१० युवा प्रतिभालाई सम्मान

रासस

काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा  विभिन्न युवा प्रतिभालाई सम्मान गरेको छ । मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित ‘राष्ट्रिय  युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विभिन्न क्षेत्रमा योगदान पुर्याएबापत १० जना युवालाई सम्मान गरेका हुन् । 

सम्मानित हुनेमा विज्ञान प्रविधितर्फ तेह्रथुमका गणेशविक्रम सिंह आले र जुम्लाका यज्ञप्रसाद देवकोटा रहेका छन्। दुवै जनालाई जनही ५० हजार नगद राशीसहित सम्मान गरिएको हो।नेपालमा नै बम डिस्पोजल गर्ने रोबर्ट निर्माण गरेको र विभिन्न किसिमका ड्रोन निर्माण तथा अनुसन्धान गरेको भन्दै उनीहरुलाई सो सम्मान गरिएको हो। आले र देवकोटाले बनाएको डिस्पोजल गर्ने रोबर्ट नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले प्रयोग गर्दै आएको छ।

यसैगरी विज्ञान प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत दाङका मार्शल रोका र कैलालीका सुमन पौडेललाई पनि जनही एक लाख नगद राशीसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ।रोकालाई सल्लाको खोटोबाट इन्धन उत्पादन, स्वचालित पानी तान्ने मेशिन निर्माण र कुखुराको मलबाट उत्पन्न गन्ध कम गर्ने रसायन उत्पादन तथा पौडेलले चालक निदाउँदा आफैँ ब्रेक लाग्ने यन्त्र निर्माण र कैलालीमा निजी पहलमा विज्ञान संग्रहालय स्थापना गरेको भन्दै उनीहरुलाई सो सम्मानबाट सम्मानित गरिएको हो।

यस्तै न्यून दृष्टियुक्त व्यक्तिलाई प्रतिघण्टा १० मिनेटका दरले लोकसेवा आयोगको परीक्षामा समय थप गर्न पहल गरेकाले नेत्रहीन युवा संघ नेपाललाई शिक्षातर्फको १ लाख राशीसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ।यसैगरी इप्सा नेपाल, काठमाडौँलाई रोजगारी उद्यमशीलता सम्मान प्रदान गरिएको छ। एक लाख नगदसहित अपांगता भएका व्यक्ति एवं एकल महिलालाई सीपमूलक तालिम प्रदान गरी रोजगार र स्वरोजगार प्रदान गरेको भन्दै सो सम्मान गरिएको हो।

यसैगरी स्वजन रघुवंशी, ललितपुरलाई कलासंस्कृति सम्मानबाट सम्मानित गरिएको छ। कार्तिक नाचलगायत प्राचीन सांस्कृतिक नाचको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको तथा ८ वटा विधामा एकल नृत्य प्रस्तुत गरेको भन्दै उनलाई रु एक लाख नगदसहित सम्मान गरिएको हो।

त्यस्तै अल्लोको सामग्री उत्पादन र ६ भन्दा बढी मुलुकमा निर्यात गरेको भन्दै उद्यमशीलता सम्मानबाट ललितपुरकी माला थापा मगर सम्मानित भएकी छन्। टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गरेको भन्दै बर्दियाका टोपलाल विकलाई कृषि सम्मान, रक्तदान कार्यक्रम निरन्तर सञ्चालन र किशोरीका लागि आत्मरक्षाका तालिम दिएको भन्दै पर्साका राजनकुमार श्रीवास्तव सम्मान प्रदान गरिएको छ। २ हजारभन्दा बढी युवालाई निःशुल्क तथा सःशुल्क ब्युटिसियन तालिम प्रदान गरी स्वरोजगार बनाएकी नवलपुरकी एकल महिला उद्यमी सृजना सोतीपनि सम्मानित भएकी छन्।

प्रकाशित : श्रावण २७, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)

दीपक परियार

मुस्ताङ — मुक्तिनाथ मन्दिरको फेदी रानीपौवामा सोमबारदेखि यार्तुङ महोत्सव सुरु भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र स्थानीय जनप्रिय युवा क्लबले ऐतिहासिक पर्व यार्तुङ महोत्सवको आयोजना गरेका हुन् । बिहीबारसम्म चल्ने महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे । उनी घोडामा सवार भएर कार्यक्रमको उद्घाटन गरेका थिए । स्थानीय युवाले घोडचढी कौशल प्रदर्शन गरे । घोडामा चढेर खादा टिप्ने, पैसा टिप्ने लगायत कौशलको प्रदर्शन उनीहरुले गरे ।

खेतीपाती थन्क्याएर बर्खालाई बिदाइ गर्ने पर्वका रुपमा मुस्ताङमा ‘यार्तुङ’ मनाइन्छ । जनैपूर्णिमाको दिन विशेष रुपमा यार्तुङ मनाउन वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ रानीपौवा क्षेत्र झकिझकाउँ छ । पर्यटन बोर्डको सहयोगमा यार्तुङलाई सोमबारदेखि बिहीबारसम्म महोत्सवकै रुपमा मनाइएको हो । पहिले एकदिन मात्रै यार्तुङ मनाइने भएपनि क्लबले केही वर्षयता भने महोत्सवकै रूपमा मनाउँछ । गाउँपालिकाले महोत्सव पहिलोपल्ट आयोजना गरेको हो ।

हरेक वर्ष मनाइने ऐतिहासिक यार्तुङ मेला मुस्ताङमा विशेष रुपले मनाइन्छ । हिमाली भेगहरु मनाङ, गोरखाको चुम–नुब्री, डोल्पामा समेत यार्तुङ मनाउने गरिएको छ । मुक्तिनाथ रानीपौवाका व्यवसायी सुरज गुरुङका अनुसार पहिला तिब्बती क्यालेन्डरअनुसार यार्तुङ मनाइन्थ्यो । अहिले भने नेपाली पात्रोअनुसार नै मनाइन्छ । स्थानीयले सल्लाह गरी केही वर्षयता हरेक वर्ष जनैपूर्णिकाको दिन यार्तुङ मनाउन थालेका हुन् । तिब्बती भाषामा ‘यार’ को अर्थ ‘बर्खा’ र ‘तुङ’ को अर्थ ‘मेला’ हुन्छ । बर्खालाई बिदाइ गर्ने पर्वको रुपमा हिमाली भेगका स्थानीयले यार्तुङ मनाउने गर्छन् । यार्तुङमा हुने गतिविधि घोडचढीसँग जोडिन्छन् ।

मुस्ताङका स्थानीय युवाले घोडचढी कौशल देखाउने अवसरको रुपमा यार्तुङलाई लिन्छन् । यार्तुङको समयमा स्थानीयवासीले विशेष गरी गरगहना सापटी मागेर लगाउने प्रचलन समेत छ । गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङका अनुसार यार्तुङ मनाउने दिन स्थानीय आआफ्नो घोडा सजाएर गुम्बामा भेला हुन्छन् । मुक्तिनाथ मन्दिर पुग्छन् । त्यहाँ रहेको नरसिंह गुम्बामा पूजाआजा गरी साँझतिर आफ्नो टोलमा फर्कन्छन् । घोडचढीका लागि तयार गरिएको स्थानमा स्थानीय युवाले घोडचढी कौशल प्रदर्शन गर्छन् ।

परम्परागत रुपमा मनाइँदै आएको यार्तुङ पर्वलाई संरक्षण गर्न यसलाई महोत्सवको रुप दिइएको उनी बताउँछन् । ‘ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वको यार्तुङ महोत्सवलाई यसपटक बृहत रुपमा सञ्चालन गरेका छौं,’ उनले भने, ‘गाउँपालिका भित्रको साँस्कृतिक विविधता प्रदर्शन, गाउँ गाउँ बीचका युवाको सम्बन्ध प्रगाढ बनाउन महोत्सव लाभदायी हुने छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीका अनुसार महोत्सव सुरु हन थालेदेखि घोडचढीलाई प्रतियोगिताको रुपमा मनाउन थालिएको छ । बुधबार ३.५ किलोमिटर र १.५ किलोमिटर गरी दुई फरक दुरीको घोडा दौड प्रतियोगिता महोत्सवमा हुनेछन् । घोडा दौड झारकोटदेखि रानीपौवासम्म तय गरिएको छ । विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रस्तावित हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माणस्थलमा सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुँदैछ ।

हिमालको काखमा मुक्तिनाथका साथमा याकमा सवार गर्न सकिने छ । गाउँपालिका भित्रका १९ गाँउका परम्परागत भेषभुषा प्रदर्शन महोत्सवमा हुने छ । ऐतिहासिक मास्क डान्स महोत्सवको आकर्षण हो । मुस्ताङमा यार्तुङ मनाउन विदेशमा रहेका मुस्ताङबासी समेत फर्केर आउँछन् । महोत्सवमा दुई करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । १० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान छ । फापरको पिठो, खुपार्नी, स्याउ तथा जिम्मु लगायत स्थानीय उत्पादनको विक्री वितरण महोत्सवमा हुने छ ।

पर्यटन बोर्डका पोखरा कार्यालय प्रबन्धक सूर्य थपलिया महोत्सवले प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष २०१९ र नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षा गर्छन् । ‘मुस्ताङको प्रकृतिको मार्केटिङ अब त्यति धेरै आवश्यकता पर्दैन,’ उनी भन्छन्, ‘यहाँका चाडपर्वलाई ‘ब्रान्डिङ’ गरेर अझैं धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’


प्रकाशित : श्रावण २७, २०७६ १७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्