सांसद चौधरी कक्षा ११ मा भर्ना, सामाजिक सञ्जालमा के लेखिन् ?

कान्तिपुर संवाददाता

काठमाडौँ — सांसद शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छिन् । प्रतिनिधिसभाकी समानुपातिक सांसद चौधरी नयाँ बानेश्वरसिथत रत्नराज्य माध्यमिक विद्यालयमा भर्ना भएकी हुन् ।

सांसद चौधरी कक्षा ११ मा भर्ना, सामाजिक सञ्जालमा के लेखिन् ?

‘प्राय कक्षा ११ मा भर्ना हुने १५ वर्षको उमेरमा हो,’ विद्यालयमा प्रधानाध्यापक जीवनप्रकाश रेग्मी तथा विद्यालय परिवारले स्वागत गरेको फोटो शुक्रबार आफ्नो फेसबुक वालमा पोस्ट गर्दै चौधरीले भनेकी छिन्, ‘तर त्यो उमेरमा परिस्थितिले मलाई झोला बोकेर कलेज जानेहरुलाई टुलुटुलु हेरेर बस्ने बनायो, मुटु समातेर धरधरी रुने बनायो ।’ ‘हाम्रो महिला जनप्रतिनिधि–२०७५’ मा उल्लेख भएअनुसार चौधरी उमेरले ४० वर्ष र शिक्षा ‘साक्षर’ उल्लेख छ ।


‘दुःखको सागर पौडिँदै गरेको मान्छे म, त्यही सागरबाट उतारेर मलाई संसार बुझ्न सक्ने र बिस्तारै मनभित्रका रहरहरु पूरा गर्न वातावरण निर्माण गरिदिने मेरो पार्टी तत्कालीन नेकपा (एमाले) अर्थात् हालको नेकपालाई हार्दिक धन्यवाद छ,’ भनेकी छन्, ‘हृदयदेखि नै धन्यवाद छ अग्रज नेताहरुलाई, शुभेच्छुक साथीहरूलाई , आफन्तजनहरुलाई र शिक्षाको ज्योति दिएर बाटो देखाउँदै गर्नुहुने आदरणीय व्यक्तित्वहरुलाई । इच्छा मेरो, साथ तपाईंहरुको । तत्परता मेरो, प्रेरणा तपाईंहरुको । गुन तिर्न नसकुँला तर अन्तिम स्वाससम्म सम्झिरहने छु तपाईंहरुको साथलाई र भनिरहने छु ‘आभारी छु’ ।’


उनी उक्त माविमा मानविकी संकायमा भर्ना भएकी हुन् । बिहानको कक्षा रहेकोले नियमित पढ्न जाने उनले कान्तिपुरलाई बताइन् । ‘पढ्नकै लागि भनेर काठमाडौंमा डेरा लिएर बसेकी छु,’ पार्टी र संसदीय जिम्मेवारीसमेत रहेको उल्लेख गर्दै सांसद चौधरीले भनिन्, ‘नियमित हुन गाह्रो होला । सकेसम्म समय व्यवस्थापन गर्छु ।’ रत्नराज्य मावि सामुदायिक विद्यालय हो । यहाँ शिशु कक्षादेखि कक्षा १२ सम्म पढाइन्छ । यस विद्यालयको एसईई र कक्षा १२ को नतिजा सधैं अब्बल रहँदै आएको छ ।


प्रकाशित : श्रावण २४, २०७६ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?