१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अख्तियारले छानबिन गरिरहेको धर्मशाला मन्त्रीबाट उद्घाटन, विरोध गर्ने वडाध्यक्षसहित ८ जना प्रहरी हिरासतमा

लक्ष्मी साह

बारा — अनियमितता छानबिन चलिरहेको परवानीपुर गाउँपालिका ५ मा नवनिर्मित रामजानकी धर्मशाला प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले उद्घाटन गरेका छन् । विरोधमा उत्रिएका वडाध्यक्ष रामेश्वर साह लगायतलाई प्रहरी हिरासतमा राखी शनिबार दिउँसो धर्मशालाको दुई कोठे भवन उद्घाटन गराइएको हो ।

अख्तियारले छानबिन गरिरहेको धर्मशाला मन्त्रीबाट उद्घाटन, विरोध गर्ने वडाध्यक्षसहित ८ जना प्रहरी हिरासतमा

परवानीपुर ५ मा नवनिर्मित २ कोठाको धर्मशालामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेको थियो । एक हलसहितको दुई कोठे पक्की भवन बनाउन गाउँपालिकाले ६२ लाख रुपैयाँ खर्चेको थियो । भवनमा कमसल निर्माण सामग्री प्रयोग गरिएको, अस्वाभाविक रुपमा लागत देखाइएको उजुरी परेको अख्तियारले जनाएको छ । उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ ।


शनिबार बिहान ८ बजे विवादित धर्मशाला मन्त्रीबाट उद्घाटन गराउने कार्यक्रम थियो । उद्घाटनमा मन्त्री आउने भएपछि वडाध्यक्ष साहसहित केही व्यक्तिले नाराबाजी गरे । उनीहरु अख्तियारले छानबिन गरिरहेको भवन उद्घाटन गर्न नदिने पक्षमा थिए। तर, प्रहरीले मन्त्रीको कार्यक्रम बिथोल्न खोजेको आरोपमा वडाध्यक्ष साहसहित ८ जनालाई नियन्त्रणमा लियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जित सिं राठौरले भने,'मन्त्रीको कार्यक्रम बिथोल्न खोजेपछि वडाध्यक्षसहित ८ जनालाई नियन्त्रणमा लिएका हौँ । '


बिहानको कार्यक्रम बिथोलिएपछि दिउँसो ३ बजे मन्त्री सोनलले धर्मशालाको उद्घाटन गरे । उक्त धर्मशाला दुई वर्ष लगाएर निर्माण गरिएको हो ।

प्रकाशित : श्रावण २५, २०७६ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?