भ्रष्टाचार आरोपितले गरे आत्महत्या

आचार्यको गोजीमा भेटिएको सुसाइड नोटमा लेखिएको छ, ‘मैले दुई पैसा पनि खाएको छैन तर देशको ठूलो भ्रष्टाचारी भएँ’ 
डिल्लीराम खतिवडा

उदयपुर — सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको घटनामा लेनदेन गरेको आरोप लागेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरिप्रसाद आचार्यले आत्महत्या गरेका छन् ।

त्रियुगा नगरपालिका १० बोक्से घर भएका ५५ वर्षीय आचार्यलगायत ७ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ ३ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आचार्य स्वैच्छिक अवकाश लिएर बसेका थिए ।

शुक्रबार दिउँसो घरबाट निस्किएका आचार्यलाई शनिबार एक किलोमिटर परको शिखरखुट्टे जंगलमा झुन्डिएको अवस्थामा भेटिएको डीएसपी रामकृष्ण केसीले बताए । परिवारका अनुसार उनी काठमाडौंबाट घर आइपुग्नेबित्तिकै झोला र मोबाइल घरमा छाडेर निस्किएका थिए । परिवारले शुक्रबारै प्रहरीलाई केसी हराएको जानकारी गराएको थियो ।

‘जानकारी आएलगत्तै खोजी सुरु गरिएको थियो,’ केसीले भने, ‘परिवारले दिएको सूचनाका आधारमा खोजी गर्ने क्रममा उनलाई झुन्डिएको अवस्थामा भेटियो ।’ उनी सखुवाको रूखमा प्लास्टिकको डोरीमा झुन्डिएका थिए ।

यसैबीच आचार्यले लेखेको दुईपन्ने सुसाइड नोट प्रहरीले फेला पारेको छ । उनकै टिसर्टको गोजीमा भेटिएको नोट शुक्रबार बेलुकी ६ बजे लेखिएको उल्लेख छ । ‘आचार्यले २४ गते शुक्रबार बेलुकी ६ बजेको मिति र समय राखेर नोट लेख्नुभएको छ,’ डीएसपी केसीले भने, ‘त्यसको वैज्ञानिक परीक्षण गरिनेछ ।’ ‘सतीले सपारेको देश रहेछ, मैले दुई पैसा पनि खाएको छैन तर म देशको ठूलो भ्रष्टाचारी भएँ,’ सुसाइड नोटमा लेखिएको छ, ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस् । मजस्तो निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ काठमाडौंले सहयोग गर्नु ।’

श्रीमतीलाई उनले कान्छो छोरासँगै काठमाडौंमा बस्न भनेर लेखेका छन् । उनले आफ्नो नाममा पुराण नलगाउन पनि भनेको डीएसपी केसीले बताए । नोटमा भैंसी र खसी जतिमा बिक्री हुन्छ, बेचेर सहयोग गरिदिन आफन्तलाई आग्रह गरेका छन् । नोटमा उनले बैंकमा खासै पैसा नभएको बताएका छन् ।

‘वाणिज्य, नेपाल, एनसीसी, एनआईसीलगायत बैंकमा के–कति पैसा छ, मैले चेक दराजभित्रको सानो ब्यागमा राखेको छु,’ उनले लेखेका छन् । उनले छोरालाई स्नातक पढाउन नसकेकामा पछुतो लागेको उल्लेख गरेका छन् । साथै संगठनका साथीहरूले आफूलाई बुझ्ने पनि बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सावित बाँडभन्ज्याङ गाविस ३ को पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहको सरकारी जग्गा व्यक्तिको स्वामित्वमा गएको विषयमा छानबिनक्रममा उनी दोषी देखिएका थिए । उक्त जग्गा व्यक्तिको स्वामित्वमा रहेको सुयल हाउजिङ कम्पनीका नाममा मालपोत कार्यालय कलंकीले गैरकानुनी स्रेस्ता खडा गरेर पुर्जासमेत उपलब्ध गराएको उजुरी परेको थियो ।

घटनामा मालपोत अधिकृत शिवप्रसाद रिमालसहित अन्यविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाही भएको थियो । उनीहरूले त्यसबेलाको न्यूनतम सरकारी मूल्यांकनअनुसार २ करोड २१ लाख १० हजार रुपैयाँ पर्ने सरकारी जग्गा हडप्ने उद्देश्यले गैरकानुनी कार्य गरेको अख्तियारको ठहर थियो ।

आयोगले नक्कली जग्गा धनी मीनाकुमारी थापा, कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गा धनी मीनाका वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
उनका सहकर्मीका अनुसार आचार्यले कलंकी मालपोत कार्यालयमा भएको कमी–कमजोरीबारे सुनाउँदै आएका थिए । झापाबाट सरुवा भएर गएको महिना नबित्दै अख्तियारले फाइल कब्जा गरेको थियो ।

वर्षौं पहिलेदेखि सुयल हाउजिङ कम्पनीका सञ्चालकले जग्गाको नामसारीको विषयमा लपनछपन गर्दै आएको र अन्तिम समयमा सही गर्ने बेला आचार्य परेको ती सहकर्मीले बताए । अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्नुअगाडि नै मालपोतले उक्त जग्गाको नामसारी दर्ता खारेज गरिसकेको थियो ।

प्रकाशित : श्रावण २८, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

संसद्का गाडी खरिदबारे छानबिन समिति

कान्तिपुर संवाददाता

काठमाडौँ — संसदीय समितिका सभापतिहरूका लागि किनिएका गाडी एक महिनामै बिग्रिएपछि संघीय संसद्ले त्यसको खरिद प्रक्रियाका विषयमा छानबिन थालेको छ ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले चढ्ने स्कोर्पियो ।  तस्बिर : दिनेश रेग्मी/कान्तिपुर

सभापतिहरूले नयाँ गाडी बिग्रिनुमा अनियमितता आशंका गरेपछि राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेर छानबिन सुरु गरिएको हो ।

सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले समिति गठन गरेको समितिमा प्रतिनिधिसभाका ३ र राष्ट्रिय सभाका २ सांसद छन् । सदस्यमा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह, कानुन न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेल, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट छन् ।

सभापतिहरूले नयाँ गाडी बिग्रिनुमा अनियमितताको आशंका हुन सक्छ भनेकाले सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको सभामुख महराले बताए । सभामुख र अध्यक्षसँग शुक्रबार भएको बैठकमा सांसदहरूले छानबिन गर्न माग गरेका थिए । ‘गाडीमा केही पार्टपुर्जा कन्डिसनका छैनन् भन्ने गुनासो आयो, कम्पनीले बदमासी गर्‍यो कि कर्मचारीले गरे पत्ता लगाउन समिति गठन गरेका हौं,’ महराले कान्तिपुरसँग भने, ‘समितिले टेन्डर प्रक्रिया, खरिद प्रक्रिया र कम्पनीका मान्छे बोलाएर बुझ्नेछ ।’

समितिलाई १५ दिन म्याद दिइएको छ । संसद् सचिवालयले १६ वटा समितिका सभापतिका लागि दुई चरणमा गाडी खरिद गरेको थियो । पहिलोपटक ५ वटा र दोस्रोपटक ११ वटा स्कोर्पियो किनिएको थियो । सबै गाडी महिन्द्राको नेपालस्थित बिक्रेता अग्नि इन्कर्पोरेट प्रालिबाट खरिद गरिएको हो ।

सचिवालयका अनुसार वैशाख दोस्रो साता र असार २३ गते ती गाडी किनिएको थियो । पछिल्लोपटक शशि श्रेष्ठ, रामनारायण बिडारी, निरुदेवी पाल, नीरादेवी जैरु, दिलकुमारी (पार्वती) रावल, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, पवित्रा निरौला खरेल, लक्ष्मणलाल कर्ण, परशुराम मेघी गुरुङ र पूर्णकुमारी सुवेदीका लागि गाडी ल्याइएको थियो । पोखरेलबाहेकसबैले गाडी लिइसकेका छन् ।

अधिकांश गाडीमा झ्याल–ढोकाका सिसा खोल्न–लगाउन नमिल्ने, कुनै स्टार्ट नै नहुने, कुनैको वाइफर नचल्ने समस्या देखिएको छ । सबै गाडीको स्पिकरमा समस्या देखिएको छ । राज्य व्यवस्था समिति सभापति शशि श्रेष्ठलाई सुरुमा दिएको ४८७५ नम्बरको गाडीमा गियरको समस्या आएपछि अहिले अर्कै गाडी दिइएको छ । बिग्रिएको गाडी बिक्रेता अग्नि प्रालिले वर्कसपमा लगेर तीन दिनपछि परिसरमा ल्याएर राखिदिएको छ ।

कम्पनीका प्राविधिकद्वारा जाँच
सचिवालयका कर्मचारी र कम्पनीका प्राविधिकले सोमबारै सचिवालय परिसरमा भएका ६ वटा गाडीको जाँच गरेका छन् । उनीहरूले सभापति बिडारीको गाडी सचिवालयबाट उनको निवाससम्म टेस्ट ड्राइभ गरीसचिवालयमै फर्काएका थिए ।

‘हामी कम्पनीबाट आएका ६ जना र सचिवालयको टिमसहित चालकलाई राखेर ६ वटा गाडीको यहीं (सचिवालय परिसर) जाँच गर्‍यौं र बिडारी सरको गाडी नैकापसम्म पुर्‍याएर ल्यायौं, अरू ५ वटा गाडी फिल्डमा रहेकाले जाँच गर्न सकेनौं,’ अग्निका सर्भिस हेड शिवसुदन श्रेष्ठले कान्तिपुरसँगै भने, ‘ठूलो प्राविधिक समस्या केही देखिएन, स–साना नट बोल्ट जोडाइ र एक्सिसरिज फिट सही नभएको देखियो ।’

उनले डेकोरेसन कम्पनी र चालकमा प्राविधिक ज्ञान नहुँदा गाडीमा समस्या देखिएको दाबी गरे । सभापतिहरूले गुनासो गरेपछि गत साता कम्पनीले ११ मध्ये १० वटाको स्पिकर सचिवालयमै आएर फेरेको थियो । ‘महिन्द्रा ब्रान्डको स्पिकरको ठाउँमा सोनीको राखिएको रहेछ, त्यो अलि फिट नभएकाले १० वटा महिन्द्राकै फेरिदियौं, एउटा फेर्न बाँकी छ,’ श्रेष्ठले भने, ‘असार अन्त्यसम्म गाडी बुझाउनुपर्ने भएकाले हतारहतार काम गर्दा केही प्राविधिक समस्या भएको हो, यो नियतभन्दा पनि मानवीय त्रुटि हो ।’ उनले ती गाडी असार १५ गते मात्रैभन्सार छुटाएर ल्याएको बताए ।

सचिवालयको आन्तरिक शाखाका प्रमुख अधिराज राईले प्रक्रियाअनुसार गाडी खरिद गरेर कम्पनी र सचिवालयको प्राविधिक टोलीले जाँच गरी सभापतिहरूलाई उपलब्ध गराएको बताए । ‘परीक्षण गरेरै वितरण गरेका हौं तर पछि विभिन्न समस्या आयो,’ उनले भने, ‘गियरमा समस्या आएको गाडी कम्पनीले वर्कसपमा लगेर ल्याइदिएको छ, अर्को परिवर्तन गर्‍यो कि त्यसैलाई बनायो, थाहा भएन, अहिले परिसरमै छ ।’

प्रकाशित : श्रावण २८, २०७६ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्