स्थानीय योजनामा भारतीय कामदार

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका– २ नागेश्वरीका छत्र लिम्बू विदेशमा छन् । रोजगारीकै लागि मलेसिया पुगेका उनी त्यहाँ निर्माण क्षेत्रमा काम गर्छन् । तीन वर्षअघि विदेसिएका उनले पठाएको रकमबाट घरखर्च चलेको परिवारका सदस्य बताउँछन् । 

यही गाउँका लोकनाथ गुरागाइँ पनि विदेशमै छन् । उच्च शिक्षा पढदापढदै बिदेसिएका उनी प्रत्येक दुई वर्षमा आउँछन् र जान्छन् । कतारको प्रचण्ड गर्मीमा काम गर्न कठिन भए पनि साथीभाइसँग बिदेसिनु बाध्यता भएको भनी सुनाउँछन् । छत्र र लोकनाथ मात्रै नभएर यो गाउँका धेरै युवा विदेशमा छन् । कतिपय बाध्यताले होलान्, कतिपय भने लहैलहैमा पनि बिदेसिएका हुन् ।

हिजोआज गाउँदेखि नगरसम्म विकास निर्माण भइरहेका छन् । कतै सडकको काम भएको छ त कतै पुल बनिरहेका छन् । तमोर नदीको दोभानदेखि दगुर्नेसम्म तीनवटा ठूला मोटरेबल पुल निर्माणाधीन रहेका छन् । यी प्रत्येक पुल कम्तीमा १० करोड रुपैयाँका हुन् । सानिमा हाइड्रो इनर्जीले पनि खोक्लिङको थुम्वामा पुल बनाइरहेको छ । गाउँका युवा रोजगारीका लागि बिदेसिएका छन् तर यहाँकै निर्माण व्यवसायी कामदार नपाएको दुःखेसो पोख्छन् । उनीहरूले आफूले पाएको ठेक्का पूरा गर्न भारतीय मजदुरको भर पर्नुपरेको सुनाउँछन् । बन्दैगरेका पुलमा काम गर्ने गाउँका युवा नभएर भारतीय मजदुर मात्रै भेटिन्छन् ।
निर्माण व्यवसायी महासंघका उपाध्यक्ष दिपेन पोमुको भारतीय मजदुर लगाउनु बाध्यता भएको दाबी छ । ‘एक त गाउँमा काम गर्ने मान्छे नै छैन,’ पोमुले भने, ‘भएकाहरू पनि ध्यान दिएर समयभर काम गर्नै मान्दैनन् ।’ अहिलेका राजनीतिमा निर्माण व्यवसायीको संलग्नता रहेकाले गाउँका युवालाई काम दिएर भोट बढाउने सम्भावना नरहेको उनले बताए ।

काबेली ए हाइड्रो पावरका प्रबन्धक इन्जिनियर वीरेन्द्र श्रेष्ठ तीन कारणले विदेशबाट कामदार ल्याउनु परेको बताउँछन् । एक, भारतबाट ल्याएका कामदार दक्ष हुन्छन्, हात छिटो चलाउँछन् र कामले गति पाउँछ । दुई, उनीहरू बिहानदेखि बेलुकासम्म काम गर्छन् । तीन, दिनहुँजसो पैसा खोज्नु र दिनुपर्ने बाध्यता हुँदैन आउने बेलामा पेस्की र जाने बेलामा एकमुष्ट पैसा दिए पुग्छ । नेपाली कामदारको भने निरन्तरता नहुने, दिनहुँ पैसा दिनुपर्ने र घरायसी समस्या देखाएर पेस्की माग्ने र काममा कम दक्षता रहेको उनले सुनाए । नेपालीको तुलनामा भारतीय कामदार सस्तो पनि भएको निर्माण व्यवसायी बताउँछन् ।

पुलको फलाम जोड्नमा त शतप्रतिशत जस्तो भारतीय मजदुर कार्यरत छन् । ढलानलगायतको काम नेपालीले गरे पनि राम्रो दक्षता नभएको र बिग्रिए दोहोरो झन्झट बेहोर्नुपर्ने भएको व्यवसायीको तर्क छ । काममा दक्षता राखे र इमान्दारिता प्रदर्शन गर्न सके नेपाली नागरिकले पनि धेरै हदसम्म रोजगारी पाउने व्यवसायी उदय आङवोहाङ बताउँछन् ।

उनका अनुसार निर्माण क्षेत्रमा काम गर्नेले विदेशमा जत्तिकै श्रम पनि पाउँछन् । ‘यहींका भए ल्याउने लैजाने झन्झट हुँदैन र केही बढी नै पैसा पनि दिन सकिन्छ,’ उदयले भने, ‘तर दक्षता नभए आफैं फस्न सक्ने भएकाले त्यसमा चाहिँ सम्झौता हुँदैन ।’

प्रकाशित : श्रावण २७, २०७६ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्

पुनर्निर्माण नहुँदा चौरमै प्राज्ञिक कक्षा

त्रिवि नेतृत्वको बेवास्ताले आंगिक क्याम्पसमा विद्यार्थी घट्दै
गणेश राई

काठमाडौँ — २०७२ को भूकम्पले क्षति पुगेका धेरै शिक्षालयमा नयाँ संरचना बनेका छन् । तर त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ताहाचलस्थित महेन्द्ररत्न शिक्षा क्याम्पसका ६ वटा भवन पुनर्निर्माण नहुँदा शिक्षकले चौरमै बसेर विद्यार्थीको शोधकार्य परामर्श, विषयगत अभ्यासजस्ता प्राज्ञिक कार्य गर्न/गराउँदै आएका छन् । 

काठमाडौं महानगरपालिका–१३ स्थित यो क्याम्पस त्रिविको ६१ आंगिकमध्ये एक हो । शिक्षाशास्त्र मात्र पढाइ हुने यो क्याम्पस ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । क्याम्पस प्रमुख कृष्णप्रसाद ढकालका अनुसार १२ वटा भवनमध्ये भूकम्पले ९ वटामा क्षति पुगेको छ । तीमध्ये तीनवटा भवन मात्र बस्न योग्य छन् । ६ वटा पूर्ण रूपमा बस्न अयोग्य र तीनवटा पचास प्रतिशतभन्दा बढी क्षति भएको पुनर्निर्माण प्राधिकरणले प्रमाणित गरेको छ । पूर्ण रूपमा क्षतिग्रस्त भवनमा १३ वटा विषयगत विभाग थिए ।

प्राध्यापक कक्ष, शिक्षाशास्त्र, अंग्रेजी, नेपाली, गणित, विज्ञान, स्वास्थ्य र शारीरिक, जनसंख्या तथा भूगोल, अर्थशास्त्र, इतिहास, राजनीतिशास्त्र, शिक्षण अभ्यासलगायत विभाग रहेका संरचना ध्वस्त छन् । ‘भवन ध्वस्त भएपछि ठाउँको अभावमा शिक्षकले चौरमै बसेर प्राज्ञिक कार्य गर्नु परिरहेको छ,’ ढकालले भने, ‘विश्वविद्यालय नेतृत्व र पुनर्निर्माण प्राधिकरणलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएका छौं । सम्भवतः अबचाहिँ प्रक्रिया अघि बढ्ने ठानेका छौं ।’

अघिल्लो नेतृत्वले सक्रियता देखाउन नसक्दा पुनर्निर्माण ढिलो भएको उल्लेख गर्दै ढकालले आफूले गत वर्षदेखि मात्र क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेको बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा २५ करोड रुपैयाँ लागतको भवन निर्माण प्रस्ताव अघि बढाइएको उनले जनाए । ‘भवन निर्माणका लागि लागत स्टिमेट प्रस्ताव गरेका छौं,’ उनले भने, ‘त्यसमा एउटा वा दुइटा चारतले २८ कोठाको भवन हुनेछ ।’ उनले भूकम्पपछि भवन मात्र नभई खानेपानीको समेत समस्या व्यहोर्दै आएको जनाए ।

त्रिभुवन विश्वविद्यालयले भूकम्पबाट १० अर्बको भौतिक क्षति व्यहोरेको उसको प्रतिवेदनमा छ । त्यसपछिका चार वर्षमा ४ अर्बको पुनर्निर्माण गरेको त्रिविले उल्लेख छ ।

महेन्द्ररत्न क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा २ हजार ८ सय २९ विद्यार्थी छन् । त्यसमध्ये चारवर्षे बीएडमा २ हजार, एक वर्षे बीएडमा दुई सय र एमएडमा ६ सयभन्दा बढी छन् । स्नातकोत्तर र बीएड आईसीटी कक्षा सेमेस्टरमा रहेका छन् । स्नातकका अरू विषय वार्षिक परीक्षा प्रणालीमा सुचारु छन् । शिक्षाशास्त्र संकाय शिक्षण जनशक्ति उत्पादनकै निम्ति खुलेका हुन् । कक्षा १२ सम्म जुनसुकै विषय पढेकाले बीएड पढ्न पाउँछन् । शिक्षाशास्त्र अनिवार्य विषय हो भने अंग्रेजी, नेपाली, विज्ञान, गणितलगायत मेजर विषय रोज्न सक्छन् ।
क्याम्पस प्रमुख ढकाल विद्यार्थीलाई त्रिविको नियमानुसार तोकिएको कोटामा निःशुल्क वृत्ति र छात्रवृत्ति दिइँदै आएको बताउँछन् । जसबापत वार्षिक ३ हजार र ४ हजार रुपैयाँ पाउँछन् । ‘गत वर्षबाट काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनमार्फत १२ जनालाई वार्षिक ८ हजार छात्रवृत्ति दिलाएका छौं,’ छात्रवृत्तिको निरन्तरता र थप व्यवस्थाबारे उनले भने, ‘कोरियाको एसिया फाउन्डेसनले यो वर्षबाट ८ विद्यार्थीलाई वार्षिक ५ सय डलरका दरले छात्रवृत्ति दिने सम्झौता भएको छ ।’

क्याम्पसको नतिजा भने कमजोर छ । रेकर्डअनुसार विद्यार्थी उत्तीर्ण प्रतिशत बीएडमा २४ प्रतिशत र एमएडमा २७ प्रतिशत मात्र छ । क्याम्पसमा हाल प्राध्यापक १३ जना, सहप्राध्यापक ४३, उपप्राध्यापक ७४ र शिक्षण सहायक १५ जना कार्यरत छन् । आंशिक शिक्षक ५० जना जति छन् । ४७ जना कर्मचारी सेवारत छन् ।

विभागीय प्रमुख सहप्राध्यापक बद्रीप्रसाद बिडारीका अनुसार यो क्याम्पस २०१३ सालमा स्थापना गरिएको हो । २०३२ सालमा ताहाचलस्थित ५२ रोपनी क्षेत्रफलमा सारिएको थियो । विश्व बैंकको सहयोगमा सुचारु उच्च शिक्षा परियोजना (एचईआरपी) अन्तर्गत यो क्याम्पस २०६९ सालदेखि स्वायत्तता प्राप्त छ । जसअनुसार पाउँदै आएको सुविधा नघट्ने र नयाँ कार्यक्रम थप गर्न सक्छन् ।

प्रकाशित : श्रावण २७, २०७६ २०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्