२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

गाउँपालिका र विद्यालय एउटै भवनमा

लीलावल्लभ घिमिरे

पाँचथर — आठ कोठा भएको एक तले भवन । माथिल्लो तलाको चार कोठामा गाउँपालिका कार्यालय त्यसको ठिक तल विद्यालयका कक्षा कोठा । माथिल्लो तलमा दैनिक सेवाग्राहीको घुइँचो हुन्छ । सभाहलमा कुनै न कुनै बैठक, सेमिनार, गोष्ठी र कार्यक्रम सञ्चालन भइरहेको हुन्छ । त्यस ठिक तल शिक्षकहरु खचाखच भरिएका कोठामा अध्यापन गराइरहेका हुन्छन् । 

गाउँपालिका र विद्यालय एउटै भवनमा

दुई वर्षदेखि फाल्गुनन्द गाउँपालिका कार्यालय र पञ्चमी माध्यमिक विद्यालय यसरी नै चलिरहेका छन् । गाउँपालिकाको केन्द्र राख्ने विवादका कारण कार्यालय भवन बन्ने सुरसार अहिलेसम्म छैन । स्थानीय तहको निर्वाचन सकिएसँगै जनप्रतिनिधिहरु आएर यही विद्यालयको भवनमा बसे । २ वर्षसम्म नि:शुल्क बसेको गाउँपालिकाले यो साउन महिनादेखि मासिक भाडा बापत २० हजार दिने निर्णय त गरेको छ तर विद्यालयको चार कोठे पुरानो भवन वर्षाले भत्किएपछि कक्षा सञ्चालनमा समेत कठिनाइ हुन थालेको छ ।


‘विद्यालय र गापा दुवैलाई बाधा पुगेको छ’, फाल्गुनन्दका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले भने, ‘तर हामीसँग विकल्प नभएका कारण विद्यालयकै भवनमा बस्न बाध्य छौँ ।’ विद्यालयका भएमध्येका नयाँ र ठूलो भवनमा गाउँपालिका कार्यालय बसेसँगै पठनपाठनमा समेत प्रभावित हुने गरेको छ । विद्यालयको माथिल्लो तलाको चार कोठामा गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सबै काम सञ्चालनमा छन् । त्यसको तल पञ्चमी माविका कक्षा ८, ९ र १० सञ्चालनमा छन् । विद्यार्थी बढी भएकाले एउटै कक्षालाई २ सेसन बनाएको छ ।


दैनिक कामका लागि गाउँपालिकामा ७० जनाभन्दा बढी सेवाग्राहीहरु आउने गर्छन् । केही समयअघि आर्थिक वर्षको अन्त्यतिर त सेवाग्राहीको मेला नै लागेको थियो । यसले गर्दा विद्यार्थीहरुको पठनपाठनमा बाधा पुग्ने गरेको छ । यो विद्यालयमा ४ सय ८५ भन्दा बढी विद्यार्थी छन् ।


यो गाउँपालिका प्रमुख अमर कुमार नेम्बाङको गएको माघ महिनामा एक कार्यक्रममा सहभागी भएकै अवस्थामा हृदघातका कारण मृत्यु भएको थियो । आउने मंसिरमा निर्वाचनको तयारीसँगै गाउँपालिकातिर पनि चहलपहल बढेको छ । यसले झनै विद्यार्थीको पठनपाठनमा बाधा पुग्ने पक्का छ ।


गाउँपालिकाले भवन बनाउनका लागि आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन त गरेको छ तर भवन कहाँ बनाउने भनेर विवाद लामो समयदेखि चलिरहेको छ । एकपक्ष अहिले रहेको घुर्विसे पञ्चमीमा नै भवन बनाउनु पर्ने भन्दै आएका छन् भने अर्को पक्ष कोलबुङमा सार्नु पर्ने माग गर्दै आएका छन् ।


‘भवन भत्केपछि कक्षा सञ्चालन गर्न कठिनाइ भएको छ’ शिक्षक सुरेन्द्रप्रसाद लामिछानेने भने, ‘पुरानो भवन भत्कियो अब गापाले अर्को भवन बनाइ दिनुपर्छ ।’ गाउँपालिका कहाँ राख्ने विवाद भएका कारण भवन बनाउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीले बताए । ‘पछिल्लो समय पञ्चमी र कोलबुङकोबीचमा राख्ने सहमति त भएको छ’, तिखत्रीले भने, ‘अहिले हामी जग्गा खोज्ने क्रममा छौं । सात वडा रहेको यो गाउँपालिकाका वडा ३ र ६ समेत कार्यालय विहीन छन् । ती वडाहरु भाडाका भवनमा राखिएको छ । पाँचथरको तेस्रो ठूलो पालिका भनिएको फाल्गुनन्दमा २५ हजारको हाराहारीमा जनसंख्या छ । गाउँपालिका प्रमुखको निधनसँगै गापाको केन्द्र कहाँ राख्ने भन्ने विवादको पनि टुंगो लाग्न सकेको छैन ।


यसैगरी जिल्लाको अर्को हिलिहाङ गाउँपालिकामा पनि केन्द्रको विवाद छ । उक्त गापामा वडा ३ मा रहेको गोपेटारमा केन्द्र बनाउने कि हाल रहेको वडा ४ पञ्चमीमा नै बनाउने भन्ने विवादले अहिलेसम्म कार्यालय भवन बन्न सकेको छैन ।

प्रकाशित : श्रावण २७, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?