बालुवा झिकेको खाल्डोमा दुईजनाको मृत्यु भएपछि ओखरपौवा तनावग्रस्त

कृष्ण थापा

नुवाकोट — ककनी गाउँपालिका–१ ओखरपौवामा बालुवा झिकेको खाल्डोमा परेर दुई जनाको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको छ । ककनी गाउँपालिका–१ ओखरपौवाकी १३ वर्षीया विनिता बलामी पौडी खेल्ने क्रममा डुबेकी थिइन् । उनलाई बचाउने क्रममा अर्की महिला समेत डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयालले जानकारी दिए । 

सोमबार अपरान्ह बलामी पौडी खेलिरहेको अवस्थामा डुबेपछि नजिकै खोलाबाट थुन्सेमा बालुवा झिकिरहेकी सिन्धुली पिलल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङले देखेर बचाउन जाँदा उनी समेत डुबेको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताए ।

खोलामा पहिल्यै खाल्डो बनाएको र नपुरेकाले मान्छे डुबेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए । मंगलबार बिहानदेखि उक्त ठाउँमा झडपको स्थिति बनेपपछि सदरमुकाम, ककनी र काठमाडौंदेखि नेपाल प्रहरी र सशस्त्र गरी ५० जना परिचालन गरिएको छ ।

उनीहरुको शव पोष्टमार्टका लागि प्रहरीले लगेको छैन । सहमति भएपछि मात्र शव उठाउने स्थानीयले बताएका छन् ।स्रोतका अनुसार कोल्पुखोलाभरि अवैध रुपमा बालुवा झिक्नेले खोलामा खाल्डो बनाएको र सोही खाल्डोमा ज्यान गएको हो । रमण कन्ट्रक्सनका रामकृष्ण रेग्मीको मेसिनले सोही स्थानका मनकृष्ण बलामीले बालुवा झिकेर खाल्डोमा उनीहरु परेको स्रोतले जनायो ।

धादिङ धुनेबेंसी नगरपालिका, नुवाकोटपट्टीको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिका भएर कोल्पुखोला बग्छ । उक्त खोलामा अवैधरुपमा बालुवा झिकेर रातारात काठमाडौं लगेर बिक्री गर्ने गरिएको छ । उक्त खोलाभरी ३० वटा डोजर अवैधरुपमा बालुवा झिक्ने कार्यमा प्रयोग गरिएको पाइएको छ ।

प्रकाशित : श्रावण २८, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्

उपनिर्वाचनको तयारी : कास्की र बागलुङमा थपिए मतदाता

प्रदेश ब्युरो

पोखरा — आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कास्की र बागलुङ निर्वाचन कार्यालयले आन्तरिक तयारी सुरु गरेका छन् । यसैक्रममा दुवै जिल्ला कार्यालयले मतदाता नामावली रुजु गरी निर्वाचन आयोगमा पठाएका छन् ।

दुवै जिल्लामा मतदान हुने निर्वाचन क्षेत्रमा मतदाता थपिएका छन् । कास्की निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा र बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को (२) मा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ ।

पर्यटनमन्त्री भएकै बेला गत फागुनमा हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको मृत्यु भएपछि कास्की–२ खाली भएको थियो । यसैगरी कलेजोसम्बन्धी रोगका कारण गत मंसिरमा प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको मृत्यु भएपछि बागलुङ–२ को २ खाली भएको हो ।

निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीका अनुसार कास्की निर्वाचन क्षेत्र नम्बर २ मा ७२ हजार २ सय मतदाता पुगेका छन । यसअघि २०७४ को निर्वाचनमा यो संख्या ७० हजार ६ सय ५१ थियो । ‘हामीले साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएको संख्या अद्यावधिक गरी केन्द्रमा पठाएका छौं,’ सुवेदीले भने, ‘मतदानस्थल र केन्द्रको अद्यावधिक गर्न पर्न नपर्ने अध्ययनमा छौं ।’ यसअघि उक्त निर्वाचन क्षेत्रमा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र थिए । उनले उपनिर्वाचनका लागि आवश्यक तयारी थालिइसकेको बताए । निर्वाचन क्षेत्रमा पोखरा महानगरका ११ वटा वडाहरू पर्छन् ।

बागलुङका जिल्ला निर्वाचन अधिकारी विकासराज शर्माका अनुसार निर्वाचन क्षेत्र २ को (२) मा ३५ हजार ६ सय ३४ मतदाता पुगेका छन् । अघिल्लो निर्वाचनमा ३३ हजार २ सय ४० मतदाता रहेकामा २ हजार ३ सय ९४ जना थपिएका हुन् । यहाँ ४२ मतदान केन्द्र थिए । बागलुङमा एक वडाध्यक्षको पनि निर्वाचन हुँदै छ ।

बडिगाड गाउँपालिका–२ का अध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि दुई वर्षदेखि पद खाली छ । उक्त वडामा १ हजार ७ सय ७५ मतदाता छन् । अघिल्लो निर्वाचनमा १ हजार ६ सय ७० रहेकोमा १ सय ५ जना थपिका हुन् । ‘तत्कालका लागि निर्वाचनको मिति मात्र घोषणा भएकाले हामीले पछिल्लो तथ्यांक प्रकाशित गरेका हौं, अरू काम निर्वाचन अधिकृतको घोषणापछि मात्र सुरु हुन्छ,’ शर्माले भने, ‘अन्तिम नामावली निर्वाचन मिति घोषणाकै समयलाई मानेर गर्छौं ।’

प्रकाशित : श्रावण २८, २०७६ १०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्