सबै शक्ति मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प छैन : अध्यक्ष दाहाल

रासस

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गणतान्त्रिक परिवर्तका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको बताएका छन् । 

शमी साहित्य प्रतिष्ठानद्वारा शुक्रबार काठमाडौँमा आयोजित कवि दीनानाथ शर्माको निबन्धसङ्ग्रह ‘झरीको सौन्दर्य’ र शमी साहित्यिक मासिक पत्रिकाको विमोचन कार्यक्रमा अध्यक्ष दाहालले परिवर्तनका सहयात्रीहरु मिलेर देशलाई शान्तिपूर्ण रुपान्तरण गर्नुपर्नेमा जोड दिए । उनले भने, “यो परिवर्तनलाई संस्थागत गर्नुबाहेक अर्को विकल्प छैन, अँध्यारो कुनामा बसेर झटारो हानेर विकल्प आउँछ कि भन्नुको कुनै अर्थ छैन ।” अध्यक्ष दाहालले विद्रोहको नेतृत्व र जिम्मेवारी लिँदै मुलुकलाई शान्तिपूर्ण रुपान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गरे । हाल पार्टी एकता जस्तो ऐतिहासिक प्रक्रियासमेत पूरा भएकाले जनतामा देखिएको आशा र निराशा दुवैलाई आत्मसात् गरेर आफूहरु अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाज रुपान्तरण गर्ने शक्तिशाली औजारका रुपमा साहित्य रहेको बताए । उनले कम्युनिष्ट आन्दोलनले वर्तमान समयको समस्यालाई बोधगरी सुन्दर भविष्यको परिकल्पना गर्न लाग्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले ठूला सपना देखाएर साना काम पनि नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने र देशलाई प्रयोगथलो बनाउन नहुनेमा जोड दिए ।

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार माधवप्रसाद पोखरेल, प्रा राजेन्द्र सुवेदी, तेजेश्वरबाबु ग्वङ्ग, डा बेञ्जु शर्मालगायतले कृतिका लागि शर्मालाई र पत्रिकाका निम्ति प्रतिष्ठानलाई शुभकामना दिएका थिए ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले साहित्य र राजनीतिलाई अन्तरघुलन बनाएर जानुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

प्रकाशित : श्रावण २४, २०७६ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्

झोलुंगे पुलले विद्यालय नियमित

नारायण शर्मा

नवलपरासी — वर्षात्‌को समयमा अधिकांश दिन विद्यालय जान मुस्किल थियो । बालबालिका एक्लै खोला तर्न नसकेपछि अभिभावक आफैंले जोखिम मोलेर खोला तार्ने र विद्यालय समय सकिएपछि लिन जानुपर्ने अवस्था थियो ।

वषौंदेखि यस्तै समस्या खेप्दै आएका पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१२ मितुङका स्थानीयलाई खहरे खोलामा झोलुंगे पुल निर्माण हुँदा गाउँमा ठूलै हर्ष छाएको छ।

पुल नहुँदा वर्षाको समयमा पूर्व-पश्चिम राजमार्ग र सदरमुकाम कावासोती आउन मुस्किल थियो। सवारीसाधन नचल्दा पैदल हिँडेर किनमेलका लागि दलदले बजार आउनुपर्ने बाध्यता थियो। तर अब पुल निर्माण भएपछि मोटरसाइकल ओहोर–दोहोर गर्न मिल्ने भएपछि स्थानीयले राहतको महसुस गरेका छन्। देवचुली नगरपालिका–६ मितुङ र वडा नम्बर १२ जनबस्तीलाई जोड्ने गरी झोलुंगे पुल निर्माण भएको हो। पुल निर्माण भएपछि स्थानीय उत्पादन बजारसम्म लैजान पनि सहज हुने भएको छ। औषधि उपचारका लागि बोकेर लैजानुपर्ने बाध्यता थियो। अब पुलबाट दुई पांग्रे सवारी चल्न सक्ने भएकोले स्थानीय खुसी छन्।

‘युवा र प्रौढ उमेरका मानिसहरु जोखिम मोलेर भए पनि खहरे खोला तर्ने गर्दथे,’ स्थानीय विद्यार्थी सुकुमाया थापाले भनिन्, ‘हामी विद्यालय उमेरका बालबालिका भने बाढी आएको दिनमा विद्यालय नै जादैनथ्यौं। अब भने ढुक्कले हिउँद र वर्षा दुवै समयमा विद्यालय जान पाइने भइयो।’

नगरपालिका भए पनि दुर्गम मितुङ गाउँमा विकासका सामान्य पूर्वाधार पनि पुगेको छैन। प्रशासनिक कामकाजका लागि वडामा आउन पनि समस्या छ। जीर्ण सडकमा ओहोर–दोहोर गर्नुपर्ने स्थानीयले वर्षौंदेखि पुल निर्माणको माग गरेका थिए। ‘वर्षौंदेखि यो समस्या थियो। तर स्थानीयको जिल्ला र केन्द्रसम्म पहुँच नहुँदा पुल निर्माण हुन सकेको थिएन,’ वडा नम्बर ६ का अध्यक्ष मिनबहदुर सोतीले भने, ‘अहिले जनप्रतिनिधि आएपछि विभिन्न संघसंस्था, नगरपालिका र श्रमदानबाट झोलुंगे पुल निर्माणको काम सम्पन्न भएको छ।’ पुल बनाउन कुल ४२ लाख ५ हजार २ सय ४ रुपैयाँ लागेको सोतीले बताए।

प्रकाशित : श्रावण २४, २०७६ १९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्