कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भ्रष्टाचार आरोपितले गरे आत्महत्या

आचार्यको गोजीमा भेटिएको सुसाइड नोटमा लेखिएको छ, ‘मैले दुई पैसा पनि खाएको छैन तर देशको ठूलो भ्रष्टाचारी भएँ’ 
डिल्लीराम खतिवडा

उदयपुर — सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको घटनामा लेनदेन गरेको आरोप लागेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरिप्रसाद आचार्यले आत्महत्या गरेका छन् ।

त्रियुगा नगरपालिका १० बोक्से घर भएका ५५ वर्षीय आचार्यलगायत ७ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ ३ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आचार्य स्वैच्छिक अवकाश लिएर बसेका थिए ।


शुक्रबार दिउँसो घरबाट निस्किएका आचार्यलाई शनिबार एक किलोमिटर परको शिखरखुट्टे जंगलमा झुन्डिएको अवस्थामा भेटिएको डीएसपी रामकृष्ण केसीले बताए । परिवारका अनुसार उनी काठमाडौंबाट घर आइपुग्नेबित्तिकै झोला र मोबाइल घरमा छाडेर निस्किएका थिए । परिवारले शुक्रबारै प्रहरीलाई केसी हराएको जानकारी गराएको थियो ।


‘जानकारी आएलगत्तै खोजी सुरु गरिएको थियो,’ केसीले भने, ‘परिवारले दिएको सूचनाका आधारमा खोजी गर्ने क्रममा उनलाई झुन्डिएको अवस्थामा भेटियो ।’ उनी सखुवाको रूखमा प्लास्टिकको डोरीमा झुन्डिएका थिए ।


यसैबीच आचार्यले लेखेको दुईपन्ने सुसाइड नोट प्रहरीले फेला पारेको छ । उनकै टिसर्टको गोजीमा भेटिएको नोट शुक्रबार बेलुकी ६ बजे लेखिएको उल्लेख छ । ‘आचार्यले २४ गते शुक्रबार बेलुकी ६ बजेको मिति र समय राखेर नोट लेख्नुभएको छ,’ डीएसपी केसीले भने, ‘त्यसको वैज्ञानिक परीक्षण गरिनेछ ।’ ‘सतीले सपारेको देश रहेछ, मैले दुई पैसा पनि खाएको छैन तर म देशको ठूलो भ्रष्टाचारी भएँ,’ सुसाइड नोटमा लेखिएको छ, ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस् । मजस्तो निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ काठमाडौंले सहयोग गर्नु ।’


श्रीमतीलाई उनले कान्छो छोरासँगै काठमाडौंमा बस्न भनेर लेखेका छन् । उनले आफ्नो नाममा पुराण नलगाउन पनि भनेको डीएसपी केसीले बताए । नोटमा भैंसी र खसी जतिमा बिक्री हुन्छ, बेचेर सहयोग गरिदिन आफन्तलाई आग्रह गरेका छन् । नोटमा उनले बैंकमा खासै पैसा नभएको बताएका छन् ।


‘वाणिज्य, नेपाल, एनसीसी, एनआईसीलगायत बैंकमा के–कति पैसा छ, मैले चेक दराजभित्रको सानो ब्यागमा राखेको छु,’ उनले लेखेका छन् । उनले छोरालाई स्नातक पढाउन नसकेकामा पछुतो लागेको उल्लेख गरेका छन् । साथै संगठनका साथीहरूले आफूलाई बुझ्ने पनि बताएका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सावित बाँडभन्ज्याङ गाविस ३ को पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहको सरकारी जग्गा व्यक्तिको स्वामित्वमा गएको विषयमा छानबिनक्रममा उनी दोषी देखिएका थिए । उक्त जग्गा व्यक्तिको स्वामित्वमा रहेको सुयल हाउजिङ कम्पनीका नाममा मालपोत कार्यालय कलंकीले गैरकानुनी स्रेस्ता खडा गरेर पुर्जासमेत उपलब्ध गराएको उजुरी परेको थियो ।


घटनामा मालपोत अधिकृत शिवप्रसाद रिमालसहित अन्यविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाही भएको थियो । उनीहरूले त्यसबेलाको न्यूनतम सरकारी मूल्यांकनअनुसार २ करोड २१ लाख १० हजार रुपैयाँ पर्ने सरकारी जग्गा हडप्ने उद्देश्यले गैरकानुनी कार्य गरेको अख्तियारको ठहर थियो ।


आयोगले नक्कली जग्गा धनी मीनाकुमारी थापा, कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गा धनी मीनाका वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

उनका सहकर्मीका अनुसार आचार्यले कलंकी मालपोत कार्यालयमा भएको कमी–कमजोरीबारे सुनाउँदै आएका थिए । झापाबाट सरुवा भएर गएको महिना नबित्दै अख्तियारले फाइल कब्जा गरेको थियो ।


वर्षौं पहिलेदेखि सुयल हाउजिङ कम्पनीका सञ्चालकले जग्गाको नामसारीको विषयमा लपनछपन गर्दै आएको र अन्तिम समयमा सही गर्ने बेला आचार्य परेको ती सहकर्मीले बताए । अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्नुअगाडि नै मालपोतले उक्त जग्गाको नामसारी दर्ता खारेज गरिसकेको थियो ।

प्रकाशित : श्रावण २८, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?