कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सुदूरपश्चिममा अझै सिन्डिकेट 

समिति कम्पनीमा परिणत भए पनि आलोपालोमै यातायात सञ्चालन 
मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएका समितिहरू सरकारले दिएको जेठ १९ भित्र प्रालिमा दर्ता भए पनि यातायात सञ्चालनको तरिका भने पुरानै छ । अहिले पनि आलोपालोमै यातायात सञ्चालन हुँदा यात्रु मर्कामा परेका छन् । पुरानै समितिले सडक ‘कब्जा’ गरी आलोपालो गाडी चलाउँदा यातायात सेवा प्रतिस्पर्धात्मक हुन सकेको छैन ।

सुदूरपश्चिममा अझै सिन्डिकेट 

‘समितिहरू कम्पनीमा दर्ता भए पनि यातायात क्षेत्रको सिन्डिकेटलाई कायमै राखेका छन्,’ धनगढीस्थित दिनेश ट्राभल्सका पूर्व जीएम बीएल चौधरीले भने, ‘समितिहरूको पहिलेको स्वरूप भंग नभएसम्म यतायात सेवामा सुधार हुँदैन ।’ उनले यातायातका क्षेत्रमा गुणस्तरीय प्रतिस्पर्धा हुनुपर्ने बताए ।


चौधरीले अहिले पनि यातायात क्षेत्रमा नयाँ व्यवसायी प्रवेश गर्न दिने वातावरण नभएको आरोप लगाए । ‘समितिहरू प्रालिमा रूपान्तरण भएका मात्रै हुन्,’ उनले भने, ‘स्थिति पहिलाको जस्तै छ ।’ पुरानै समितिले सडक ‘कब्जा’ गरेका छन् । उनीहरूको ‘गुन्डाराज’ कायमै रहेको चौधरीको आरोप छ ।


एक यातायात व्यवसायीले आफ्ना २/४ वटा बसलाई आफ्नै ढंगले सञ्चालन गर्न समितिबाट अलग्गिएर प्रालिमा जान खोजेपनि समितिका पदाधिकारीहरूले सिंगो समितिको एउटै कम्पनीभित्र बस्न दबाब दिएको बताए । ‘८/१० जना व्यवसायी छुट्टै प्रालिमा जान खोज्दै थियौं,’ उनले भने, ‘समितिका पदाधिकारीहरूले त्यसरी बस सञ्चालन नगर्न दबाब दिए ।’


प्रदेशको सबैभन्दा ठूलो सुदूरपश्चिम बस व्यवसायी समिति ५५७ सेयर सदस्यका साथ कम्पनीमा दर्ता भएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सञ्चालित महाकाली–सेती, कर्णाली, पवनदूत, उग्रतारा, मालिकालगायत बस समितिहरू पनि सरकारले दिएको म्याद जेठ १९ भित्रै कम्पनी रजिस्ट्रारमा दर्ता भइसकेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका प्रदेश ७ संयोजक टेकराज जोशीले बताए ।


सुदूरपश्चिम बस समितिका अध्यक्ष पदम सापकोटाले समिति कम्पनीमा दर्ता भए पनि हालसम्म बस सञ्चालन प्रक्रिया पुरानै रहेको बताए । उनका अनुसार बसहरू आलोपालो प्रणालीमै सञ्चालित छन् । कम्पनी ऐन नियम र कार्यविधिबाट बस सेवा सञ्चालनको प्रक्रियामा अगाडि बढिरहेको दाबी सापकोटाले गरे । ‘पूर्वसमितिको हैसियतमा अहिले पनि सिन्डिकेट छ भन्नु पूर्वाग्रही हो,’ उनले भने ।


प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले समितिहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेको आफूलाई जानकारी भएको बताए । ‘अझै पनि प्रालिमा नगएकालाई प्रशासनबाट दबाब दिइनेछ,’ बोहोराले भने, ‘कुनै पनि प्रकारको सिन्डिकेट रहन दिइने छैन ।’


यात्रुहरूले भने समिति प्रालिमा गए पनि यातायातका क्षेत्रमा कुनै सुधार नभएको गुनासो गरे । ‘यतायात पहिलाकै अवस्थामा चलिरहेको छ,’ स्थानीय रमेश धामीले भने । उनका अनुसार समितिका टिकट काउन्टरबाटै टिकट काटिन्छ, गाडी समितिले लगाएको नियम र पालोमा चलिरहेका छन् । यतायातमा कुनै प्रतिस्पर्धा देखिँदैन ।


धामीले क्षमताभन्दा बढी यात्रु बोक्नु, यात्रुलाई बाटोमा अलपत्र छाड्नु, विभिन्न वहानामा चर्को भाडा असुल्नेलगायत प्रवृत्ति कायमै रहेको बताए । सरकारले समितिलाई कम्पनी दायरामा ल्याए पनि उनीहरूको यातायातका क्षेत्रमा रहेको एकाधिकार तोड्न नसकेको धामीले बताए । ‘बसपार्कबाट भेंडाजस्तै यात्रु नठेलेसम्म गाडी स्टार्ट नै हुँदैनन्,’ धामीको गुनासो छ, ‘बाटोमा पुराना गाडी ठाउँठाउँमा बिग्रिँदा यात्रु समयमा गन्तव्यमा पुग्नै सक्दैनन् ।’


थोत्रा बसले दुर्घटना

रुट कब्जा गरेर बसेका बस समितिहरूले वर्षौं पुराना थोत्रा गाडी नफेर्दा सडक दुर्घटनामा वृद्धि भइरहेको छ । यातायात सेवामा खुला प्रतिस्पर्धा नभएसम्म थोत्रा बसको राज सुदूरका सडकमा चलिरहने पूर्वव्यवसायी लालबहादुर ऐरले बताए ।


उनका अनुसार तराईका ग्रामीण क्षेत्र र पहाडी रुटमा चल्ने सवारी साधन १०/१५ वर्ष पुराना छन् । मुलुककै पश्चिम पुछारको जिल्ला दार्चुलादेखि धनगढी पुग्दा ती गाडी ठाउँठाउँमा बिग्रिन्छन् । यात्रु आफैंले धकेलधाकल गरी गन्तव्यमा पुर्‍याउनुपर्ने बाध्यता छ ।


बस समितिका थोत्रा गाडी मात्रै फेरिँदा ४० प्रतिशत दुर्घटनामा कमी आउने दाबी ट्राफिक प्रहरीको छ । प्रहरी निरीक्षक लालबहादुर धामीले भने, ‘४० प्रतिशत गाडीको अवस्था फेर्दा र ५० प्रतिशत पूर्ण ट्राफिक नियम पालनाले दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । सडकको अवस्था र मौसमलगायत अन्य कारणले १० प्रतिशत मात्र दुर्घटना हुन्छ ।’

प्रकाशित : श्रावण २३, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?