कालीगण्डकी–तिनाउ डाइभर्सन : पौडेल–गुरुङ जुहारी

लालप्रसाद शर्मा, माधव अर्याल

पोखरा र पाल्पा — नेकपाका महासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले केही दिनअघि बुटवलको एक कार्यक्रममा कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना पूरा गराएरै छाड्ने बताए । यसका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री र तटीय क्षेत्रका स्थानीय तहलाई आफूले मनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

भोलिपल्टै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विष्णु होइन, ब्रह्मा नै आए पनि डाइभर्सन बन्न नदिने जवाफ फर्काए ।
यतिबेला कालीगण्डकी डाइभर्सनको चर्चाले गण्डकी र प्रदेश ५ मा चर्को बहस सुरु भएको छ । संघीयता कार्यान्वयनसँगै प्राकृतिक स्रोत–साधनमाथिको अधिकारका विषयमा देखिएको ‘द्वन्द्व’ हो यो ।

पौडेलले रूपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रको सिँचाइ र पानीका स्रोतका लागि आयोजना अत्यावश्यक भएको दाबी गर्दै आएका छन् । मुख्यमन्त्री गुरुङले भने आफ्नो प्रदेशसँग व्यापक छलफल र सहमतिबिना आयोजना अघि बढ्न नदिने अडान लिएका छन् । करिब ३० किलोमिटर सुरुङ खनेर कालीगण्डकीको पानीलाई तिनाउमा ल्याउने महत्त्वाकांक्षी योजना पौडेलको चुनावी नारा हो ।

पौडेल कालीगण्डकीमा पानीको बहाव पनि नघट्ने र तिनाउ डाइभर्सन पनि हुने दाबी गर्छन् । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘गण्डकी प्रदेशका मुख्यमन्त्रीको चिन्ता पानीको बहाव नघटोस् भन्ने हो । यसले बहाव घट्दैन । त्यसैले कालीगण्डकी–तिनाउ डाइभर्सन सफल हुन्छ ।’ उनले गण्डकी प्रदेशका मुख्यमन्त्रीको भनाइलाई जवाफ दिने कुरा केही नभएको बताए ।

डाइभर्सन बनाउने ठाउँ राम्दीदेखि करिब २० किलोमिटरमाथि रिडी र रुद्रवेणीको बीचमा २ हजार ५ सय मेगावाट विद्युत् निकाल्न बाँध बनाउने पौडेलले बताए । उनका अनुसार यसको विद्युत् प्राधिकरणमार्फत अध्ययन भइरहेको छ । गण्डकीका मुख्यमन्त्रीको पानी पुग्दैन कि भन्ने चिन्तालाई बाँधले पूरा गर्ने पौडेलले दाबी गरे । त्यसपछि बडीगाड र कालीगण्डकी नदीको बहाव बढ्ने उनले जनाए ।

‘त्यसले पानीको अभाव पूरा हुन्छ,’ उनले भने, ‘गण्डकी र प्रदेश ५ को सहमतिमा कालीगण्डकी डाइभर्सन योजना सम्पन्न हुन्छ ।’ मुख्यमन्त्री गुरुङले भने एउटा योजना नबन्दैमा देश अँध्यारो नहुने भन्दै तल्लो तटीय क्षेत्र सुकाएर कुनै पनि हालतमा डाइभर्सन बन्न नदिने बताए ।

‘हामी विकासविरोधी होइनौं । कालीगण्डकी डाइभर्सन नै किन चाहियो र घरीघरी किन विषय उठान हुन्छ ?’ उनले भने, ‘सिँचाइ गर्ने हो भने भूमिगत सिँचाइ योजना ल्याउनुपर्‍यो । नभए राप्तीमा डाइभर्सन बनाए हुन्छ ।’ कालीगण्डकी साझा भएकाले दुवै प्रदेशबीच सहमति आवश्यक रहेको उनले बताए । एकलौटी निर्णय गरी राप्ती डाइभर्सन बनाउन उनले सुझाए । मुख्यमन्त्रीको व्यक्तिगत कुरा मात्र नभएर प्रदेशका ३ जिल्लाको विषय रहेको उनले जनाए । तल्लो तटीय क्षेत्र सुक्खा बनाएर डाइभर्सन बनाउन नहुनेमा उनको जोड छ । डाइभर्सनले स्याङजा, तनहुँ र नवलपुर सुक्खा हुने उनले बताए ।

डाइभर्सनको पाल्पा, स्याङ्जा र तनहुँका स्थानीय तहका साथै त्यस क्षेत्रमा बसोबास गर्नेले समेत विरोध गरिरहेका छन् । पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले कालीगण्डकी बेंसीका जनताको भावनाविपरीत नेकपा महासचिवले अभिव्यक्ति दिँदै हिँडेको बताए । ‘यसविरुद्ध सशक्त कार्यक्रम घोषणा गर्नेछौं,’ उनले भने, ‘त्यसका लागि तीनपल्ट छलफल भइसकेको छ । सबै स्थानीय तह, राजनीतिक दल, निर्वाचनमा पराजय भोगेका दललाई पनि समेटेर पुनः छलफल गर्नेछौं ।’ उनले यस क्षेत्रका जनताको भावनाविपरीत आयोजना सम्पन्न गर्न नसक्ने बताए ।

तीन जिल्लाका स्थानीयलाई समेटेर संघर्ष समिति पनि गठन भएको छ । विशेषगरी चापाकोट, रामपुर, पुट्टार, डेढगाउँलगायतका स्थानीय विरोधमा छन् । तीन जिल्लाका राजनीतिक दलका नेता तथा सांसद, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, धार्मिक संघसंस्थाले समेत डाइभर्सनको विरोध गरिरहेका छन् ।

कालीगण्डकी–तिनाउ डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ । राष्ट्रिय गौरवको आयोजनामा समावेश यो योजना तत्कालीन अर्थमन्त्री तथा हाल नेकपा महासचिव पौडेलकै पालामा थालनी भएको हो । आयोजनाका लागि ०७१/७२ देखि प्रत्येक वर्ष बजेट विनियोजन हुँदै आएको छ ।

कालीगण्डकीको बहाव परिवर्तन गरेर तिनाउमा मिसाउँदा पाल्पादेखि चितवन, देवघाटसम्मको पर्यावरण प्रभावित हुने स्थानीयको भनाइ छ । ‘आयोजनाले कालीगण्डकी किनारमा बस्ने हजारौं स्थानीयसमेत विकासको परिकल्पनामा उत्साहित हुनेभन्दा विनाशको त्रासले चिन्तित छन्,’ रामपुरका सुन्दर ढकालले भने, ‘कालीगण्डकी डाइभर्सन व्यक्तिगत स्वार्थका लागि गरिन लागेको जस्तो देखिन्छ । गण्डकी बेंसीका लागि आस्था र जीवनको आधार नै सकिन्छ भन्ने बुझाइ हाम्रो छ ।’

कालीगण्डकी नदी क्षेत्रको सांस्कृतिक, वातावरण र मानव सभ्यताकै संरक्षणका लागि डाइभर्सन उपयुक्त नहुने विज्ञ डा.कुलराज चालिसेले बताए । डाइभर्सन गर्ने होइन, गण्डकी र प्रदेश ५ का ४ जिल्लाका १० स्थानीय तहलाई समेटेर यस क्षेत्रको विकासका लागि कालीगण्डकी उपत्यका विकास प्राधिकरण गठन गर्न संघ सरकारलाई अनुरोध गर्ने यस भेगका स्थानीय तहले निर्णय गरेका छन् ।

कालीगण्डकी नदीलाई राम्दी पुलदेखि करिब १ हजार ५ सय मिटर उत्तरवाहिनी क्षेत्रमा बाँध बाँधेर लैजाने योजना छ । डाइभर्सनबाट लगेको पानीको बहावबाट १०४ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाका लागि करिब ४० अर्ब लाग्ने अनुमान छ ।

प्रकाशित : श्रावण २७, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

द्वन्द्वका बेपत्ता १८ वर्षपछि घर

हरि गौतम

रुकुम पश्चिम — १२ वर्षमा खोलो फर्कन्छ भन्छन् । सानीभेरी ११ ठारीखोर्याकी मनकुमारी विकलाई भने महासागरै फर्किएको अनुभूति भएको छ । १८ वर्षपछि छोरा फर्किएर आएका छन् । मरिसकेको ठानेको सन्तानलाई फेरि देख्न पाउँदा उनको हर्षको सीमा छैन । ‘मेरो छोरो दुईचोटि जन्मियो, ३४ वर्षअघि र १८ वर्षपछि,’ ८२ वर्षीया उनले भनिन् ।

द्वन्द्वकालमा माओवादीमा लागेका छोरा उमेश खारा ब्यारेक आक्रमणदेखि बेपत्ता थिए । फर्किएको व्यक्ति आफ्नै छोरा हो भन्ने खुट्ट्याउन मनकुमारीलाई एक दिन लाग्यो । गाउँलेले भन्दा समेत पत्याइनन् । उमेशले खुट्टामा गोलीको खत देखाएपछि भने उनलाई विश्वास भयो ।

‘लडाइँमा मर्‍यो होला भन्ठानेर घरपरिवार, इष्टमित्र, आफन्त तथा गाउँलेले मेरो माया मारिसकेका रहेछन्,’ उमेशले भने, ‘म आउँदा घरगाउँमा अर्कै तरंग उत्पन्न भयो ।’ १३ वर्षको उमेरमा माओवादीमा लागेका उनी खारा आक्रमण गर्दा १६ वर्षका थिए । त्यसअघि रोल्पाको लिस्ने गाम तथा अन्य स–साना लडाइँमा सहभागी भइसकेका थिए ।

खारा आक्रमण २०५९ चैतमा भएको थियो । ब्यारेक कब्जा गर्न उनी थ्री नट थ्री राइफल बोकेर नाका ब्लकमा खटाइएका थिए । लडाइँ भइरहेको क्षेत्रमा बाहिरबाट आउने र भित्रबाट बाहिर भाग्ने ‘दुस्मन’ लाई रोक्नु उनको जिम्मेवारी थियो । तर भइदियो उल्टो । उनैलाई बमको छर्राले भेट्यो । विस्फोटको आवाजले कान बन्द भए । लडाइँकै क्रममा होस हरायो । त्यही अवस्थामा हिँडेका उनी जंगल छिचोल्दै दिल्ली पुगेछन् । त्यहीँ होटलमा भाँडा माझेर गुजारा चलाउन थाले ।

‘लडाइँकै बेला खुट्टा र शरीरका अन्य भागसँगै कानसमेत नसुन्ने गरी घाइते भएँ, चेत, अचेत गर्दै भारत पुगेछु,’ उमेशले भने । त्यहाँ काम गर्दै झन्डै सात लाख खर्चेर उपचार गराएको उनको भनाइ छ । सीप सिकिसकेपछि राम्रो होटलमा काम पाए । अब घरपरिवारको यादले सताउन थाल्यो । काठमाडौं आए पनि । तर रुकुम पत्ता लाउन नसकेपछि फेरि भारततिरै फर्केको उनको भनाइ छ । उमेश अहिले राजस्थानको जयपुरमा नोकरी गर्छन् । उतै बिहे गरे । ११ र ७ वर्षका दुई छोरा छन् ।

पछिल्लो पटक पनि उनी दिल्लीबाट जहाजमा काठमाडौं उत्रिए । त्यसपछि नेपालगन्ज हुँदै मुस्किलले घर पुगेको उनले जनाए । गाउँलेले बनाइदिएको छाप्रामा वृद्ध आमा, भाउजू र दाइका २ छोरा मात्रै थिए । ‘घर घरजस्तो रहेनछ, हेर्ने मान्छे नभएपछि घर कहाँ घरजस्तो हुने रहेछ र ?’ उमेशले भने, ‘गाउँलेको सहयोगले आमा, भाउजू र २ भतिजाको सास अल्झेको रहेछ ।’

मनकुमारीका ५ सन्तान हुन् । दुई छोरा, तीन छोरी । उमेश कान्छा हुन् । धनबहादुरको उमेश हराएको केही वर्षमै भारत, गौरीकुण्डमा बाढीले बगाएर मृत्यु भयो । कान्छी छोरीे पनि हैजाले बितिन् । शोकमा डुबेकी मनकुमारीले २०४५ सालमै पति पनि गुमाइसकेकी थिइन् ।

प्रकाशित : श्रावण २७, २०७६ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्