कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कृषि तथा वनविज्ञान विश्वविद्यालयको बजेट र जग्गा विवाद ज्युँका त्युँ

गणेश राई

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार डाकिएको कृषि तथा वनविज्ञान विश्वविद्यालयको सिनेटले बजेट र जग्गासम्बन्धी विवाद समाधानका लागि दुई छुट्टाछुट्टै समिति गठन गरेको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको बजेट र जग्गा विवाद ज्युँका त्युँ

चालु वर्षका लागि छुट्ट्याइएको बजेट यथार्थपरक नरहेको भन्दै पुनः समीक्षा गर्न विश्वविद्यालय अनुदान आयोग अध्यक्ष भीमप्रसाद सुवेदीको संयोजकत्वमा चार सदस्यीय पुनरावलोकन समिति बनाइएको छ । समिति सदस्यमा शिक्षा सचिव, अर्थ सचिव र विश्वविद्यालयका रजिस्ट्रार छन् ।

विश्वविद्यालयले ३ अर्ब ३२ करोड १२ लाख ७२ हजार रुपैयाँको बजेट ल्याएकामा विकासतर्फ २ अर्ब २ करोड ४५ लाख, सञ्चालनतर्फ १ अर्ब २५ करोड ६२ लाख र आन्तरिक स्रोतबाट ४ करोड पाँच लाख रुपैयाँ छ । जग्गाको स्वामित्वबारे अध्ययनका लागि सुवेदीकै संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । सदस्यमा शिक्षा सचिव र विश्वविद्यालयका फरेस्ट्री डिन छन् ।

मुख्य दुई एजेन्डा बजेट पारित गर्ने र त्रिविको जग्गा र कृषि विश्वविद्यालयको स्वामित्व हस्तान्तरणबारे सिनेट टुंगोमा पुग्न सकेन । बैठक निष्कर्षविहीन बनेपछि पदाधिकारी र कर्मचारी थप अन्योलमा परेका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बैठकको अध्यक्षता गरेका थिए ।

स्वास्थ्यस्थिति र कार्यव्यस्तताका कारण प्रधानमन्त्री उपस्थित हुन नसकेको स्रोतले जनाएको छ ।

‘प्रधानमन्त्रीज्यू उपस्थित हुन सक्नुभएन,’ विश्वविद्यालयका सहप्राध्यापक ईश्वरीप्रसाद कडरियाले भने, ‘सहकुलपतिज्यूको अध्यक्षतामा बसेको बैठकले दुवै एजेन्डा पारित गर्न सकेन ।’ उपकुलपति ईश्वरीप्रसाद ढकालको पदावधि भदौ ५ गते सकिँदै छ ।

कृषि विश्वविद्यालय भरतपुर महानगर, रामपुरस्थित त्रिवि स्वामित्वको २० बिघा ६ कट्ठा जग्गा तथा त्यहाँ रहेको भवन संरचनामा स्थापना गरिएको हो । तर उक्त जग्गा क्रिकेट रंगशाला बनाउन धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिइएको छ । त्यो जग्गा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्रमा पर्छ ।

भरतपुर महानगरमा दाहालपुत्री रेणु मेयर छिन् । २०७५ भदौ २९ मा प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको सिनेट बैठकले जग्गा क्रिकेट रंगशालालाई दिन अस्वीकृत गरेको थियो । त्यसपछि दाहालले आफूअनुकूल बनाउने पहल गरेका थिए । दाहालको उपस्थितिमा भरतपुरकी मेयर रेणु, उपकुलपति ढकाल, विभिन्न दलका स्थानीय प्रमुख, त्रिवि उपकुलपति तीर्थराज खनियाँसहितको बैठकले जसरी पनि विश्वविद्यालयको जग्गामै रंगशाला बनाउने निर्णय गर्‍यो ।

त्यसपछि २० बिघा ६ कट्ठा महानगरको स्वामित्वमा लगियो । तर अहिलेसम्म सट्टाभर्ना दिइएको छैन । ‘विश्वविद्यालयका सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी निरीह भयौं, धुर्मुस–सुन्तलीको देवत्वकरण गरियो,’ कडरियाले भने, ‘रंगशाला अन्य ठाउँमा बनाउनुपर्छ । दसौं हजार विद्यार्थी पढाउनुपर्दा जग्गा विश्वविद्यालयलाई नै आवश्यक पर्छ भन्दा विकासविरोधी भनियो ।’

प्रकाशित : श्रावण २९, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?