त्रिशूली बस दुर्घटना : मृतकको संख्या ५ पुग्याे, २४ अझै बेपत्ता [यात्रुकाे नामसहित]

हरिहरसिंह राठौर

धादिङ — सर्लाहीको सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मत्यु भएको छ भने १६ को उद्धार गरिएको छ । २४ जना अझै बेपत्ता छन् । बसलाई त्रिशूलीबाट निकालिएकाे छ । बसभित्र काेही पनि नभेटिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

तीन जनाकाे घटनास्थलमै र दुई वटा शव चितवनकाे जुगेडीमा फेला परेकाे प्रहरीले जनाएकाे छ।मृतक मध्ये सर्लाहीकै अजय दास र विजय कुर्मीको मात्रै सनाखत भएको छ। तीन जनाको सनाखत हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा समन्वय गरि पूरै यात्रुहरुको नामावली मगाएर पहिचान गरिएको जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले वताए। दुर्घटनामा १६ जनाकाे उद्धार गरिएकाे छ।

उद्धार गरिएकामा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजयराय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी रहेका छन्। मलंगवा–९ स्थित रहेको सृष्टि बस काउण्टरमा अहिले बसमा सवार यात्रीका आफन्तको भीड लागेको छ।उद्धार गरिएका मध्ये बसचालक जीवन भनिने लक्ष्मण जमरकट्टेल बेहोस छन् भने सहचालक प्रमोद चौधरीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।



ना ६ ख ७४६९ सृष्टि डिलक्स बस शुक्रबार बिहान साढे ३ बजे त्रिशूलीमा खसेकोहो। बसमा मलंगवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी चालक जमर्कट्टेल, सहचालक चाैधरी र कण्डक्टर ऋषि उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।



बसको टिकट काटेकाविष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष रायसहित दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमारसहित दुई जना, मलंगवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दाससहित तीन जना, ब्रम्हपुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारसहित चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतोसहित तीन जना, भारतको लरकवाका रामबाबु यादवसहित तीन जना, भारत कुवारीका अजय ठाकुरसहित दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा थिए।

बसलाई क्रेनले तानेर निकालिएकाे छ। बसभित्र काेही भेटिएकाे छैन। कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिमले बेपत्ताकाे खाेजी गरिरहेकाे छ।

प्रकाशित : श्रावण २४, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

'विवेक बन्धक राख्न सकिँदैन’

प्रदेशसभा बैठक
देवनारायण साह

मोरङ — आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संसदमा पेश गरेको प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथिको छलफल बिहीबार सकिएको छ । छलफलमा १५ जना सांसदले भाग लिएका थिए । 

प्रदेश १ को संसदमा बिहीबार सहभागी सांसदहरू । तस्बिर : देवनारायण/कान्तिपुर

विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको मन्त्री कार्कीले जवाफ दिए । ‘संघीय सरकारले प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन २०७५ गत चैत १५ गते राष्ट्रपतिबाट प्रमाणीकरण गराएपछि विधेयक तयार गर्दा ढिलाइ भएको हो,’ सांसदहरूले उठाएको प्रश्नको जवाफमा उनले भने, ‘प्रदेश सरकारबाट प्रदेश लोक सेवा आयोगसम्बन्धी विधेयक ल्याउन कुनै किसिमको ढिलाइ भएन ।’

संविधान र संघीय कानुनसँग बाझिने कुनै किसिमको ऐन, नियम प्रदेशले बनाए स्वतः निस्कृय हुने बाध्यकारी व्यवस्थाबारे सांसदहरूलाई जानकारी राख्न कार्कीले आग्रह गरे । सर्वोच्च अदालतको फैसलासमेत भइसकेको लोक सेवा आयोगले गरेको स्थानीय तहका लागि कर्मचारी भर्नासम्बन्धी विज्ञापन समावेशी नभएको भन्दै सांसदहरूले उठाएको प्रश्न असंवैधानिक भएको कार्कीले बताए ।

‘संवैधानिक व्यवस्थामाथि प्रहार गर्न मिल्दैन, त्यसप्रति हामी सचेत रहनुपर्छ,’ उनले भने, ‘विवेक बन्धक राखेर काम गर्न सकिँदैन । नेपालको संविधानले निर्दिष्ट गरेका विषय विपरीत प्रदेश लोक सेवाआयोग गठन, विधेयक, ऐन, नियम बन्न सक्दैन ।’

सांसदहरूले विधेयकमा व्यवस्था भएकोमा प्रदेश लोक सेवा आयोगका सदस्यको संख्या थप गर्नुपर्ने प्रश्नमा कार्कीले संघीय प्रदेश लोक सेवा आधार र मापदण्ड निर्धारण एनेमा एक महिलासहित ३ जना उल्लेख रहेकाले त्यसलाई नाघेर जान नसकिने बताए । ‘संघीय ऐनको आधारमा नै लोकसेवा आयोगका सदस्यको छनोट समिति पनि पनि गठनको व्यवस्था गरेका छौं,’ उनले भने, ‘सदस्यको उमेर पनि ऐनले निर्दिष्ट गरेअनुसारै व्यवस्था गरिएकोले यसमा कुनै फेरबदल गर्न नसकिने बाध्यात्मक अवस्था छ ।’

प्रदेश १ मा ३ हजार ८ सय ८२ स्वीकृत दरबन्दीमध्ये हाल २ हजार ४ सय ७० जना कर्मचारी समायोजन कार्यरत छन् । बाँकी अपुग कर्मचारी र प्रदेश सरकारले आफैंले खडा गरेका संरचनाका लागि आवश्यक कर्मचारी पदपूर्तिको दायित्व प्रदेश सरकारमा रहेको छ । कर्मचारी अभावमा प्रदेश सरकारको काम गति लिन सकेको छैन । प्रदेश लोक सेवा आयोग विधेयक पारित भएपछि कर्मचारी भर्नाका लागि बाटो खुल्ने छ ।

बजेट खर्च प्रणालीमा सुधारको दाबी
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चालु वर्षमा बजेट खर्च र कार्यक्रम तथा योजनाका कार्यान्वयनका लागि गुणात्मक सुधार ल्याएकोजानकारी गराए ।

‘गत आवमा असारमा बढी खर्च भएको प्रचार भइरहेकाले चालु वर्षमा समयमा बजेट खर्च गरी कार्यक्रम तथा योजना कार्यान्वयनका लागि बजेट खर्च प्रणालीमा व्यापक सुधार गरेका छौं,’ उनले भने, ‘पिएलएमबीआईएस सफटवेयरमार्फत प्रदेश र स्थानीय तहमा बजेट खर्च गर्ने व्यवस्था गरेका छौं ।’ असारे विकासको विषयमा बढी सवाल उठेको र असरमा विकास निर्माणको काम हुँदा बर्षाले बढी क्षति पनि हुने भएकोले यसमा सुधारको प्रयास गरेको उनको भनाई थियो ।

चितुवाबाट संरक्षण माग
सांसद मोहन कुमार खडकाले ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको वडा १ र २ मा चितुवा आतंकले सर्वसाधारण आतंकित भएकाले नियन्त्रणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

चितुवाले किसानको गोठमा खसी, बाख्रा खाइदिने र मान्छेमाथि समेत आक्रमण गरेर घाइते बनाएकाले तत्काल नियन्त्रणका लागि कदम चाल्न उनले ध्यानाकर्ष गराएका हुन् । उनले चितुवा आक्रमणले घाइतेको उपचार र किसानलाई क्षतिपुर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।

विधेयक पारित
प्रदेश १ भित्र सार्वजनिक महत्त्वको विषयमा जाँचबुझ तथा अनुसन्धानका लागि आयोग गठन गर्न बाटो खुलेको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संसदमा पेस गरेको ‘जाँचबुझ तथा अनुसन्धान आयोग ऐन २०७६’ बिहीबार एक मतले पारित भएको छ ।

संशोधन प्रस्ताव
प्रदेश स्वायत्त संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ मा ७ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । सांसदहरू मोहन कुमार खडका, पदमकुमारी गुरुङ, सावित्रा जोशी, सावित्रा रेग्मी, रामकुमार राई, अनिता बिक र बिनादेवीराईले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

प्रकाशित : श्रावण २४, २०७६ १०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्