सदनमा मन्त्री-सांसद प्रश्नोत्तर, मन्त्री पण्डित भने रोस्ट्रमबाट त्यसै फर्किए

रासस

काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग मन्त्रालयका कामकारवाहीसम्बन्धी विभिन्न प्रश्न गरेका छन् । बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले गुणस्तरीय खाद्य वस्तु खान पाउने संवैधानिक अधिकारअनुसार नै मन्त्रालयले बजारमा अनुगमन बढाएको बताउँदै अनियमितता र गलत गर्नेलाई कारवाही गरिएको जानकारी गराए । 

जनतालाई अखाद्य होइन खाद्य पदार्थ नै खुवाउने मन्त्रालयको योजना सुनाउँदै उनले चाडबाडमा मात्र नभइ निरन्तरता दिने उद्देश्यले अनुगमन गर्ने योजना बनाइएको बताए। बैठकमा सांसद उमा रेग्मीले खाद्य पदार्थमा अखाद्य पदार्थको मिसावट बढेको र उपभोक्ताले शुद्ध खानेकुरा नपाईरहेको अवस्थामा मन्त्रालयले के कदम चालिरहेको छ भनी प्रश्न गरेकी थिइन्।

सांसदद्वय डा डिला सङ्ग्रौला र रङ्गमती शाहीले पूरक प्रश्न गर्दै अनुगमनले काम नगरेको र कालाबजारी नियन्त्रण गर्न अझ कडा कदम चाल्नुपर्नेमा जोड दिए। जवाफमा मन्त्री यादवले कालाबजारी नियन्त्रण गर्न योजना मात्र नभइ काम पनि गरेको र अनुगमन गरी कारवाहीसमेत गरिएको बताए।

सांसद सङ्ग्रौलाले सरकारले २०७५ को नीति तथा कार्यक्रममा विद्यालय, विश्वविद्यालय, अस्पताल, विमानस्थल, पार्क र सार्वजनिक सेवाबाट प्रदान गर्ने सेवामा नेपालमा गुणस्तर लागू गर्ने भनिएको र त्यो कार्यक्रम कहाँ पुग्यो भनी प्रश्न गरेका थिए। जवाफमा मन्त्री यादवले गुणस्तरका लागि प्राविधिक टोली गठन गरिसकिएको र कार्यान्वयनको चरणमा रहेको बताए। साथै उनले विगतदेखि बिग्रेका भत्केका सबैमा सुधार गर्दै अघि बढेकाले सबै एकैचोटी नहुने उल्लेख गरे। सांसद रामबहादुर विष्टले अछामको विनायक नगरपालिकामा पाइने अति मूल्यवान पत्थर काइनेटको चोरी निकासी रोकथाम गर्न सरकारले के योजना बनाएको छ भनी प्रश्न गरे।

उक्त प्रश्नमाथि सांसदद्वय दिलेन्द्रप्रसाद बडू र प्रेम सुवालले मूल्यवान पत्थर काइनेटको चोरी निकासी नियन्त्रण हुन नसकेको भन्दै पूरक प्रश्न गरेका थिए। जवाफमा मन्त्री यादवले यस वर्षको नीति तथा कार्यक्रममा अध्ययन र उत्खननका लागि प्रक्रिया अघि बढाइएको बताउँदै बहुमूल्य पत्थरको उत्पादन र प्रशोधन गरी निकासीसमेत गरिने जानकारी गराए। चोरी निकासीका लागि सबै उपाय अवलम्बन गरिएको उनको भनाइ थियो।

सांसद पुष्पा भुसालले नेपालमा आयात हुने तरकारी तथा फलफूलमा ८० प्रतिशतभन्दा बढी विषादी पाइएको र ४५ प्रतिशतभन्दा बढी विषादी भएको खाद्यान्नलाई प्रयोग नगरी नष्ट गर्नुपर्नेमा जोड दिए। जवाफमा मन्त्री यादवले तरकारीमा विषादी परीक्षणलाई कडाइ गरिएकाले मुलुक बाहिरबाट ल्याइने मात्र होइन मुलुकभित्रै उत्पादन भएको तरकारीमा पनि विषादी भेटिन सकिने हुनाले परीक्षणलाई निरन्तरता दिइने बताए।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँगका प्रश्नकर्ता सांसद महेन्द्रराय यादव उपस्थित नभएपछि सो मन्त्रालयसँग सम्बन्धित आजका लागि तय गरिएको प्रश्नोत्तरको सूची हुन सकेन।

प्रश्नोत्तरको समय सुरु हुनासाथ सभामुखले मन्त्री पण्डितलाई रोस्ट्रममा बोलाएका थिए । तर, पटक पटक नाम उच्चारण हुँदा पनि प्रश्नकर्ता राय बैठक हलमा नदेखिएपछि मन्त्री पण्डित त्यसै फर्किनु परेको थियो ।

प्रकाशित : श्रावण २८, २०७६ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्

तिहारदेखि बेइजिङ-काठमाडौं सिधा उडान

लक्ष्मी लम्साल

बेइजिङ — आगामी तिहारदेखि बेइजिङ-काठमाडौं सिधा उडान हुने भएको छ। हालै निर्माण सम्पन्न राजधानी बेइजिङभित्रको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘तासिङ अन्तर्राष्ट्रिय विमानस्थल’ असोज १३ देखि संचालनमा आउने भएपछि सो विमानस्थल प्रयोग गर्ने उडानहरूको धमाधम टिकट बिक्री सुरु भएको छ।

तासिङ विमानस्थलबाट आन्तरिक उडान र बाह्य अन्तर्गत काठमाडौं, लण्डन, फिनल्याण्डको हेलसिन्की, मोरोक्कोको कासाब्लांका र जापानको फुकुओकाका लागि टिकट बुकिङ खुल्ला भएको हो।

अग्रिम टिकट बुकिङको जिम्मा पाएको चीनकै विश्वसनीय ‘छ्वी नार्’ ट्राभल अनलाइन कम्पनीले बिक्री गर्ने टिकटमा बेइजिङदेखि काठमाडौंसम्मको यो उडानमा कहीँ कतै ट्रान्जिट भएको नदेखिएपछि सिधा उडान हुन लागेको पुष्टी हुन्छ। सो अनलाइनको तालिका अनुसार तासिङ विमानस्थलदेखि काठमाडौंसम्मको सिधा उडान अक्टुबर २७ अर्थात् कात्तिक १० गतेदेखि हुनेछ। ‘छ्वी नार’को एपमा चिनियाँ भाषामा ‘सि-मा-ला-या हाङ्खुङ्’ अर्थात् हिमालय एयरलाइन्स, उडान अवधि ५ घण्टा ३५ मिनेट, उडान समय बेइजिङ समयअनुसार साँझ १७.४० बजे, विमानस्थलः तासिङ भनेर उल्लेख गरिएको छ। उडान गर्ने विमानमा नेपाल-चीन संयुक्त लगानीमा संचालित हिमालय एयरलाइन्स भनिएको छ।

हिमालय एयरलाइन्सले सीधा उडानका सम्बन्धमा आधिकारिक जानकारी दिइसकेको छैन। एयरलाइन्स स्रोतका अनुसार कागजात बुझाउने र चिनियाँ पक्षबाट स्वीकृत हुने काम बाँकी छ। ‘विषय वा परिस्थितिले अन्य मोड लिएन भने अक्टुबर २७ अगावै सबै प्रक्रिया पूरा भएर सीधा उडान प्रारम्भ हुनेछ’ स्रोतले भन्यो।

हवाई कम्पनीले कागजातको प्रक्रिया जारी राखेको बताएपनि छ्वी नार अनलाइनमा टिकट बेचबिखन नै हुन थालेको छ। बेइजिङस्थित छ्वीनारको कार्यालयले पनि टिकट अनलाइनबाट किन्न सकिने कुरा हटलाइनमार्फत् बतायो।

बेइजिङ-काठमाडौं सीधा उडान हुने भएपछि बेइजिङस्थित नेपाली समुदाय उत्साहित भएको छ। तर चीनका अन्य स्थानबाट हुने सामान्य उडानभन्दा सिधा रूटको विमानको टिकट तुलनात्मक महँगो भएको उनीहरूको गुनासो छ। पहिलो पटक सिधा उडान हुन लागेकोले उत्साहित भएपनि विमानका कागजात प्रक्रियाजस्ता कुराहरू, सम्बन्धित अधिकारीबाट आधिकारिक जानकारी पाई नसकेकाले टिकट बुक गर्ने/नगर्नेमा अलमल भैरहेको उनीहरू बताउँछन्।

गत साउन १० गते नेपाल चीन हवाई सेवा सम्झौता पुनरावलोन गर्न बेइजिङ आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सहितको प्रतिनिधि मण्डल र चिनियाँ उड्डयन प्रशासनबीच भएको वार्तामा बेइजिङ-काठमाडौं सिधा उडानका लागि चीनले सहमति जनाएको थियो। सो सम्झौतापछि हिमालय एयरलाइन्सले सिधा उडान गर्ने भनिएको थियो। सम्झौतापछि नेपाली अधिकारीहरूले आगामी अगष्टमा हिमालय एयरलाइन्सले नयाँ विमान किन्ने वा पुरानैबाट भएपनि सिधा उडान गर्नसक्ने संकेत गरेका थिए।

चाइना डेलीका अनुसार चीनको राजधानी बेइजिङमा बनेको नवनिर्मित तासिङ विमानस्थललाई विश्वका भव्य विमानस्थलमध्येको एक मानिन्छ।

प्रकाशित : श्रावण २८, २०७६ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्