डेंगु नियन्त्रण गर्न आर्थिक सङ्कट

रासस

काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेंगु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ । आव २०७५/७६ को हालसम्म ३ हजार ४२५ मा रोग देखा परिसकेको छ । तीमध्ये ३ हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन् ।

डेंगु नियन्त्रण गर्न आर्थिक सङ्कट

सङ्घीयता कार्यान्वयनसँगै किटजन्य रोग नियन्त्रण तथा रोकथाममा समन्वय गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ‘लामखुट्टे खोज र नष्ट गर’ थप कार्यक्रम कार्यान्वयनमा मन्त्रालयलाई आर्थिक सङ्कट देखिएको हो । गत वर्ष महाशाखाले प्रदेश तहमा रु छ करोड १७ लाख, विभिन्न स्थानीय तहमा रु एक करोड ६६ लाख र महाशाखाले रु एक करोड ७१ विनियोजन गरेको थियो ।


यस वर्ष उक्त क्षेत्रमा खासै रकम वृद्धि नभएको बताइएको छ । महाशाखाका निर्देशक चिकित्सक विवेककुमार लालले भने, “डेंगु रोग नियन्त्रण गर्न थप रकम, जनशक्ति तथा किटबक्स चाहियो भनेर सामाजिक विकास मन्त्रालय र स्थानीय तहबाट पत्र आउँछ । समायोजनका कारण महाशाखामा थप जनशक्ति छैन । किटबक्स पठाइ सकियो । ती निकायलाई थप पैसा कहाँबाट दिनु ? अर्थमन्त्रालयलाई भन्यो भने बजेटको सिलिङ् त्यति हो भन्दछ ।”


उनले कार्यक्रमका लागि के कति रकम अपुग भएको हो कुनै जानकारी दिएन । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग पछिल्लो समय नेपालमा अनियन्त्रित रुपमा बढ्दैछ । चितवनमा सन् २००४ मा पहिलो पटक देखा परेका डेंगु मनाङ, मुस्ताङ, जुम्लालगायतका केही हिमाली जिल्लामा मात्र देखा परेको छैन । महाशाखा प्रमुख डा लालले हिमाली केही जिल्लाबाहेक अधिकांश जिल्लामा डेंगु देखा परिसकेको जानकारी दिँदै सहरी क्षेत्र उच्च जोखिममा रहेका बताए ।


महाशाखाद्वारा डेंगु नियन्त्रणका प्रयासका बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले डेंगु नियन्त्रण गर्न आर्थिक अभाव रहेको गुनासो गर्दै डेंगुका बारे सचेतना बढाउन आवश्यक रहेकामा जोड दिए । उक्त जातको लामखुट्टेले विशेष गरी दिउँसो मात्र टोक्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन । खासगरी उक्त जातको लामखुट्टे सफा पानी जमेको ससाना स्थानमा फुल पार्ने गर्दछ । वर्षात्को महीनासँगै पानी जम्न थालेपछि रोगको प्रकोप हुने महाशाखाले जनाएको छ ।


डेंगुको लक्षण


महाशाखाका निर्देशक डा लालका अनुसार एक्कासी ज्वरो आउनु, ज्वरो पाँच सातदिनसम्म रहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कट्कटी दुख्नु लगायतका लक्षण देखन्छन् । यसबाट जोगिन मुख्य उपाय नै वातावरणीय सरसफाइ हो । साथै लामखुट्टेको टोकाइबाट बच्न आफू बस्ने वरपर पानी जम्न नदिनु र झुल टागेर सुत्नु रहेको छ ।


यो पनि

डेंगु नियन्त्रणमा चुनौती थपिँदै

प्रकाशित : श्रावण २६, २०७६ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?