैयाँसम्म पर्छ । त्यही चल्ला नेपालमा ल्याउँदा ७० रुपैयाँमा बिक्री हुन्छ ।

‘यसैगरी लोहाटन प्रजातिका चल्ला भारतमा ४८ रुपैयाँ पर्छ,’ ती कारोबारीले भने, ‘लोहटनको चल्ला नेपालमा ८५ रुपैयाँमा बिक्री हुन्छ ।’ लोकल कुखुरा जस्तै देखिने लोहटन कुखुरा नेपालमा कम पाइने भएकाले मूल्य बढी पर्छ । पिक अप गाडीको एक खेपमा कारोबारीले खर्च कटाएर दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

त्रिभुवन राजमार्गको वीरगन्ज-पथलैया सडक खण्ड अन्तर्गत पर्ने जीतपुर प्रहरी चौकी भारतीय सिमानाबाट करिब २५ किलोमिटरको दूरिमा छ । जीतपुर प्रहरी चौकी राजमार्गमा पर्ने बारा प्रहरीको पहिलो चेक पोस्ट हो । त्यहाँसम्म पुग्न पर्सा प्रहरीको आधा दर्जन चेक पोस्ट पार गर्नुपर्छ । सम्बन्ध स्रोतका अनुसार पर्सा प्रहरीबाट 'लाइन' पाइसकेपछि यादव बारा पुगेका थिए ।

प्रकाशित : श्रावण २९, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्

दोहामा गुन्जियो नेपथ्य

कान्तिपुर संवाददाता

काठमाडौँ — मुस्लिम धर्मावलम्बीको बाहुल्य रहेको देश कतारको दोहामा ‘इद अल अदा’ पर्वको अवसर पारेर नेपालको सांगीतिक ब्यान्ड नेपथ्यले आफ्नो प्रस्तुति दिएको छ । इस्लामहरूको पात्रोअनुसार, अन्तिम महिनाको एघारौं र बाह्रौं दिन बलिदानको रूपमा उक्त पर्वलाई इद कुर्बान भनेरसमेत मनाइने गरिन्छ । 

दोहाको ‘एसियन टाउन एम्पिथिएटर’ को मञ्चमा आइतबार साँझदेखि हजारौं दर्शकमाझ नेपथ्यका मुख्य गायक अमृत गुरुङले सांगीतिक कोसेलीको पोको फुकाएका थिए । गाउनुअघि उनले बहुसांस्कृतिक विविधताले संसारलाई नै एउटा रमाइलो गाउँमा परिणत गरेको धारणा राख्दै आउँदै गरेको हिन्दु धर्मावलम्बीको चाड जनैपूर्णिमा र गाईजात्राको पनि स्मरण गरे ।

‘इद मुबारक’ भन्दै गुरुङले ‘भेंडाको उनजस्तो...’ बाट ब्यान्डको प्रस्तुति थालेका थिए । त्यसपछि कन्सर्टमा नेपथ्यका सर्वकालीक हिट गीतहरू ‘छेक्यो छेक्यो...’, ‘शिरफूल शिरैमा...’, ‘लामपाते सुरती...’ जस्ता गीतहरू गाएर दर्शक माहोललाई जुरुक्कै उचाले । त्यसो त गायक गुरुङको प्रस्तुतिमा कतारमा संघर्ष गरिरहेका तन्नेरीहरूलाई उनीहरूका प्रियहरूको सन्देशका रूपमा ‘मै मरिजाऊँला जीवन छोट्टो छ...’ समर्पण गरे ।

केही वर्षअघि तयार पारेको यस गीतलाई नेपथ्यले रोजगारीका निम्ति प्रबासिएका नेपाली कामदारहरूमै समर्पित गर्दै म्युजिक भिडियो तयार पारेको थियो ।

नेपथ्यले त्यसपछि ‘चरी मर्‍यो सिसैको गोलीले...’, ‘जोमसोमे बजारमा...’, ‘जोगले हुन्छ भेट...’, लगायत गीत गाउँदा कतारको दोहास्थित नेपालीहरू गायकलाई साथ दिएर गाउँदै नाचिरहेका देखिन्थे ।

प्रकाशित : श्रावण २९, २०७६ १०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्