अब साना हिमाल चढेपछि मात्र सगरमाथा आरोहण

पैसा हुनेले सोझै सगरमाथा आरोहण गर्न पाउने छैनन्
सुरज कुँवर

काठमाडौँ — आगामी सिजनदेखि सगरमाथा आरोहण गर्नुअघि ६ हजारदेखि ७ हजारसम्म उचाइ भएका हिमाल आरोहण गरेको अनुभव अनिवार्य गरिएको छ । सरकारले जेठमा गठन गरेको सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनले यस्तो सिफारिस गरेको हो । 

प्रतिवेदन बुधबार साढे १ बजे मन्त्रालयले सार्वजनिक गर्ने कार्यक्रम छ । ‘पैसा हुनेले अब सोझै सगरमाथा आरोहण गर्न पाउने छैनन्,’ उच्च स्रोतले भन्यो, ‘अब स्वदेशी वा विदेशीले पहिले ६ हजार ५ सय हाराहारी उचाइको कुनै हिमाल आरोहण गरेको हुनुपर्नेछ ।’


विदेशीहरूले सगरमाथामा आरोहण अनुमतिमा नियन्त्रण गर्नुपर्ने, सगरमाथालाई आराम दिनुपर्नेलगायत विषय उठाउँदै सरकारलाई दबाब दिँदै आएका थिए । तर प्रतिवेदनले सगरमाथा आरोहण अनुमति नियन्त्रण नगरिने र आराम पनि दिनु नपर्ने उल्लेख गरेको स्रोतले बतायो । ‘सिजनमा एक महिना मात्रै आरोहण हुन्छ । बाँकी ११ महिना सगरमाथाले आरामकै समय पाइरहेको हुन्छ,’ स्रोतले भन्यो, ‘त्यस्तै आरोहण अनुमति नियन्त्रण पनि गरिने छैन ।’

आगामी सिजनदेखि आरोहण दलको लियाजन अफिसर (सम्पर्क अधिकृत) मा आरोही शेर्पाहरूलाई पनि समेटिने स्रोतको भनाइ छ । ‘यसअघि स्नातक पास गरेका आरोही शेर्पालाई लियाजन अफिसर तोक्न सकिने प्रावधान थियो । ‘एसएलसीसरह अध्ययन गरेको अनुभवी शेर्पालाई पनि लियाजन अधिकृतको समूहमा राख्न सकिनेछ,’ स्रोतले भन्यो ।


यसअघि संघ र आरोही संघको सिफारिसमा वर्षमा ४ जनासम्म स्नातक अध्ययन गरेका शेर्पालाई लियाजन अफिसरका रूपमा पठाउने व्यवस्था रहेको नेपाल पर्वतारोहण संघका एक पदाधिकारीले बताए । अब एसएलसी पाससरहको व्यवस्था हुँदा अत्यधिक आरोही शेर्पाहरूले सम्पर्क अधिकृतको भूमिका पाउनेछन् । त्यसैगरी प्रतिवेदनले आधार शिविरमा नपुग्ने निजामतीतर्फका सम्पर्क अधिकृतलाई सेवा अवधिभर रोक्न सक्ने प्रस्ताव गरेको छ । त्यस्तै चिकित्सकको स्वास्थ्य जाँच पनि अनिवार्य गरिएको छ । स्वास्थ्य परीक्षणमा अयोग्य देखिए आरोहण दलका सदस्य, गाइड, हेल्पर, भरिया आदि कुनै पनि भूमिकामा हिमाल चढ्न पाइने छैन ।


पछिल्लो पटक पर्वतारोहणका क्षेत्रमा देखापरेका नीतिगत, कानुनी र संरचनागत कार्यविधि सुधारका लागि सुझाव दिन प्रधानमन्त्रीस्तरीय निर्णयबाट सुझाव समिति गठन गरिएको थियो । उक्त समितिमा मन्त्रालयको जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख घनश्याम उपाध्यायबाहेक पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा र ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) का अध्यक्ष नवराज दाहाल सदस्य थिए । उक्त समितिमा विभागकी उपसचिव मीरा आचार्य सदस्य सचिव थिइन् ।


प्रकाशित : श्रावण २८, २०७६ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्

'आधि' लिएर आइन् उषा

कान्तिपुर संवाददाता

काठमाडौँ — महिला हिंसाका घटना दैनिक रूपमा बढिरहेका छन् । आफ्नै आफन्तजनबाट नै कैयौं महिला पीडित छन् । हिंसापछि त्यस्ता महिला मनोवैज्ञानिक रूपमा कतिसम्म बिछिप्त हुन्छन् ? मानसिक द्वन्द्वका यिनै पक्षहरुलाई केन्द्रमा राखेर साहित्यकार उषा शेरचनले उपन्यास ‘आधि’ लेखकी छन् ।

मंगलबार राजधानीमा अग्रज साहित्यकार एवं संस्कृतिविद् चेतन कार्की, साहित्यकार पद्यमावती सिंह र कुमारी लामाले लोकार्पण गरे ।

कार्कीले शेरचनको साहित्यिक जीवनबारे प्रकाश पार्दै ‘पोखराबाट मुक्तककार, कवि एवं गीतकारको रूपमा उदाएकी शेरचनले उपन्यास ‘आधि’ मा नाताभित्रै हुने बलात्कारको कथा खोतलेको’ बताए । साहित्यकार सिंहले शेरचनको लेखनमा पाइने प्रवृत्तिगत विशेषताबारे चर्चा गर्दै ‘जुनसुकै विधामा पनि महिलाले दिनहुँ भोग्ने सास्ती उजागर गर्नु नै शेरचनको लेखकीय गुण रहेको’ दाबी गरिन् । ‘आधि उपन्यास नयाँ दिशातिर अग्रसर नेपाली समाजको विम्ब हो,’ उनले भनिन् ।

उपन्यासमाथि टिप्पणी गर्दै समीक्षक लामाले ‘महिलामाथि हुने यौनजन्य हिंसाको तस्बिर उपन्यासमा आएको’ दाबी गरिन् । ‘पछिल्लो समयमा आएका मीटुलगायतका महिला हिंसाविरोधी अभियानलाई तात्त्विक निष्कर्षमा पुर्‍याउन ‘आधि’ जस्ता उपन्यासले महत्त्वपूर्ण भूमिका खेल्छन्,’ उनले भनिन् । कविता, मुक्तक, गीत र कथामा थुप्रै कृति दिइसकेकी शेरचनको उपन्यास भने यो पहिलो हो । एउटी बलात्कृत महिलाको सत्य घटनामा आधारित कथा भए पनि केही काल्पनिकताको जलप लगाएर उपन्यास लेखेको उनले बताइन् । उपन्यासलाई बुक हिल पब्लिकेसनले छापेको हो । शेरचनका ‘नजन्मेका आस्थाहरु’, सर्वकालीन पीडा र जागृतिका शंखघोष’, कविता कृति, ‘अक्षरहरुका शिविरबाट’, मुक्तक कृति, ‘तेस्रो रंग’ कथाकृति, ‘संवेदन’, ‘आकाश छुने रहर’ गीति एल्बमलगायतका कृति प्रकाशित छन् ।

प्रकाशित : श्रावण २८, २०७६ २१:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×