लागूपदार्थ सुँघाएर लुटपाट

प्रकाश बराल

बागलुङ — रात्रिबसमा एक युवकलाई लागूपदार्थ सुँघाएर बेहोस बनाई लुटपाट गरिएको छ । बिहीबार राति बागलुङबाट काठमाडौं जाँदै गरेको बसमा यात्रा गरेका बागलुङ नगरपालिका १२ अमलाचौरका किरण आचार्य लुटिएका हुन् ।

प्रतिबन्धित ‘कोलोफम’ नामक लागूपदार्थ सुँघाएकाले उनी ४८ घण्टादेखि बेहोस छन् । समय–समयमा होसमा आउँदै बेहोस भइरहेका उनको स्वास्थ्य अवस्था कमजोर छ । काठमाडौंस्थित मनमोहन अस्पतालमा आईसीयूमा राखेर उनको उपचार भइरहेको बाबु मुक्तिराम आचार्यले जानकारी दिए । ध१ज ६१३ नम्बरको बसमा उनी बिहीबार काठमाडौं जाँदै थिए ।


रात्रिबसमा काठमाडौं हिँडेका उनलाई थानकोट पुग्ने बेला उक्त औषधि सुँघाएको प्रहरीको अनुमान छ । बेहोस भएपछि उनको साथमा भएको सिक्री, औंठी र नगद १५ हजार लुटिएको थियो । काठमाडौं बसपार्कमा पुगेर सबै यात्री झरिसकेपछि पनि उनी नझरेपछि चालक र सहचालकले रक्सी खाएको भन्ने आरोप लगाएर सडकमै झारिदिएका थिए । लामो समयसम्म मोबाइलमा घण्टी बजेको सुनेपछि बसपार्क सुरक्षा गार्डले उठाएर बिरामीको अवस्थाबारे परिवारलाई बताएपछि अस्पताल लगिएको थियो ।


आचार्य श्रीमती बिरामी भएकाले भेट्न काठमाडौं गएका थिए । प्रभु बैंकको बागलुङ शाखामा कार्यरत आचार्यको शरीर निकै कमजोर भइसकेको परिवारका सदस्यले बताए । धौलागिरि अञ्चल यातायात बस व्यवसायी समिति र जिल्ला प्रहरीमा बाबु मुक्तिरामले उजुरी दिएका छन् ।


परिवारका सदस्यले चालक, सहचालक र आचार्यसँगै सिटमा बसेका व्यक्तिको छानबिन गर्न माग गरेका छन् । घटनाको छानबिनमा साथ दिने समितिका सचिव घनश्याम मल्ल (कुमार) ले बताए । ‘हाम्रो गाडीमा भित्रिएको यो समस्या समाधान नभए अरू घटना घट्छन्,’ उनले भने ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?