गए राति कोटेश्वरमा ट्राफिकको गाडीले ठक्कर दिएको एक व्यक्तिको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार राति महानगरीय ट्राफिक प्रहरी महशाखाको बा१झ ७८६६ नम्बरको सीआरबी भ्यानले कोटेश्वरमा एक अपरिचित व्यक्तिलाई ठक्कर दिएको छ । गाडीको ठक्कर लागि गम्भिर घाइते भएका उनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ । उनको नाम भने खुलेको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार बालकुमारीबाट कोटेश्वरतर्फ आइरहेको उक्त गाडीले कोटेश्वरमा रहेको आकाशे पुल मुनी ती व्यक्तिलाई ठक्कर दिएको हो ।


घटनाको समयमा गाडी चलाइरहेका प्रहरी जवान विनोदकुमार गिरीलाई हाल बानेश्वर वृत्तमा नियन्त्रणमा राखिएको छ । डीएसपी बोगटीका अनुसार राति अचानक पुलमुनीबाट बाटो काट्दा दुर्घटना भएको देखिएको छ ।

प्रकाशित : श्रावण २९, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

लामो दूरीमा २ चालक नराखे कारबाही

कान्तिपुर संवाददाता

काठमाडौँ — यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी (गाडी मालिक या कम्पनी) लाई कारबाही गर्ने चेतावनी दिएको छ ।

लामो दूरीमा एक जनामात्र चालक हुँदा बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो । लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भए/नभएको मुलुकभर अनुगमन गरिने विभागले जनाएको छ ।

विभागले प्रस्थानबिन्दुबाट २५० किमि वा त्योभन्दा बढी दूरीमा चल्ने गाडीले अनिवार्य २ चालक नराखेको पाइए सवारीधनी या कम्पनीलाई नियन्त्रणमा लिई कारबाही गर्ने बताएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने गाडीमा कम्तीमा २ चालक अनिवार्य राखी प्रत्येक ६/६ घण्टामा पालैपालो चलाउनुपर्ने प्रावधान छ ।

एउटै चालकले लामो दूरीमा गाडी चलाउँदा थकानका कारण दुर्घटना बढेपछि यस्तो कानुनी व्यवस्था गरिएको थियो । विभागले मध्यम दूरीमा गाडीका चालकलाई प्रत्येक ४ घण्टामा आधा घण्टा विश्राम दिने व्यवस्थालाई समेत कडाइका साथ पालना गर्न आग्रह गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐनमा ४ घण्टाभन्दा बढीको दूरीमा चल्ने यात्रुवाहक गाडीका चालकले प्रत्येक ४ घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्था छ ।

लामो दूरी तथा रात्रिसेवाका चालक निदाउने, थकान र तोकिएको समयमै गन्तव्यमा पुग्नुपर्ने मानसिक दबाबका कारण दुर्घटना हुने गरेको छ । विभागले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन दिइएको निर्देशन कार्यान्वयन नगरे सम्बन्धित यातायात व्यवसायीलाई कारबाही गरिने जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०७६ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×