कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद यादवलाई राजीनामा फिर्ता लिन दबाब

सीके राउतलाई ठाउँ छाडिदिएको अड्कल
कान्तिपुर संवाददाता

काठमाडौँ — समाजवादी पार्टीले प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित सांसद सूर्यनारायण यादवलाई राजीनामा फिर्ता लिन दबाब दिएको छ । पार्टीलाई जानकारी नदिई यादवले सोमबार सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा दिएका थिए । उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन् । 

सांसद यादवलाई राजीनामा फिर्ता लिन दबाब

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेको बताए । ‘स्वास्थ्यमा समस्या परे उपचारका लागि बिदा बस्न पाइन्छ, राजीनामा दिनुपर्दैन,’ उनले भने ।


सांसदको दलीय आबद्धतासमेत हुने भएकाले राजीनामा स्वीकृतिका लागि दलले समेत सभामुखलाई चिठी लेख्नुपर्छ । प्रमुख सचेतक अरगरियाले राजीनामा स्वीकृत गर्न चिठी नपठाएको बताए । ‘हामी राजीनामा फिर्ता गराउने कोसिसमा छौं,’ उनले भने । सांसद यादवले सोमबार राजीनामा दिएलगत्तै कान्तिपुरसँग मधुमेहलगायत रोगले च्यापेको र त्यसकै कारण दैनिक काम गर्न अप्ठेरो भएकाले पद छाडेको बताएका थिए ।


राजनीतिक वृत्तमा भने सांसद यादवको राजीनामालाई उपचुनावलाई लक्षित गरेर कुनै नेतालाई उक्त ठाउँमा उठाउने योजनासँग जोडेर हेरिएको छ । विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा आएका सीके राउतलाई संसद्भित्र छिराउन राउतकै जिल्लाको सिट खाली गराइएको आशंका पनि केहीले गरेका छन् ।


राउतसँगको सहमतिका क्रममा नेकपाका नेताहरूले उनलाई संसद्मा ल्याउनेसम्मको भद्रसहमति गरेको बताइन्छ । त्यो सहमति कार्यान्वयन गर्ने सिलसिलामा सत्तारूढ दलहरू नेकपा र समाजवादीकै योजनाअनुसार यादवको राजीनामा आएको आशंका गरिएको हो । ‘त्यस्तो आशंका गलत हो । मधेसका मूलधारका पार्टी समाजवादी र राजपा हुन् । हाम्रो पार्टी सीके राउतको पार्टीसँग मिल्न आवश्यक छैन र सम्भावना पनि छैन,’ अरगरियाले भने ।


राउत नेतृत्वको जनमत पार्टीका प्रवक्ता चन्दन सिंहले पनि त्यस्तो आशंकाको खण्डन गरे । ‘हामी मूलधारको संसदीय राजनीति गर्नै पार्टी बनाएर आएका हौं तर अहिले नै उपचुनावमा लड्ने हाम्रो तयारी छैन,’ उनले भने, ‘सप्तरीमा एक सांसदले राजीनामा दिनुमा हाम्रो कुनै सम्बन्ध छैन ।’ उनले पहिले पार्टी मजबुत बनाउने र त्यसपछि मात्र चुनावमा जाने बताए ।


कार्यकर्ता चकित

राजविराज– चार दिनअघि सप्तरीको भारदहबाट कार्यकर्ताले सांसद यादवलाई मधेस आन्दोलनका सहिद राजीव राउतको स्मृतिमा भदौ १ मा हुने कार्यक्रमका लागि फोनबाट निम्ता गरे । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि आउने भनिएको कार्यक्रममा आउन सांसद यादवले असमर्थता जनाए । ‘फोनमा सांसद बिरामी भएजस्तो, अलि असन्तुष्ट भएजस्तो आवाजबाट झल्किन्थ्यो,’ एक कार्यकर्ताले भने । यादवले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको खबरपछि उनको निर्वाचन क्षेत्रका कार्यकर्ता आश्चर्यचकित भएका छन् । सप्तरी–१ बाट निर्वाचित उनले राजीनामामा स्वास्थ्यको कारण देखाए पनि यहाँका कार्यकर्ताले पत्याएका छैनन् । उनले राजीनामा दिएपछि मोबाइल फोन ‘अफ’ गरेकाले समर्थक र कार्यकर्ताले सम्पर्क गर्न नपाएको बताएका छन् ।


प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले वाम गठबन्धनबाट तत्कालीन माओवादी केन्द्रका अशोककुमार मण्डललाई पराजित गरेका थिए ।


वरिष्ठ बालरोग विशेषज्ञ यादवले केही समयअघि पनि राजीनामा दिने मनसाय बनाएका थिए । पार्टीका नेताहरू र निर्वाचन क्षेत्रका कार्यकर्ताको आग्रहपछि उनले आफ्नो विचार परिवर्तन गरे । साथीभाइसँग उनी राजनीतिको तुलनामा चिकित्सा पेसाको सक्रियतामै आफ्नो मन रमाउने बताउने गरेका थिए । प्रतिनिधिसभाको बैठकमा कमै उपस्थित हुने र निर्वाचन क्षेत्रमा पनि कमै देखिने यादव केही दिनयता जनकपुरस्थित क्लिनिकमा पनि कमै देखापर्ने गरेका छन् ।


केही समयअघि आफ्नो निर्वाचन क्षेत्रमा बाढीका कारण बस्ती डुबानमा पर्दा सांसद यादव आएका थिए । प्रतिनिधिसभा निर्वाचनका बेला यादवका नजिक मानिने समाजवादी पार्टीका नेता भारदहका वीरेन्द्र माझीले भने, ‘एकाएक कसरी राजीनामा आयो, छक्क परेका छौं ।’ एक निकटस्थका अनुसार पार्टीभित्रको गतिविधिबाट उनी असन्तुष्ट जस्तै थिए । ‘केही समययता एक्लोपन महसुस गर्नुका साथै अस्वस्थसमेत हुनुहुन्छ,’ उनले भने ।


निर्वाचनका बेला जनतासित गरेका वाचा पूरा गर्न नसकेका कारण उनी असन्तुष्ट रहँदै आएका थिए । चुनावका निकटतम प्रतिस्पर्धी नेकपा सप्तरीका अध्यक्ष अशोककुमार मण्डलले यादवले राजीनामा दिएर जनतालाई धोका दिएको टिप्पणी गरे ।

प्रकाशित : श्रावण २९, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?