२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

त्रिशूली बस दुर्घटना : बेपत्ता यात्रुको खोजी गर्न ५ जिल्लाका प्रहरी परिचालन 

हरिहरसिंह राठौर

कुरिनटार — पृथ्वीराजमार्गको बेनिघाट रोराङ–३ स्थित मालिङ्गामा शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता यात्रुहरुको खोजी गर्न पाँच जिल्लाका प्रहरी परिचालन गरिएकाे छ ।

त्रिशूली बस दुर्घटना : बेपत्ता यात्रुको खोजी गर्न ५ जिल्लाका प्रहरी परिचालन 

बेपत्ता यात्रुकाे खाेजी प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी बग्ने अन्य ४ जिल्लाका सुरक्षा निकायका अधिकारीसँग समन्वय गरेकाे हाे ।


धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अगुवाइमा धादिङ, गोरखा, चितवन, तनहुँ र पूर्वी नवलपरासी पुगेर सुरक्षा प्रमुखहरुलाई भेट गरि नदी किनारमा खोजतलास अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न आग्रह गरिएको छ ।


समन्वय बैठकमा दुर्घटनामा बेपत्ता यात्रुका आफन्त समेत सहभागी थिए । बेपत्ता यात्रुहरु मध्ये सर्लाही घर भएका सर्वोच्च अदालतका अधिवक्ता ६२ वर्षीय अवधेस सिंहका भाई प्राध्यापक मुकेश सिंहले राजमार्गमा बारम्बार भइरहने सडक सुरक्षाका राज्यले प्रभावकारी नीति नअपनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।


अत्यधिक बाढी आएको समय परेकोले बगाएका सामान र शवहरु धेरैजसो नवलपरासीको त्रिवेणी बाँधमा फेला पर्ने भएकाले त्यहाँ कुनै शव फेला परेमा जानकारी गराउन आग्रह समेत गरिएको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए ।


आइतबार मात्रै उक्त बाँधको भारततर्फको १७ नम्बर गेटमा शव देखिए पछि सोमबार मात्रै झिक्न पहल गरिएको छ । बगाएका सामानहरु तैरिने त्रिशुली नदीका सबै सम्भावित भुमरी परेका बिभिन्न स्थानहरुमा प्रहरीको निगरानी पनि बढाइएको बैदरवारले जनाए ।


गत शुक्रबार सर्लाहीको मलंगवामा चालकसहित ४५ जना यात्रु बोकेर आएको ना ६ ख ७४६९ नम्बरको बस धादिङको मालिङ्गा सलाङ्घाटमा दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ जनाको शव फेला परेको छ । उक्त बसमा अन्य १९ जना यात्रु र केही नाम खुल्न नसकेका काखे बालकहरु समेत बेपत्ता भएको आशंका गरिएको प्रजिअ भगीरथ पाण्डेयले बताए ।


हिँडेर खोज्न सक्ने अवस्था नरहेकोले त्रिशूली किनारमा जलयात्रा गराउने ६ वटा रिसोर्टहरु पनि सतर्क गराइएको छ । जलयात्रा गराउने क्रममा नदी किनार र भुमरीहरुमा शवहरुको निगरानी गरी तत्काल प्रहरीलाई खवर गर्न निर्देशन दिइएको छ ।


दुर्घटनाका घाइतेहरुको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमा भारत सीतामढी घर हुने ४० वर्षीय धिरेन्द्र कुमार, सर्लाही कविलास नगरपालिका ४ बस्ने ३२ वर्षीय विजय यादव र सर्लाही हरिहर घर हुने बसचालक ४० वर्षीय जीवन विकको उपचार भइरहेको छ ।


यी समाचार पनि पढ्नुहाेस् ........

त्रिशूली दुर्घटना : मृतकको संख्या ९ पुग्यो, २० भन्दा बढी बेपत्ता

त्रिशूलीमा बस दुर्घटना : रातभर एउटै चालक

त्रिशूली बस दुर्घटना : शोकमा डुब्यो परिवार

त्रिशूली बस दुर्घटना : उद्धारका तस्बिरहरु

त्रिशूली बस दुर्घटना : मृतकको संख्या ५ पुग्याे, २४ अझै बेपत्ता [यात्रुकाे नामसहित]

प्रकाशित : श्रावण २७, २०७६ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?