१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जेलभित्रैबाट फिरौती असुली !

जनकराज सापकोटा

काठमाडौँ — हत्याको अभियोगमा थुनामा रहेका समीरमान बस्नेतले जेलभित्रैबाट असुली धन्दा चलाएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले उनीनिकट दुई जनालाई पक्राउ गरेको छ । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेको अभियोगमा बस्नेत सुन्धारास्थित केन्द्रीय जेलमा छन् ।

जेलभित्रैबाट फिरौती असुली !

बस्नेतले आफूनिकटका व्यक्तिहरूलाई निर्माण व्यवसायी र सडक निर्माणको ठेक्का सम्हालिरहेकाहरूको व्यक्तिगत विवरण उपलब्ध गराएर असुली धन्दा चलाएको सूचना पाएपछि ब्युरोले पवन खडका र सुरेन नगरकोटीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो ।


संगठित समूहको आडमा अवैध असुलीको धन्दा चलाइरहेका बस्नेतको समूहले २३ असोज ०७४ मा घरबाट कार्यालय जाँदै गरेका गौचनलाई शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरेको थियो । हत्याको ३७ दिनपछि ब्युरोले घटनामा संलग्न मुख्य सुटरसहित ५ जनालाई पक्राउ गरेको थियो भने अढाई महिनापछि मंसिर तेस्रो साता मुख्य योजनाकार भनिएका बस्नेत भारतमा समातिएका थिए ।


गजुरमुखी कन्स्ट्रक्सका मुख्य लगानीकर्ता रहेका गुन्डा नाइके कुमार घैंटेले गौचनको डाँफे कन्स्ट्रक्सनमा २ करोड ५० लाख रुपैयाँ लगानी गरेका थिए । ०७२ भदौमा घैंटे मारिएपछि उक्त समूहमा रहेर काम गरेका बस्नेतले गौचनसँग सेयरबापतको रकम मागेका थिए ।


लेनदेनको विषयमा बस्नेत र गौचनबीच झगडा भएको थियो । ब्युरोका अनुसार गौचनले वीरगन्जदेखि विराटनगरसम्म जोड्ने हुलाकी सडक निर्माणको ठेक्का पाएपछि उक्त ठेक्काबापत आउने २० करोडको बस्नेतले २ प्रतिशत कमिसन मागेका थिए । यही माग पूरा नगरेपछि बस्नेतले भारत गोवा, दिल्ली र उत्तराञ्चललगायतमा बस्दै फिरौती असुलीको धन्दा चलाइरहेका मनोज पुनसँग मिलेर गौचनको हत्या गराएका थिए ।


केन्द्रीय कारागार सुन्धारामा रहेका बस्नेतले हाल जेलभित्रैबाट फिरौती असुलीको धन्दा चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्रोतका अनुसार बस्नेतले केही निर्माण व्यवसायीहरूको कारोबारको विवरणलगायतका सूचना आफ्ना सहयोगीलाई दिएर रकम उठाउन लगाएका छन् ।


त्यही असुलीको काममा संलग्न रहेको भन्दै पवन र सुरेन पक्राउ परेका हुन् । यी दुवैलाई सुरुमा महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको थियो । सार्वजनिक अपराधमा मुद्दा चलाएर झन्डै १८ दिन महाराजगन्ज वृत्तको थुनामा राखिएका उनीहरूलाई थप अनुसन्धानका निम्ति एक साताअघि केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालय पुर्‍याइएको हो ।


पक्राउलगत्तै ललितपुरको नख्खु कारागार पुर्‍याइएका बस्नेतले जेलभित्रैबाट आफ्नो सञ्जाल चलाएको सूचना पाएपछि गृह मन्त्रालयको पहलमा २०७५ असोज १५ मा मुस्ताङ कारागार सरुवा गरिएको थियो । बस्नेतको सरुवालगत्तै उनकी पत्नीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिन् ।


अदालती सुनुवाइका क्रममा काठमाडौं ल्याइएपछि बस्नेत केन्द्रीय कारागार सुन्धारामा छन् ब्युरोका एक प्रहरी अधिकारीले बस्नेतका सहयोगीहरूले केही निर्माण व्यवसायी र हुलाकी सडकको ठेक्कामा काम गरिरहेकाहरूलाई धम्क्याएर रकम असुल्ने प्रयास गरेको बताए ।


उनले भने, ‘केहीले पैसा दिए, केहीले दिन लागेको अवस्था भन्ने सूचना छ ।’ बस्नेतले जस्तै केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेका आपराधिक पृष्ठभूमिका बाहुन डन भनिने रमेश पौडेलले पनि भित्रैबाट अपराधको सञ्जाल फैलाइरहेको शंका प्रहरीको छ । स्रोतका अनुसार रमेशले अहिले कारागारभित्रको क्यान्टिन आफ्नो हातमा लिएका छन् ।


स्रोत भन्छ, ‘क्यान्टिनबाट हुने ६०/७० हजारभन्दा धेरै आम्दानी उनको पोल्टामा गएको छ ।’ २३ साउनमा रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई धम्क्याउँदै २ करोड रुपैयाँ मागेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले लोप्सन र मिलन भनिने बाबुराम तामाङलाई घुँडामुनि गोली प्रहार गरेर पक्राउ गरेको छ । लोप्सन पक्राउपछि प्रहरी उनी निकटहरूको पुरानो गतिविधिको रेकर्ड खोतलिरहेको छ ।


संगतले अपराधमा

बाफलमा कुखुरापालन गरेर बसेका ३४ वर्षीय बस्नेत अपराधमा लागेको धेरै भएको छैन ।


व्यवसायकै क्रममा स–साना ठेक्कापट्टामा संलग्न हुन थाले । कुमार घैंटेसँग चिनजान भयो । घैंटेकै संगतबाट उनी अपराधको दुनियाँमा भिज्दै गए । दाबा लामा, गणेश लामाहरूको उपस्थिति बलियो बन्दै गएका बेला घैंटेले बस्नेतलाई अगाडि सारेर आफ्नो धन्दा चलाउन थाले ।


प्रहरी अधिकारीहरूका अनुसार घैंटेको हत्यापछि बस्नेतले आफ्नै समूह बनाएर फिरौती असुली गरिरहेका थिए । पछिल्लो समय उनी भारतका विभिन्न सहरमा बस्ने, भाइबर ह्वाट्स–एपमार्फत निर्माण व्यवसायी, बैंकका सीईओ र निजी स्कुल–कलेजका सञ्चालकसँग असुली धन्दा चलाइरहेका थिए । घैंटेको मृत्युपछि भारत पसेका बस्नेत मनोज पुन समूहसँग मिले ।


यही समूहले ०७३ चैत २९ मा गौरीघाटको दिव्या पार्टी प्यालेसको जिम हाउसमा दाबा लामालाई गोली हानेको थियो । समीरमानका मुख्य सहयोगी लोप्साङ लामाले नेपाली सेनाका भगौडा अमरबहादुर रानालाई प्रयोग गरी दाबामाथि गोली चलाएका थिए । ०७३ पुस ४ मा भैरहवामा एमालेनिकट युवा संघका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको घटनामा पनि बस्नेतको साथ रहेको प्रहरी बताउँछ ।

प्रकाशित : श्रावण २९, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?