२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरिया पठाउने भन्दै ठगी

कान्तिपुर संवाददाता

बागलुङ — काठेखोला–४ का मनराज थापाले कोरिया जाने आसमा गाउँकै अमरबहादुर पुनलाई २ वर्षअघि ५ लाख ६० हजार रुपैयाँ बुझाए । उनले कोरियामा मासिक २ लाख रुपैयाँसम्म कमाइ हुने सुनेका थिए । रकम बुझेका अमरबहादुर र उनका भाइ खड्गबहादुरले ढुक्क भएर बस्न भन्दै विदेश उडाइदिने सपना देखाइरहे । 

भाषापरीक्षा पास गर्नु नपर्ने गरी कोरिया उड्न पाइने आसले मनराजसहितका युवाले पैसा बुझाएका थिए । थापालाई अवस्था हेरी १० लाख देखि १४ लाख रुपैयाँसम्म लाग्छ भनिएको थियो । उनले उक्त रकम पेस्की दिएका थिए ।


रकम बुझेपछि अमरबहादुर र खड्गबहादुर सम्पर्कमै रहन छाडे । उनीहरू अरू युवासँग पनि त्यस्तै रकम असुल गरिरहेका थिए । सुरुमा एक महिनाको आश्वासन दिएका उनीहरूले पछि ६ महिनाभित्र उडाइदिने आश्वासन दिएका थिए । दुवै दाजुभाइ तंग्राम गाउँका मात्र ३० जनालाई ठगेर भारत पसेको खुलेको छ ।


सबैबाट गरी एक करोड रुपैयाँभन्दा बढी ठगेको प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरूले गाउँका लालबहादुर, नवीन पुन, भीमापोखराका विष्णुबहादुर थापालगायतसँग पनि जनही ५ लाख ६० हजार रुपैयाँ असुलेको पाइएको छ । तंग्रामकै १२ युवाले ४ लाख रुपैयाँ बुझाएको बताए । ‘आफ्नै गाउँघरका दाजुभाइले पठाउने भनेपछि विश्वासमा परेर रकम तिरियो,’ अर्का पीडित विष्णु थापाले भने, ‘यति बेइमान हुन्छ भन्ने सोचेका थिएनौं ।’


विदेश पठाउनुको साटो उनीहरू भारतको दिल्ली पुगेर बस्न थालेपछि युवाले आफूहरू ठगिएको आशंका गरेका थिए । ‘सुरुमा तयारी गर्दै होलान् भनेर बस्यौं, तर ऋणको ब्याज तिर्नुपरेपछि समस्या भयो,’ लालबहादुरले भने, ‘श्रीमतीको गहना र लालपुर्जा बैंकमा राखेका धेरै युवा ठगिएका छन् ।’ उनका अनुसार म्याग्दीका लोकबहादुर छन्त्याल पनि ठगिएका छन् । ‘छन्त्याल पटकपटक श्रीमतीको गहना फिर्ता गर्न नसकेर तनाव खेपेको बताउने गर्थे,’ उनले भने, ‘अहिले भेटघाट भएको छैन ।’


ठगिएको महसुस भएपछि पीडितहरू एकत्रित भएका छन् । डेढ वर्षपछि गतसाता गाउँमा आएको थाहा पाएपछि युवाले अमरबहादुरलाई समातेर प्रहरीमा बुझाएका छन् । वडाध्यक्ष केशर थापाले सहजीकरण गरेर पीडितलाई रकम फिर्ता गराउन पहल गर्ने बताए । ‘प्रहरीले अमरबहादुरमार्फत खड्गबहादुरलाई झिकाउने तयारी थालेको छ । ठगिएकाहरूले उजुरी दिने क्रम बढेको प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए । उनले भने, ‘प्रमाण खोजेर ठगी मुद्दा चलाउने योजना छ ।’

प्रकाशित : श्रावण २४, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?