भड्किलो पार्टी नगर्नू बरी लै...

आधा दर्जन जिल्ला प्रशासनले भने– पार्टी प्यालेसमा दर खाने कार्यक्रम रोक्नू 
विमल खतिवडा

काठमाडौँ — चेलीलाई बोलाएर माइतीले दर खुवाउने तीजको पर्व अब पहिलेजस्तो छैन । दर खाने दिन आउनु महिनाअघिदेखि नै पार्टी प्यालेसमा समूह–समूहमा भेला भएर भड्किलो तरिकाले खानपान र नाचगान चल्छ । संघसंस्था र समूहहरूले खर्चिलो पाराको कार्यक्रम गर्छन् ।

यसपटक भने त्यस्ता कार्यक्रम आयोजकले सचेत हुनुपर्ने भएको छ । तीज नजिकिँदै जाँदा केही जिल्लामा स्थानीय प्रशासनले पार्टी प्यालेसहरूमा दर खाने कार्यक्रम गर्न रोक लगाएका छन् ।


दर खाने कार्यक्रम भन्दै ठूलो आवाजमा गीत बजाएर अरूलाई असर गरेको र गहना प्रदर्शन गरी विकृति निम्त्याएको भन्दै प्रशासनले कडाइ गर्ने भएको हो । धेरैजसो जिल्लामा यो निर्णयको विरोध भइरहेको छ । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले पनि विरोध जनाएको छ । महासंघले विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता नलिए राजनीतिक दलका कार्यक्रम पनि गर्न नदिने चेतावनी दिएको छ । महासंघले जनाएअनुसार काभ्रे, धादिङ, कास्की, रूपन्देही, पर्वत र स्याङ्जालगायतका जिल्लामा पार्टी प्यालेसमा दर खाने कार्यक्रममा रोक लगाइएको छ ।


थप जिल्लामा पनि रोक लगाइएको हुनसक्ने र त्यसको विवरण संकलन गरिरहेको महासंघले जनाएको छ । यसबारे सम्बद्ध जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले भने चाडलाई भड्किलो नबनाउन अनुरोध गरेको प्रतिक्रिया दिएका छन् । पर्वत जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि तीजलाई भड्किलो नबनाउनू भन्दै सूचना जारी गरेको छ ।


‘तीज पर्व मनाउने नाममा विभिन्न पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गरी गहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने साथै विभिन्न सांस्कृतिक कार्यक्रमको नाममा ध्वनि प्रदूषण गराउने जस्ता असामाजिक क्रियाकलाप गरी तीजको मौलिकतामाथि नै आँच पुर्‍याउने तथा शान्तिसुरक्षा व्यवस्थामा चुनौती सिर्जना हुने गरी क्रियाकलाप हुँदै आएको सन्दर्भमा’ पर्वत प्रशासनको सूचनामा भनिएको छ ।


‘मौलिक संस्कृतिमा आँच आउने तरिकाले तीजका कार्यक्रम नगर्नू नगराउन हुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा छ । चाडलाई भड्किलो र खर्चिलो नबनाउन यस्तो सूचना जारी गर्नुपरेको पर्वतकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् ।


‘जुन मितिमा चाड हो, त्यही दिन मनाउँदा केही फरक पर्दैन,’ उनले भनिन्, ‘तीजलाई प्रतिबन्ध गर्न खोजेका होइनौं ।’ उनले हुने खाने र हुँदा खानेबीच फरक देखिने तरिकाले सामाजिक विचलन आउने गरी चाड नमाउन भनेको बताइन् । उनले भनिन्, ‘महिनौंअघिदेखि पार्टी प्यालेसमा पार्टी नगर्न भनेका हौं ।’ विभिन्न संघसंस्थामा आबद्ध महिलाले यसको विरोध गर्दै आएका छन् ।


काभ्रे जिल्ला प्रशासनले पनि यस्तै सूचना जारी गरेको छ । ‘संस्कृतिलाई संरक्षण गर्नुपर्छ तर संस्कृति जगेर्नाका नाममा यसलाई बिगार्नु हुँदैन,’ काभ्रेका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भने, ‘जुन दिन चाड हो, त्यही दिन मनाउँदा त्यो चाडको विशेष महत्त्व हुन्छ ।’ क्याटरिङमा गर्न नहुने भन्ने नभएको र भड्किलो नबनाउन आग्रह गर्दै सूचना जारी गरेको उनले बताए ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले कार्यक्रममा रोक लगाउने निर्णय फिर्ता लिन आग्रह गरेको छ । ‘चाडपर्वलाई लक्षित गरी पार्टी प्यालेस तथा क्याटरिङमा भोज गर्न नपाउने गरी भएका निर्णय तत्काल सच्याउन माग गर्दछौं,’ महासंघका उपाध्यक्ष कृष्णप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित : श्रावण २९, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

अब साना हिमाल चढेपछि मात्र सगरमाथा आरोहण

पैसा हुनेले सोझै सगरमाथा आरोहण गर्न पाउने छैनन्
सुरज कुँवर

काठमाडौँ — आगामी सिजनदेखि सगरमाथा आरोहण गर्नुअघि ६ हजारदेखि ७ हजारसम्म उचाइ भएका हिमाल आरोहण गरेको अनुभव अनिवार्य गरिएको छ । सरकारले जेठमा गठन गरेको सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनले यस्तो सिफारिस गरेको हो । 

प्रतिवेदन बुधबार साढे १ बजे मन्त्रालयले सार्वजनिक गर्ने कार्यक्रम छ । ‘पैसा हुनेले अब सोझै सगरमाथा आरोहण गर्न पाउने छैनन्,’ उच्च स्रोतले भन्यो, ‘अब स्वदेशी वा विदेशीले पहिले ६ हजार ५ सय हाराहारी उचाइको कुनै हिमाल आरोहण गरेको हुनुपर्नेछ ।’

विदेशीहरूले सगरमाथामा आरोहण अनुमतिमा नियन्त्रण गर्नुपर्ने, सगरमाथालाई आराम दिनुपर्नेलगायत विषय उठाउँदै सरकारलाई दबाब दिँदै आएका थिए । तर प्रतिवेदनले सगरमाथा आरोहण अनुमति नियन्त्रण नगरिने र आराम पनि दिनु नपर्ने उल्लेख गरेको स्रोतले बतायो । ‘सिजनमा एक महिना मात्रै आरोहण हुन्छ । बाँकी ११ महिना सगरमाथाले आरामकै समय पाइरहेको हुन्छ,’ स्रोतले भन्यो, ‘त्यस्तै आरोहण अनुमति नियन्त्रण पनि गरिने छैन ।’
आगामी सिजनदेखि आरोहण दलको लियाजन अफिसर (सम्पर्क अधिकृत) मा आरोही शेर्पाहरूलाई पनि समेटिने स्रोतको भनाइ छ । ‘यसअघि स्नातक पास गरेका आरोही शेर्पालाई लियाजन अफिसर तोक्न सकिने प्रावधान थियो । ‘एसएलसीसरह अध्ययन गरेको अनुभवी शेर्पालाई पनि लियाजन अधिकृतको समूहमा राख्न सकिनेछ,’ स्रोतले भन्यो ।

यसअघि संघ र आरोही संघको सिफारिसमा वर्षमा ४ जनासम्म स्नातक अध्ययन गरेका शेर्पालाई लियाजन अफिसरका रूपमा पठाउने व्यवस्था रहेको नेपाल पर्वतारोहण संघका एक पदाधिकारीले बताए । अब एसएलसी पाससरहको व्यवस्था हुँदा अत्यधिक आरोही शेर्पाहरूले सम्पर्क अधिकृतको भूमिका पाउनेछन् । त्यसैगरी प्रतिवेदनले आधार शिविरमा नपुग्ने निजामतीतर्फका सम्पर्क अधिकृतलाई सेवा अवधिभर रोक्न सक्ने प्रस्ताव गरेको छ । त्यस्तै चिकित्सकको स्वास्थ्य जाँच पनि अनिवार्य गरिएको छ । स्वास्थ्य परीक्षणमा अयोग्य देखिए आरोहण दलका सदस्य, गाइड, हेल्पर, भरिया आदि कुनै पनि भूमिकामा हिमाल चढ्न पाइने छैन ।

पछिल्लो पटक पर्वतारोहणका क्षेत्रमा देखापरेका नीतिगत, कानुनी र संरचनागत कार्यविधि सुधारका लागि सुझाव दिन प्रधानमन्त्रीस्तरीय निर्णयबाट सुझाव समिति गठन गरिएको थियो । उक्त समितिमा मन्त्रालयको जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख घनश्याम उपाध्यायबाहेक पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा र ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) का अध्यक्ष नवराज दाहाल सदस्य थिए । उक्त समितिमा विभागकी उपसचिव मीरा आचार्य सदस्य सचिव थिइन् ।

प्रकाशित : श्रावण २८, २०७६ २२:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×