बालुवा झिकेको खाल्डोमा दुईजनाको मृत्यु भएपछि ओखरपौवा तनावग्रस्त
नुवाकोट — ककनी गाउँपालिका–१ ओखरपौवामा बालुवा झिकेको खाल्डोमा परेर दुई जनाको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको छ ।
ककनी गाउँपालिका–१ ओखरपौवाकी १३ वर्षीया विनिता बलामी पौडी खेल्ने क्रममा डुबेकी थिइन् । उनलाई बचाउने क्रममा अर्की महिला समेत डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयालले जानकारी दिए ।
सोमबार अपरान्ह बलामी पौडी खेलिरहेको अवस्थामा डुबेपछि नजिकै खोलाबाट थुन्सेमा बालुवा झिकिरहेकी सिन्धुली पिलल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङले देखेर बचाउन जाँदा उनी समेत डुबेको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताए ।
खोलामा पहिल्यै खाल्डो बनाएको र नपुरेकाले मान्छे डुबेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए । मंगलबार बिहानदेखि उक्त ठाउँमा झडपको स्थिति बनेपपछि सदरमुकाम, ककनी र काठमाडौंदेखि नेपाल प्रहरी र सशस्त्र गरी ५० जना परिचालन गरिएको छ ।
उनीहरुको शव पोष्टमार्टका लागि प्रहरीले लगेको छैन । सहमति भएपछि मात्र शव उठाउने स्थानीयले बताएका छन् । स्रोतका अनुसार कोल्पुखोलाभरि अवैध रुपमा बालुवा झिक्नेले खोलामा खाल्डो बनाएको र सोही खाल्डोमा ज्यान गएको हो । रमण कन्ट्रक्सनका रामकृष्ण रेग्मीको मेसिनले सोही स्थानका मनकृष्ण बलामीले बालुवा झिकेर खाल्डोमा उनीहरु परेको स्रोतले जनायो ।
धादिङ धुनेबेंसी नगरपालिका, नुवाकोटपट्टीको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिका भएर कोल्पुखोला बग्छ । उक्त खोलामा अवैधरुपमा बालुवा झिकेर रातारात काठमाडौं लगेर बिक्री गर्ने गरिएको छ । उक्त खोलाभरी ३० वटा डोजर अवैधरुपमा बालुवा झिक्ने कार्यमा प्रयोग गरिएको पाइएको छ ।
प्रकाशित : श्रावण २८, २०७६ १०:२५