२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लामो समयदेखि काठमाडौं र पोखरामा सिक्री थुतेर आतंक मच्चाउने ग्याङ पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — केही महिना यता जिल्ला प्रहरी कार्यालय कास्की र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीहरु हैरान थिए । दुवै जिल्लामा उस्तै प्रकृतीको घटनाको श्रृंखला चलिरहेको थियो । मोटरसाइकलमा आउने र सडक वा पेटीमा हिँडिरहेका महिलाको घाँटीबाट सुनको सिक्री थुतेर बेपत्ता हुने ।

लामो समयदेखि काठमाडौं र पोखरामा सिक्री थुतेर आतंक मच्चाउने ग्याङ पक्राउ

प्रहरी कार्यलयमा चेन थुतिएको दर्जन बढी घटनाका उजुरीहरु आइसक्दा पनि प्रहरीले न घटनामा संग्लनको पहिचान गर्न सकेको थियो न शंकाको सुई नै ठिक दिशातिर सोझिएको थियो ।


करिब डेढ महिना अघि मात्रै स्वयम्भु र कलंकीबाट महिलाको घाँटीबाटै सुन सिक्री थुतेर लुटिएको सूचना प्रहरी परिसर काठमाडौंमा आयो । प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज झिकायो, पीडितहरुको बयान पनि लियो । तर प्रहरीले घटनामा संग्लन व्यक्तीको पहिचान भने गर्न सकेन ।

प्रहरीले फेला पारेको सिसिटिभी फुटेजमा एकजना निलो ज्याकेट लगाएको व्यक्तिले मोटरसाइकल चलाइएको देखिन्थ्यो भने पछाडि बस्ने व्यक्तिको हुलिया चिनिँदैनथ्यो । प्रहरीले मोटरसाइकल नम्बरका आधारमा केही सुराकी पाउन सकिन्छ कि भनेर पनि प्रयास नगरेको होइन । तर त्यसबाट पनि उल्लेख्य सफलता हासिल हुन् सकेन ।


प्रहरीले अनुसन्धानको सुई एउटै दिशामा केन्द्रित गर्न मुश्किल भइरहेका बेला सुनको सिक्री थुतेर भाग्ने घटना भने निरन्तर चलिरहेको थियो । गत बैशाख यता मात्रै पोखरामा सुनको सिक्री लुटेर भाग्ने २१ वटा घटना प्रहरीमा आइपुगेका थिए । यस्तै घटना काठमाडौंमा भने दशवटा भएको थियो । अनुसन्धान अधिकारीहरु एउटा तथ्यमा भने विश्वस्त थिए कि घटनामा एउटै समुह संग्लन छ ।

घटना विवरण केलाउँदा थाह हुन्थ्यो, सबै जसो घटनाको प्रकृति एउटै छ ।

लामो अनुसन्धानपछि शनिबार मात्रै प्रहरी परिसर काठमाडौंले सुनको सिक्री लुट्ने गिरोहका दुईलाई काठमाडौंबाट र एकलाई पोखराबाट पक्राउ गर‍्‍यो । पक्राउ पछि थाह भयो, टमबहादुर सुनवार र टलकबहादुर रायमाझी काठमाडौंमा बसेर र पोखरामा बसेर प्रकाश सुनवार सुनको सिक्री थुतेर भाग्ने योजना बनाउँथे ।

प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार पोखरा बस्ने प्रकाश हप्ता दिनसम्म शहरमा रेकी गर्न हिँडथे । कसले सुनको सिक्री लगाएर हिँड्छ, को कुन बाटो हुँदै हिँड्छ भन्नेजस्ता सूचना संकलन गर्थे । चार–पाँच जनाको सूचना संकलन गरेपछि प्रकाशले काठमाडौं बस्ने टमलाई बोलाउँथे । टमले मोटरसाइकल चलाउँथे, प्रकाश पछाडि बस्थे । अनि एकान्त स्थानमा हिँडिरहेका महिलाको घाटीमा हात पुर्‍याउँथे । स्वाट्ट चेन थुत्थे र बेपत्ता हुन्थे ।

अनौठो त के छ भने प्रहरीलाई छक्याउन यो समूहले प्रत्येक पल्ट मोटरसाइकलमा नक्कली नम्बर प्लेट राखेको देखिन्छ । सकेसम्म अँध्यारो, एकान्त र सिसिटिभी को कभरेज क्षेत्रभन्दा बाहिर मात्रै सुनको सिक्री थुत्ने गरेकाले उनीहरुले लामो समयसम्म प्रहरीलाई झुक्याउन सफल भइरहेका थिए ।

प्रहरीलाई लामो समयदेखि झुक्याउन सफल लुटेराहरुको लुट्ने तरिका बारे विस्तृत अध्ययन गरी काठमाडौंको दशवटा सम्भावित स्थानमा सादा पोसाकमा प्रहरी खटाएको थियो । अन्तत: त्यसैको फन्दामा उनीहरु परे । प्रहरीले शंकाकै आधारमा धापासीबाट टमबहादुरलाई पक्राउ गरेको हो । उनीसँग सोधपुछ गर्दा अन्यको पनि विवरण खुलेको हो । टमले दिएको जानकारीकै आधारमा टलक भैंसिपाटीमा पक्राउ परे भने दुईजना प्रहरीको फन्दामा परेको सूचना पाएर भागेका प्रकाशलाई पक्राउ गर्न केही मेहेनत पर्‍यो । उनी भागेर बाग्लुङ पुगेका थिए । पोखराको प्रहरीले उनलाई बाग्लुङबाटै पक्राउ गरेको हो ।


यसरी संकलन गरेको सुन काठमाडौं लगेपछि बेच्ने जिम्मा भने टलकले लिएका थिए । काठमाडौंका सुन पसले, सुन पसलका कालीगढ र सस्तोमा सुन किन्न चाहनेहरुसँग सर्म्पक बनाएका टलकले सुन बेचेर प्राप्त पैसा भागशान्तीले बाँढ्थे ।

प्रहरीका अनुसार यो टोलीले पोखरामा जस्तै काठमाडौंमा पनि रेकी गर्थ्यो, पोखराबाट प्रकाश काठमाडौं आउँथे, काम सम्पन्न गर्थ्यो र आफ्नो भाग लिएर पोखरा नै फर्किन्थ्यो । डिएसपी बोगटीका अनुसार केही वर्षयता यो समुहले पोखरा र काठमाडौंमा यसैगरी सुनको सिक्री थुत्ने धन्दा चलाइरहेको थियो ।


प्रहरीले अवैध सुन किन्ने काममा संग्लन भारतको पश्चिम बंगाल घर भई बालकुमारीमा सुन पसल गर्ने देवासिस दोलहीलाई पनि पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले २ लाख ५० हजार रुपैयाँ, सुन लुटन प्रयोग भएको बा २९ ख ७२७६ नम्बरको मोटरसाइकल र सुन तौलिने मेसिन पनि बरामद गरेको छ ।


प्रहरीका अनुसार पक्राउ परेका तीनैजनाको वर्षौं लामो आपराधिक पृष्ठभूमि देखिन्छ । टम र टलक सुनको सिक्री थुत्ने यस्तै अपराधको अभियोगम तीन वर्ष कैद सजाय भुक्तान गरेर दुई वर्ष अघि मात्रै थुनामुक्त भएका थिए । थुनामुक्त भएलगत्तै उनीहरुले पुरानै शैली अपनाएर अपराधको संसारमा प्रवेश गरेको देखिन्छ ।

डिएसपी बोगटीले भने, ‘प्रहरीमा आएको संख्या भन्दा धेरै पीडितहरु हुन सक्ने देखिन्छ । किनकी उनीहरुले श्रृंखलावद्ध रुपमा सिक्री थुत्ने गरेको देखिन्छ ।’

प्रकाशित : श्रावण २७, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?