त्रिशूली बस दुर्घटना : शोकमा डुब्यो परिवार

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवन नगरकी ४३ वर्षीया उषादेवी रौनियार शुक्रबार बिहानदेखि बेहोस छिन् । बेहोसीमै उनी छोरा, छोरी, जेठानी र जेठाजुको नाम लिएर बर्बराउँछिन् । उनका आँखाबाट आँसु थामिएको छैन । पति चन्देश्वरप्रसाद रौनियारको अवस्था उस्तै छ । आफूलाई केही सम्हालिएको जस्तो देखाउँछन् तर छिनमै आँखा रसाइहाल्छ । 

ZenTravel


सदरमुकाम मलंगवाबाट काठमाडौंका लागि छुटेको ना६ख ७४६९ नम्बरको सृष्टि डिलक्स बस शुक्रबार बिहान धादिङस्थित त्रिशूलीमा खस्दा चन्देश्वरका दाइ राजनारायण, भाउजु शोभा र छोरा शौरभ बेपत्ता छन्। छोरी श्वेताको काठमाडौंमा उपचार भइरहेको छ। दुर्घटनाको खबर सुनेपछि रौनियार परिवारमा भुइँचालो गएको छ। परिवारको अन्य सदस्य विक्षिप्त छन्।

४० वर्षदेखि राजनारायण काठमाडौंमा व्यापार गरेर बस्दै आएका थिए। उनले भतिज शौरभ र भतिजी श्वेतालाई सँगै राखेर पढाइरहेका थिए। शौरभ काकाको घरमा बसेर मेडिकलको तयारी गरिरहेका थिए भने श्वेताले भर्खरै कक्षा १२ पास गरेकी थिइन्। उनीहरू साउनी घडी पर्व मान्न मंगलबार मात्र घर आएका थिए। बुधबारको पर्व सकाएर बिहीबार रात्रिबस चढेका थिए।

शौरभ र श्वेता एक–दुई दिन घरै बस्ने मनस्थितिमा थिए। काका–काकी काठमाडौं फर्किने भएपछि सँगै निस्किएका थिए। सानैदेखि काठमाडौंमा पढेका शौरभ जेहेन्दार विद्यार्थी थिए। उनले मेडिकल पढेर समाजमा सेवा गर्ने सोच बनाएका थिए। ‘मेरो बच्चाहरू सानैदेखि जेहेन्दार थिए’, गहभरि आँसु पार्दै चन्देश्वरले भने, ‘छोराले मेडिकल पढेर समाज सेवा गर्छु भनेको थियो। यस्तो विपत्ति आइलाग्यो।’ घटनापछि उनको घरमा आफन्त र गाउँलेको भीड छ।

बसमा सवार ४२ यात्रु र ३ कर्मचारीको परिवारमा पनि रुवावासी छ। बसमा सवार यात्रु जिल्लाका विभिन्न ठाउँका छन्। दुर्घटनाको खबर सुनेलगत्तै सदरमुकाम मलंगवास्थित बस काउन्टरमा यात्रुका आफन्तको भिड लागेको थियो। मृत्यु भएका अजय दास र विजय कुर्मीको मात्रै सनाखत भए पनि ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित : श्रावण २४, २०७६ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दुई करोडको पिच भत्काएर २६ लाखको खाल्डो !

विनु तिम्सिना

काठमाडौँ — विराटनगर महानगरपालिका-१९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशालामा २ करोड बढी खर्च गरेर बनाइएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट पिच भत्काएको पाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को बजेटबाट विभिन्न चरणमा निर्माण गरिएको क्रिकेट पिच ६ महिना नपुग्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपभोक्ता समितिमार्फत बजेट निकासा गरी भत्काएको हो ।

बैजनाथपुर रंगशाालामा क्रिकेटको पिच निर्माण गर्न सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयमार्फत क्रिकेट पिच बनाउन बजेट निकासा गरेकोमा उपभोक्ता समितिले निर्माण सम्पन्न भएको पिच भत्काएर बजेट लिएको छ। जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरे अध्यक्ष रहेको समितिले करोडौं लागतमा बनेको पिच भत्काएर खाल्डो बनाएको छ। तर समितिले पिच निर्माण सम्पन्न गरिसकेको बिल भर्पाइ बुझाएर २६ लाख रुपैयाँ भुक्तानी लिएको देखिन्छ।

उक्त रंगशालामा राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक वर्ष २०७२/७३ मा ९ लाख रुपैयाँ खर्च गरेर हार्ड पिच निर्माण गरेको थियो। त्यसपछि सातौं राष्ट्रिय खेलकुदका लागि जिल्ला खेलकुद विकास समितिमार्फत् ६५ लाख खर्च गरेर पुनः पिच निर्माण गरिएको थियो। प्रतियोगिताको क्रिकेट खेल सोही मैदानमा खेलाइएको थियो।

त्यसलगत्तै ठूला प्रतियोगिताका लागि पिचको गुणस्तर नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद्कै १ करोड ७० लाख रुपैयाँ बजेटमा क्षेत्रीय खेलकुद विकास समितिले टेण्डर प्रक्रियाबाट अन्तर्राष्ट्रियस्तरको पिच निर्माण गरेको थियो। उक्त बजेटबाट पिचसँगै क्रिकेट मैदान वरिपरि पानी पास हुने नाला, स्कोर बोर्ड, साइड स्क्रिन बोर्ड, माटो भर्ने र मैदानको दक्षिण तर्फ कटान नियन्त्रण गर्न ढुङ्गाको तारजाली लगाइएको क्षेत्रीय खेलकुद विकास समितिका लेखा अधिकृत टंक कट्टेलले बताए।
कट्टेलका अनुसार ठेकेदार पक्षले २०७५ मंसिरमा पिच निर्माणसहितका काम सम्पन्न गरेको थियो। क्रिकेट संघकै प्राविधिक सल्लाहामा निर्माण भएको पिच अन्तर्राष्ट्रिय गुणस्तरको भएको जानकारी प्राविधिकहरुले दिएको उनले बताए। अन्तर्राष्ट्रियस्तरको पिच निर्माण पश्चात खेलकुद विकास समितिले क्रिकेटको मैदान रेखदेख र संरक्षणको जिम्मा जिल्ला क्रिकेट संघलाइ नै दिएकोमा संघकै अध्यक्ष नेतृत्वमा उक्त पिच भत्काइएको हो।

‘उनीहरुकै प्राविधिक सल्लाहमा उनीहरुले भने अनुसारकै पिच बनाएका थियौं,’ उनले भने, ‘पिच बनेपछि राम्रो काम भयो अन्तर्राष्ट्रियस्तरको बन्यो संरक्षण गर्छौं भनेर मागेपछि हामीले दिएका हौं। फेरि त्यो पिच भएन भनेर भत्काए।’

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत सोही रंगशालामा भएको क्रिकेट प्रतियोगिता। उपभोक्ता समितिले अहिले सो प्रतियोगिता भएको पिच भत्काएर खाल्डो बनाएको हो। तस्बिरः फाइल

खेलकुद विकास समितिले करोडौं लागतमा पिच सहितका संरचना निर्माण गरेर हस्तान्तरण गरेको ६ महिना नपुग्दै अध्यक्ष घिमिरे नेतृत्वको उपभोक्ता समितिले पिच निर्माण गर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसंग गत जेठ २० गते सम्झौता गरेको थियो। प्रदेश सरकारको खेलकुद सम्बन्धी काम गर्ने संरचना नभएको भन्दै क्रिकेट मैदान निर्माणको बजेट भौतिक निर्माण सम्बनधी कुनै प्राविधिक दरबन्दी नभएको स्वास्थ्य कार्यालय मार्फत निकासा भएको थियो।

स्वास्थ्य कार्यालयले क्रिकेट मैदानका लागि आएको ८५ लाख रुपैयाँ बजेट मध्ये ४२ लाख रुपैयाँको पिच रोलकर, ग्रास कटर सहितका उपकरण टेण्डर मार्फत खरिद गरेर बाँकी ४३ लाखबाट पिच निर्माण गर्न जिम्मा दिएको हो। तर उपभोक्ता समितिले नयाँ पिच निर्माण गर्नुको साटो पहिले नै बनिसकेको पिच भत्काएर सोलिङको काम मात्रै गरेको छ। उपभोक्ता समितिले निर्माण भइसकेको पिच भत्काए पनि नयाँ पिच बनाएको छैन्। तर कार्यालयबाट रकम भुक्तानि भने लिइसकेको छ।

उपभोक्ता समितिले भने आफूले गरेको कामको मात्रै भुक्तानी लिएको र बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने बताउँदै आएको छ। समितिका अध्यक्ष घिमिरेले पिचका लागि आवश्यक माटो सुनसरीको बर्जु र उदयपुरमा खरिद गरिसकेको बताएका छन्। तर प्राविधिक जनशक्ति नभएको स्वास्थ्य कार्यालयले गरेको भुक्तानी प्रक्रियाबारे नै खेलकर्मीहरुले प्रश्न उठाएका छन्।

उपभोक्ता समितिले जिल्ला खेलकुद विकास समितिलाई पत्र पठाएर पिच निर्माण गर्ने अनुमति मागेको भएपनि समितिले कुनै निर्णय नगर्दै पुरानो पिच भत्काएको पाइएको छ। ‘पिच निर्माण गर्नकालागि उपभोक्ता समितिले अनुमति माग्दै पत्र पठाएको थियो,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कटवालले भने, ‘बैठक बसेर निर्णय गर्न नपाउँदै पिच भत्काएछन्।’

प्रदेशसभामा उठ्यो प्रश्न
रंगशाला निर्माणमा अनियमितता भएको विषयमा कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि त्यो विषय प्रदेश एक सभामा पनि उठेको छ। प्रदेशसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी सांसद नवोदिता चौधरीले रंगशाला निर्माणमा भएको अनियमितताका विषयमा छानविन गर्न माग गरिन्। ‘प्रदेशमा भ्रष्टाचारले सीमा निघिसक्यो,’ उनले भनिन्, ‘रंगशाला निर्माणमा भएको अनियमितताका विषयमा छानविन गरिनु पर्छ र दोषीलाई कारवाही गरिनुपर्छ।’

प्रदेशसभा बैठकमा रंगशालाको अनियमितताबारे प्रश्न गर्दै सांसद नवोदिता चौधरी।
अख्तियारको चासो
क्रिकेट मैदान निर्माण सहित प्रदेश सरकारले खेलकुद शीर्षकमा खर्च गरेको बजेट अनियमितता भएको विषय सञ्चारमाध्यममा उठ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस विषयमा चासो देखाएको छ। इटहरीस्थित अख्तियारको क्षेत्रीय कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले रंगशाला निर्माणमा अनियमितता भएको भनी सार्वजनिक भएका समाचारहरुलाई अध्ययनगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए। उनले भने,‘समाचारमा आएका विषयलाइ हामिले नोटिसमा लिएका छौं।’

प्रकाशित : श्रावण २४, २०७६ १७:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×